महिला चेम्बरले महिलाहरूलाई सीप र रोजगारी सँग जोड्न हस्तकला तालिम सिकाउँदै



महिला चेम्बरले महिलाहरूलाई सीप र रोजगारी सँग जोड्न हस्तकला तालिम सिकाउँदै

भालुवाङ २१ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको महिला चेम्बर अफ कमर्सले महिलाहरूलाई सीप र रोजगारी सँग जोड्न हस्तकला तालिम सुरू गरेको छ।

थोरै लगानीमा समेत गर्न सकिने गरि महिला चेम्बरले कपालमा बाध्ने कपडाको विभिन्न आकृतिका रबर बनाउने तालिम सिकाउन थालेको छ । तालिममा गरिव तथा विपन्न, एकल महिला तथा अपांगता भएका महिलाहरूलाई लक्षित गरिएको छ । तालिम लिन पाएपछि महिलाहरू समेत खुसी भएका छन् । पैसा अभावका कारण सीप सिक्न नसक्ने र चुलाचाैकामा समिति महिलाहरूलाई तालिमले हाैसला प्रदान गरेको छ । शान्ता बुटिक एण्ड हस्तकला सिसहनियाँ र शान्ता मेडिकल हल भालुवाङको प्राविधिक सहयोगमा तालिमको शुक्रबार उद्घाटन गरिएको छ ।

महिला चेम्बर अफ कमर्सकी अध्यक्ष मेनुका पाैडेलको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको प्रमुख आतिथ्यतामा तालिम सुरू भएको छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष चाैधरीले महिलाहरूले सीप नसिक्दा सम्म आत्मनिर्भर बन्न नसक्ने हुँदा सीप विकास आजको आवश्यकता रहेको बताइन् । अधिकांश महिला दिदीबहिनीहरू अहिले पनि चुलाचाैकामै सिमित रहनु परेको बताउँदै उपाध्यक्ष चाैधरीले हामी पनि केही गर्न सक्छौ भन्ने आत्मा विश्वास समेत हुनुपर्ने बताइन् । साथै उनले सरकारले गर्ने काम निजी क्षेत्रले गरेकोमा संस्थाले गरेको कामको प्रशंसा गर्दै धन्यवाद समेत दिए ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य शंकर गाैतम, राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्री, निर्वतमान अध्यक्ष नेमलाल शर्मा, सदस्य दुर्गा बहादुर बस्नेत, प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता, युवा चेम अफ कमर्सका अध्यक्ष मोतीराम भट्टराई लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा राप्ती गाउँपालिकाका विभिन्न वडाका २५ जना महिलाहरूको सहभागीता रहेको छ । तालिमको प्रशिक्षकमा मेनुका पाैडेल रहेकी छिन् । महिला चेम्बरकी उपाध्यक्ष निर्मला थारूको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महिला चेम्बर अफ कमर्सकी सदस्य जानका गोराथोकीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे