शुभदर्पण एकेडेमीका विद्यार्थीले गरे हाटबजार अवलोकन : शिक्षासँगै व्यवहारिक ज्ञानको अभ्यास
भालुवाङ १४ असार । दाङको राप्ती गाउँपालिका–७ मा अवस्थित शुभदर्पण एकेडेमीका कक्षा ८, ९ र १० का ५० जना विद्यार्थीहरूले हाटबजार अवलोकन तथा अध्ययन भ्रमण गरेका छन्।
शुक्रबार राप्ती गाउँपालिका–३ स्थित सिरिचौर मसुरियामा सञ्चालनमा रहेको साप्ताहिक हाटबजारको अवलोकन भ्रमण विद्यार्थीहरूका लागि सामाजिक, वातावरणीय, नेपाली नियात्रा निबन्ध, वस्तु विनिमय, आर्थिक कारोबार तथा आय–आर्जनसम्बन्धी विषयमा व्यवहारिक ज्ञान हासिल गर्न गरिएको हो। विद्यालयका शिक्षक भास्करदेव चौधरीका अनुसार विद्यार्थीहरूले बजारको संरचना, किनमेल प्रणाली, स्थानीय उत्पादनको व्यापारिक महत्त्व तथा समुदायको आर्थिक गतिविधिको अध्ययन गरेका थिए।
अवलोकन भ्रमणमा शिक्षकहरू भास्करदेव चौधरी, धिरज चौधरी, चन्द्रप्रसाद चौधरी र शरदराज शर्मा सहभागी रहेका थिए। विद्यार्थीहरूका लागि यस्ता व्यवहारिक अध्ययनहरूले पाठ्यक्रममा समेटिएका विषयवस्तुको ज्ञान मात्र नभई, स्थानीय संस्कृति, अर्थतन्त्र र जीवनशैली बुझ्न महत्वपूर्ण योगदान पुग्ने विद्यालयले जनाएको छ।

