गढवा खानेपानीको १५ औं साधारणसभा सम्पन्न
गढवा २९ मंसिर । गढवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १५ औं बार्षिक साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्णराज पाण्डेयको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पाेख्रेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले खानेपानी मानव स्वास्थ्यका लागि अत्यावश्यक चिज भएको बताउँदै पालिकाका सबै नागरिकहरुलाई खानेपानीको सहज आपुर्तिका लागि स्थानीय सरकारको समन्वयात्मक पहल रहने बताए । गढवा खानेपानीले छोटो समयमा उपभोक्ताहरुलाई सहज ढंगले २४ सै घण्टा खानेपानीको आपुर्ति गर्न सफल भएकोमा उनले प्रशंसा ब्यक्त गरे । कार्यक्रममा बोल्दै खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले जिल्लाका सबैजसो पालिकाहरुमा खानेपानी डिभिजन कार्यालयले नागरिकहरुलाई खानेपानीको सहज पहुँचमा ल्याउने गरि काम गरिरहेको भन्दै गढवा खानेपानीलाई हरेक कोणबाट सहयोग गर्दै आएको र यसलाई पाईपलाईन बिस्तार गर्दै थप बृहत्त बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष तथा सल्लाहकार वालचन्द्र ठकूरी हमाल, गढवा खानेपानीका संस्थापक अध्यक्ष मोहन कुमार पाण्डेय, गढवा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मधा न्यौपाने, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष ओभा पाठक, गंगापरस्पुर खानेपानीका देवराज कुँवर, खानेपानी महासंघ गढवाका सचिव चित्रबहादुर रावत, गढवा बहुमुखि क्याम्पसका प्रमुख बिकास रजौरे, सल्लाहकार हरि पोख्रेल, सर्बोदय सामुदायिक वनका उपाध्यक्ष रमेश न्यौपाने र गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष दामोदर ढुंगानाले आय–ब्यय प्रतिवेदन र सचिव खुमानन्द पाेख्रेलले संस्थागत प्रतिवेदन र बार्षिक कार्यक्रमको प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष लिलाधर आचार्यकबो स्वागत मन्तब्यबाट सुरु भएको साधारणससभाको सञ्चालन सचिव खुमानन्द पोख्रेलले गर्नुभएको थियो । गढवा खानेपानी संस्थामा हाल सम्म ६ सय ६० जना उपभोक्ताहरुले खानेपानीको सुविधा लिएको र ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टैंकी निर्माण गरि २४ सै घण्टा खानेपानीको सुविधा प्रदान गर्न थालेको कार्यक्रममा जानकारी गराईएको हो । आगामी बर्ष सम्म पुरानो गाउँपालिका भवन देखि प्रनाहा पुल सम्म, कोटियामाई मन्दिर देखि गढवा स्वास्थ्यचौकी जाने सडकमा र मदपुर गाउँसम्म तथा गढवा क्याम्पस देखि झाली गाउँसम्म खानेपानी पाईप लाईन विस्तार गरि धारा जडान गर्ने लक्ष्य लिएको र धारा जडान गर्न नसक्ने उपभोक्ताहरुको हकमा किस्तावन्दी तरिकाले धारा जडानको सुविधा दिने अध्यक्ष पाण्डेयले जानकारी दिएका छन्।