अर्थतन्त्र बलियो बनाउन बहुपक्षीय सहकार्य आवश्यक : देउखुरीमा प्रदेशस्तरीय छलफल
भालुवाङ १४ माघ । स्थानीय अर्थतन्त्रको दिगो विकासका लागि बहुपक्षीय एलाइन्स निर्माण अपरिहार्य रहेको निष्कर्ष सहित देउखुरीमा प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश योजना आयोगको आयोजनामा तथा लुम्बिनी प्राविधिक विश्वविद्यालय र सेवा प्रतिष्ठान नेपालको सहकार्यमा बुधबार भालुवाङस्थित होटल पौवामा आयोजित कार्यक्रममा “स्थानीय अर्थतन्त्रको विकासका लागि एलाइन्स निर्माणको आवश्यकता” विषयक अवधारणा पत्रमाथि केन्द्रित रहेर गहन छलफल गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, डा. नहकुल केसी तथा लुम्बिनी युवा परिषद्का पूर्व उपाध्यक्ष गोविन्द केसी लगायत वक्ताहरूले स्थानीय स्रोत, सीप र क्षमताको अधिकतम उपयोग नगरी दिगो आर्थिक विकास सम्भव नहुने धारणा राखे ।
वक्ताहरूले प्रदेश सरकार, स्थानीय तह, शैक्षिक संस्था, निजी क्षेत्र र नागरिक समाजबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै बहुपक्षीय एलाइन्स निर्माणमा जोड दिए । उनीहरूका अनुसार प्रस्तुत अवधारणा पत्रले कृषि, पर्यटन, उद्यमशीलता, सीप विकास तथा प्रविधि हस्तान्तरणमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने स्पष्ट खाका अघि सारेको छ । अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाहरूले अवधारणा पत्रलाई अझ व्यवहारिक, परिणाममुखी र कार्यान्वयनयोग्य बनाउन सुझाव दिएका थिए ।
कार्यक्रमले नीति निर्माणदेखि कार्यान्वयनसम्म साझा प्रयास र सहकार्य अपरिहार्य रहेको औँल्याउँदै स्थानीय अर्थतन्त्र सबल बनाउने दिशामा महत्वपूर्ण आधार तय गरेको निष्कर्ष निकालेको छ । छलफल कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका विज्ञ, सेवा प्रतिष्ठान नेपालका प्रतिनिधि, प्रदेश योजना आयोगका पदाधिकारी तथा विभिन्न निकायका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
