स्वास्थ्य मन्त्रालयको प्रदेश स्तरीय ३ दिने समिक्षा कार्यक्रम सुरु



स्वास्थ्य मन्त्रालयको प्रदेश स्तरीय ३ दिने समिक्षा कार्यक्रम सुरु

दाङ १४ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न जनस्वास्थ्यमा देखिएका समस्या समाधानकालागि योजना निर्माण गरेर कार्यान्वयनमा जुट्न निर्देशन दिएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०८०\०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय समिक्षा कार्यक्रमलाई सोमवार लमहीमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण, रक्त अल्पता जस्ता समस्या न्यूनिकरण गर्न ठोस कार्यक्रम बनाएर कार्यान्वयनमा जुट्न निर्देश दिएका हुन् ।

‘बिशेष योजना बनाएर समस्या न्यूनिकरणमा लाग्नुस । कार्यक्रम बनाउनुस, बढी भन्दा बढी जनचेतना अभिवृद्धिमा केन्द्रित गर्नुस’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अर्काे बर्ष मातृ मृत्युदर घटेको हुनुपर्छ, कुपोषणको दर पनि घटेको हुनुपर्छ । बाल मृत्यु दर पनि घटेको हुनुपर्छ । पुरानै तथ्यांकको समिक्षा गर्ने होइन, उपलब्धि कसरी हाँसिल गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्ने छ ।’ बिरामी तथा तिनका परिवारबाट गुनासो नआउनेगरी सन्तुष्ट हुनेगरी उपचार सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यले निर्देशन दिए ।

सरकारी स्वास्थ्य संस्था तथा अस्पतालको सेवामा सर्वसाधारण नागरिकको सहज पहुँच बढाउन कार्यक्रम बनाउन जोड दिए ।‘पैसा नहुदा बाचिन्छ, सरकारले बचाउछ भन्ने नागरिकमा विश्वास दिलाउनुपर्ने छ’उनले भने,‘यसका लागी विमा कार्यक्रम ल्याइएको हो । स्वास्थ्य विमालाई प्रभावकारी बनाउन जरुरी छ । विमाबाट उपचार गर्दा दोस्रो दर्ताको नागरिक सरहको व्यवहार गरिएको गुनासोहरु आएका छन् ।

यसलाई सुधार्न जरुरी छ ।’ स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यले निर्देशन दिए । अस्पतालमा थन्किएका स्वास्थ्य उपचारकरण बनाउनुपर्ने, सरकारी अस्पतालमा काम गर्ने तर, नीजि स्वास्थ्य संस्थामा मोह राख्ने जस्ता प्रवृत्ति त्याग्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो ।

स्वास्थ्य तर्फ देखिएको जनशक्तिको अभाव अन्त्यका लागी प्रदेश सरकारले ओएनएम सर्भे गरेको र त्यो रिपोर्टको आधारमा व्यवस्थापनको काम अघि बढ्ने बताए । स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रलाई सुधार गर्न मन्त्रालयले योजनाबद्ध काम गरिरहेको र त्यसबाट उपलब्धि देखिने अवस्थामा पु¥याईएको बताए । स्वास्थ्य सेवालाई सेवाग्राही मैत्रि बनाउनेगरी काम भइरहेको जानकारी दिए ।

‘स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउछौं । यसका लागि सरकारी स्वास्थ्य संस्था तथा अस्पतालको सेवालाई बिशेषज्ञ सेवाको रुपमा अघि बढाएका छौं’उनले भने,‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरुलाई सम्वोधन गर्नेगरी योजना बनाएर अघि बढेका छौं ।’ स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले स्वास्थ्य सेवा सुधार गर्न कार्यक्रम कार्यान्वयन गर्ने पद्धतीमा सुधार गर्न सकिन्छ भने त्यस बारेमा पनि समिक्षा गर्नुपर्ने बताए । स्वस्थ जीवनशैली अपनाउदै निरोगी प्रदेश बनाउनका लागी कार्यक्रम केन्द्रित गरिएको जानकारी दिए ।

समिक्षा कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु समेत सहभागिता छ । गाउँपालिका महासंघका अध्यक्ष बिष्णुकुमार गिरीले पालिका तहका आधारभुत अस्पतालहरु जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन नसकेको भन्दै प्रदेश सरकारले अस्पताल सञ्चालनका लागी पहल लिनुपर्ने बताए। स्वास्थ्य निर्देशक डा.विनोद कुमार गिरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण कौशल भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे