मुक्तकमैया कम्लहरीको पुनः स्थापनाका लागि स्पष्ट कार्यविधि बनाउनुपर्छ : कृष्णी थारु



मुक्तकमैया कम्लहरीको पुनः स्थापनाका लागि स्पष्ट कार्यविधि बनाउनुपर्छ : कृष्णी थारु

भालुवाङ १३ वैशाख । लुम्बिनी प्रदेश सभाका पूर्व उपसभामुख कृष्णी थारुले मुक्त कमैया र कम्लहरीहरूको दीर्घकालीन पुनः स्थापनाका लागि सरकारले स्पष्ट कार्यविधि बनाउनुपर्ने आवश्यकता औंल्याएकी छिन् ।

लुम्बिनी प्रदेश कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले शुक्रवार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको मुक्त कमैया, कम्लहरी कार्यविधी तयारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुक्त भनिएका कमैया र कम्लहरीहरू अझै पनि सामाजिक, आर्थिक र शैक्षिक रूपमा पछाडि परिरहेको उल्लेख गरिन् । मुक्तिको घोषणाले मात्रै न्याय हुँदैन, उनीहरूको पुनः स्थापना, आवास, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित नगरे सम्म सामाजिक न्याय स्थापित हुँदैन्, उनले भनिन् । पूर्व उपसभामुख थारुले सरकारले अहिले सम्म पूर्ण पुनः स्थापनाको कार्ययोजना नल्याएकोप्रति चिन्ता व्यक्त गर्दै तत्काल प्रभावकारी कार्यविधि निर्माण गरी प्रदेश तथा स्थानीय तहबाटै यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्, त्यसका लागि तत्काल मर्यौदा समिति गठन गर्नुपर्नेमा समेत जोड दिइन् । थारु समुदायको ऐतिहासिक शोषणको अन्त्य अब कागजमा मात्रै सीमित हुनु हुँदैन, व्यावहारिक परिवर्तन देखिनु पर्छ, उनले भनिन् ।

कार्यक्रममा कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव याम नारायण देवकोटाले लुम्बिनी प्रदेशमा मुक्त कमैया, कम्लहरी सम्वन्धी समस्याको बारेमा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु, मुक्त कमैया तथा कम्लहरीहरुबाट वर्तमान अवस्थाका जानकारी लिई समस्या समाधानका उपायहरुका बारेमा प्राप्त सुझावलाई अभिलेखिकरण गर्ने बताए । त्यस्तै उनले प्रदेशमा मुक्तकमैया तथा कम्लहरी पहिचान तथा पुनः स्थापना सम्बन्धी बाँकी काम अगाडी बढाउन आवश्यक कानून तथा कार्यविधि निर्माणको लागि कार्यदल गठन गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । साथै उनले सहभागीहरुबाट आएका सुझाव तथा गुनासोलाई कार्यविधीमा समेटेर लग्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य मुक्त कमैया, कम्लहरीहरुले मुक्त कमैया–कम्लहरीको अधिकार सुनिश्चित गर्न पहिचान पत्र, भूमि वितरण, सीप विकास तालिम, निशुल्क शिक्षा, स्वास्थ्य उपचार र रोजगारीका अवसरहरु उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा मन्त्रालयका सचिव याम नारायण देवकोटाको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका पूर्व उपसभामुख कृष्णी थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, मन्त्रालयका महाशाखा प्रमुख अनिल मरासिनी, मुक्तकमैया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरी, दाङ जिल्ला अध्यक्ष हरिचन्द्र चौधरी, मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रिय अध्यक्ष हिरामोती चौधरी, पत्रकार सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा मुक्त कमैया, कम्लहरी, जनप्रतिनिधि, सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधी, कर्मचारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मन्त्रालयका नापी अधिकृत विष्णु डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे