बाढी,पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय १७ पुग्यो : तीन दिन राष्ट्रिय शोक घोषणा



बाढी,पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय १७ पुग्यो : तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाण्डौ १५ असाेज । अविरल वर्षाका कारण आएको बाढी/पहिरो र डुबानका कारण ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म दुई सय १७ जना पुगेको छ । पछिल्लो विवरण अनुसार अझै २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्माका कारण एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृहका प्रवक्ता तिवारीले जानकारी दिए । यस्तै सरकारले बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आज देखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा हिजो बेलुका बसेको बैठकले आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको हो । प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको सम्बन्धित निकायले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे