लुम्बिनी प्रदेश सरकारले मनायो राष्ट्रिय प्रजातन्त्र दिवस



लुम्बिनी प्रदेश सरकारले मनायो राष्ट्रिय प्रजातन्त्र दिवस

भालुवाङ ७ फागुन । लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा बिहीबार मूल समारोहको आयोजना गरी दिवस मनाइएको हो । निमित्त प्रमुख सचिव शम्भुप्रसाद मरासिनीको अध्यक्षता एवम् उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिता शर्मा चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सुदृढ प्रजातन्त्रले मात्रै नागरिकका अधिकार, समृद्धि र विकासका आकांक्षा पूरा गर्न सक्ने विश्वास व्यक्त गरिन्

“सबैको साझा प्रयत्नले नै प्रजातन्त्रलाई थप सुदृढ बनाउन सकिन्छ। यसैबाट सबैका अधिकार सुनिश्चित हुन्छन्। लोकतान्त्रिक मूल्य–मान्यताको जग नै प्रजातन्त्र स्थापना भएको दिन हो,” उहाँले भन्नभयो, “जनआकांक्षा अनुसार हाम्रा व्यवहार र कार्यशैली बदलिनुपर्ने उनको तर्क छ।”

निमित्त प्रमुख सचिव शम्भुप्रसाद मरासिनीले संविधानले नागरिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए । “प्रजातन्त्रका लागि योगदान गर्ने सम्पूर्ण व्यक्तित्वप्रति सम्मान व्यक्त गर्दछु। प्रजातान्त्रिक आन्दोलन नै नेपालको लोकतान्त्रीकरणको जग थियो,” उनले भने, “विभिन्न आरोह–अवरोह पार गर्दै मुलुक संघीय गणतान्त्रिक शासन प्रणालीसम्म आइपुगेको छ। सकारात्मक परिवर्तन र जनताको अधिकार स्थापनामा योगदान गर्ने सबै सम्मानका पात्र हुन्।”

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि प्राप्त उपलब्धिहरूले जनजीविका, स्वतन्त्रता र अधिकारका क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको बताए । “प्रजातन्त्रलाई अझ सुदृढ बनाउनुपर्छ। यसको योगदान कसैले पनि बिर्सन हुँदैन,” उनले भने । दिवसका अवसरमा विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कानुन अधिकृत लक्ष्मण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे