नेकपा प्रचण्ड–माधव समूहकाे स्थायी कमिटी बैठकले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी



नेकपा प्रचण्ड–माधव समूहकाे स्थायी कमिटी बैठकले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी

काठमाडौं १५ पुस । नेकपा प्रचण्ड–माधव समूहले बुधबार स्थायी कमिटी बैठक राखेर संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । बैठकका लागि नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा पुगेका थिए भने अपराह्न ३ बजे पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर न बैठक बस्यो, न पत्रकार सम्मेलन भयो ।

संसद विघटनको विरोधमा रहेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरुसँग छलफल गर्नुपर्ने भएकाले तत्काल कार्यक्रम सार्वजनिक नगरिएको नेताहरुले बताएका छन् । स्थायी कमिटी सदस्य एवं संघर्ष समितिका सहसंयोजक योगेश भट्टराई भन्छन्, ‘भोलि र पर्सि अरु दलहरुसँग पनि छलफल गर्छौं, त्यसपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’

संसद विघटनलाई असंवैधानिक भनेको कांग्रेसमा आन्दोलनबारे अलमल देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले अझै पनि पर्ख र हेरको अवस्थामा देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आन्दोलनमा जोड दिएको छ । आन्दोलन गर्नुपर्छ भन्नेहरुमा पनि कांग्रेस एकल रुपमा जाने कि प्रचण्ड–माधव समूह लगायतसँग मिलेर जाने भन्नेमा बहस छ ।

जनता समाजवादी पार्टी (जसपा)ले पनि एकल रुपमा आन्दोलनको घोषणा गरेको छ । जसपा नेताहरुका अनुसार नेकपा दुई खेमामा विभाजित भएपनि औपचारिक रुपमा पार्टी नफुटेकाले आन्दोलनमा सहकार्य गर्न गाह्रो भएको बताउँछन् । एक नेता भन्छन्, ‘नेकपासँग मिलेर नेकपाविरुद्ध कसरी आन्दोलन गर्ने ?’

यद्यपि प्रचण्ड माधव समूहका नेताहरुले अझैसम्म सहकार्य हुनसक्छ कि भन्ने आश गरेको देखिन्छ । नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको केन्द्रीय संघर्ष समितिले मंगलबार देशभर भएको प्रदर्शनको समीक्षा गरेको छ । प्रदर्शन उत्साहजनक भएको नेताहरुको निष्कर्ष छ । तर प्रदर्शनका क्रममा एकाध ठाउँमा संघर्ष समितिले तोकेको भन्दा फरक नारा लगाउनु कमजोरी भएको नेताहरुले स्वीकार गरेका छन् । समितिले मंगलबार नै दोस्रो चरणको कार्यक्रमबारे जनवर्गीय संगठनहरुसँग राय लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे