राप्तीका ६ वटा वडामा निशुल्क आँखा शिविर सुरु : पहिलो दिन भालुवाङमा सम्पन्न
भालुवाङ २३ कार्तिक । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रले राप्ती गाउँपालिकाको ६ वटा वडामा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
अन्धोपन निवारणका लागि केन्द्रले आँखा शिविर सञ्चालन गरेको छ । शिविरको शुक्रवार पहिलो दिन वडा नम्बर १ को भालुवाङमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रले भालुवाङमा १ दिने निशुल्क आँखा शिविर सञ्चालन गरेको हो । शिविरमा ५० जनाले आँखा जाँच गराएकोमा २ जनामा मोतिया बिन्दुको समस्या देखिएको र आँखा शल्यक्रियाका लागि तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँमा रिफर गरिएको नेत्र सहायक प्रतिमा चौधरीले जानकारी दिएकी छिन् ।
सो शिविरमा आँखा स्वास्थ्य कार्यकर्ता राजेन्द्रसिंह धामी, नेत्र सहायक प्रतिमा चौधरी लगायतका स्वास्थ्यकर्मीहरु खटिएको केन्द्रका प्रमुख विमल बुढाक्षेत्रीले जानकारी दिएका छन् । यसै बीच कार्तिक २४ गते वडा नम्बर २ काे लालमटिया आधारभुत स्वास्थ्य सेवा केन्द्र, सोही दिन वडा नम्बर ४ काे जनज्योती आधारभुत विद्यालय नयाँगाउँ, कार्तिक २५ गते वडा नम्बर ३ काे मसुरीया सामुदायिक स्वास्थ्य इकाई केन्द्र, कार्तिक २६ गते वडा नम्बर ६ काे पत्थरगढवा सामुदायिक स्वास्थ्य इकाई केन्द्र तथा मंसिर ३, र ४ गते वडा नम्बर ५ काे सिसहनियाँ स्वास्थ्य चौकीमा विहान १० बजे देखि दिउँसो २ बजे सम्म शिविर सञ्चालन हुने केन्द्रका प्रमुख विमल बुढाक्षेत्रीले जानकारी दिएका छन् ।