जनता मावि गढवाको वार्षिकोत्सव, शैक्षिक गुणस्तरमा सुधार ल्याउन आवश्यक छ : चाैधरी
गढवा ५ मंसिर । जनता माध्यमिक विद्यालय गढवाको ६४औं वार्षिकोत्सव समारोह बुधवार गढवामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य तथा पुर्व शहरी विकाश मन्त्री मेटमणी चौधरीले विद्यालयकाे प्रगतिमा अभिभावक, शिक्षक-विद्यार्थी तथा स्थानीयपालिका सबै पक्षकाे उत्तिकै भूमिका रहने बताउँदै संघ सरकारको तर्फबाट विद्यालयकाे शैक्षिक सुधारमा आफ्नो पूर्ण सहयाेग रहने प्रतिवद्धता जाहेर गरेका छन् । २०१७ सालमा स्थापना भएको विद्यालयले ६४ औ वार्षिक उत्सव मनाइरहँदा धेरै मेहनत गरेको बताए । आफु पनि जनता माध्यमिक विद्यालय बाटै पठनपाठन गरेकोले आफुले सक्दो सहयोग गरेर विध्यालयको भौतिक र शैक्षिक क्षेत्रमा सहयोग गरेको र आउने दिनमा निरन्तर सहयोग गर्ने बताए । गुणस्तरीय शिक्षा दिन सके मात्र समाज बद्लिने बताउदै व्यवहारिक र गुणस्तरीय शिक्षामा बढी जोड दिन पर्ने संसद चौधरीले बताए ।
त्यसै गरी विद्यालयको वार्षिक उत्सव कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले विद्यालयको बिकाशका लागि स्थानीय गढवा गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र संघ सरकारबाट गर्न सक्ने सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग जारी राख्ने बताए। गढवा गाउँपालिकाले जुन हिसावले शिक्षा क्षेत्रमा लागिपरेको छ त्यसको प्रशंसा गर्नै पर्ने बताए। शिक्षामा गुणस्तर सुधारका लागि गढवा गाउँपालिकाले गरेको काम र प्रयास उदाहरणीय रहेको प्रदेश सभा सदस्य थारुले बताए । बि. सं. २०५७-५८ साल तिर सरकारले सामुदायिक विद्यालयहरुलाई समुदायको जिम्मा लगाउने निर्णय गरेको बताउदै त्यसपश्चात शिक्षा क्षेत्रमा ठुलो परिवर्तन भएको बताए। निशुल्क शिक्षाका लागि मजबुत अर्थतन्त्र आवश्यक रहेको तर भ्रष्टाचार बन्द हुनु पर्ने बताए। नेता भ्रष्टाचार गरेका कारण शिक्षा क्षेत्रमा सोचजस्तो लगानी हुन नसकेको बताए। र आफुहरु भ्रष्टाचार नियन्त्रण गर्न अभियान चलाएको तर केहीले अभियान असफल पार्ने तर्फ लागेको मन्त्री थारुले बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका प्रतिनिधि एवम् ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारको तर्फबाट कुनै कसर बाँकी राख्ने गरी कार्यहरु भैरहेको बताए। उनले विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएकोप्रति खुसी व्यक्त गरे । शिक्षा समाजको ऐना हो, जीवन जीउने आधार हो र विकासको मेरुदण्ड भएकोले गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधार सहित आमूल परिवर्तनका लागि अथक प्रयास गरिरहेको बताए । वार्षिकोत्सवमा विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्रध्यानाध्यापक राम सुरत यादवले विद्यालयको भौतिक एवम् आर्थिक प्रगति संगै शैक्षिक गुणस्तरमा सुधार आए सँगै विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको बताए । विक्रम सम्बत् २०१७ सालमा नेपाल राष्ट्रिय पाठशाला मानपुरको नाममा स्थापना भएको हो। नेपाल नयाँ शिक्षाको सुरुवात संगै विक्रम संवत् २०२९ सालमा निम्न माध्यमिक विद्यालय तहको स्वीकृती, विक्रम सम्बत् २०३९ माध्यमिक विद्यालय तहको अनुमति प्राप्त गरी माध्यमिक तहको स्थायी स्वीकृती बिक्रम सम्बत् २०५२ सालमा प्राप्त भएको जानकारी दिए।
साथै २०६३ सालको प्राप्त सम्बन्धनको अनुमतिले बिक्रम सम्बत् २०६३-२०६४ सालदेखि उच्च माध्यमिक विद्यालय तहको समेत पठनपाठन सुरु भएको जानकारी दिए । वार्षिक उत्सवको अवसरमा समाजसेवी शिक्षा प्रेमी कपिलदेव खनाल र दिपा खनालले आफ्ना स्वर्गीय माता पिता मोतीदेवी खानाल र टिका राम खनालको स्मृतिमा पचास हजार पाँच सय रुपैयाँको अक्षयकोश स्थापना गरी चेक हस्तान्तरण गरेका थिए। विध्यालयमा हाल सम्म ६ पुरानो र एक नयाँ गरी ७ वटा स्मृति कोष स्थापना भएको छ। हरी बहादुर स्मृति कोष, शोभादेवी स्मृति कोष, ऋषि राम पण्डित स्मृति कोष, फर्सुराम सुमकला स्मृति कोष, प्रेम बिसी स्मृति कोष, यागेश्वर पाण्डे स्मृति कोष स्थापना भएका छन्। ६४औ वार्षिक उत्सव समारोहमा विद्यालयको विभिन्न कक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। बार्षिक उत्सवको अवसरमा जनता माध्यमिक विद्यालय गढवाका विद्यालय संस्थापक स्वर्गीय विशेश्वर चौधरीको शालिक अनावरण गरिएको छ।
स्व. विशेश्वर चौधरीले बिक्रम सम्वत २०१७ सालमा विद्यालयको स्थापना गरी शिक्षा जगतमा अतुलनीय योगदान पुर्याएको भन्दै विद्यालयले विद्यालयको कम्पाउन्ड भित्रै स्व. चौधरीको शालिक राखेको छ। स्व. चौधरी वि. सं. १९६५ मा जन्मभई वि. सं. २०४६ सालमा स्वर्गारोहण भएका थिए। वार्षिकउत्सव समारोहमा गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, शिक्षा प्रेमी तथा समाजसेवी जगतराम यादव, तेजप्रसाद न्यौपाने, बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाका प्रधानध्यापक थानेश्वर न्योपाने, शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल प्रिन्सिपल बिकाश रजौरे, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, शिक्षा प्रेमी बुद्धिजिवी भगवती चौधरी, कपिलदेव खनाल लगायतकाले बाेलेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार कुमालको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा पुर्व शहरी विकाश मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु र गढवा गाउँपालिकाका प्रतिनिधि तथा ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । जनता माध्यमिक विध्यालयमा प्रधानाध्यापक रामसुरत यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक उपेन्द्र चालिसेले गरेका थिए ।