रोजगारीको ग्यारेन्टी भए मात्र विदेश पलायन हुने युवाहरूलाई रोक्न सकिन्छ : मन्त्री न्याैपाने
भालुवाङ ४ असोज । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेले रोजगारीको ग्यारेन्टी सरकारले गर्ने हो भने विदेश जाने युवाहरूलाई रोक्न सकिने बताएका छन् ।
शुक्रबार दाङको राप्ती गाउँपालिकामा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा तथा अधिवेशनलाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका मन्त्री न्याैपानेले पछिल्लो समय युवा पिढीहरू पढेर विदेश जाने लहर अत्यधिक मात्रमा बढिरहेकोले अब पनि नेपालमा यस्तै अवस्था रहिरहेमा गाउँघरमा युवा शून्य र बुढापाखाहरू मात्रै भेटाउने वातावरणको सिर्जना हुन सक्ने भएकोले सरकारले त्यस विषयमा ध्यान दिनुपर्ने बताएका छन् । स्थानीय, प्रदेश तथा संघ सरकारले अब स्थानीय स्तरमा साना साना उद्योग स्थापना गरेर उनीहरूलाई तालिम दिई रोजगारीको सिर्जना गर्नुपर्ने बताएका छन् ।
त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले उद्यम क्षेत्रको विकास प्रदेश सरकारले गर्नुपर्ने र त्यसका लागि प्रयाप्त बजेट पालिकामा पढाउन आवश्यक रहेको बताएकी छिन् । त्यस्तै राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष शान्ता विश्वकर्माले उद्यम सहजकर्ताको थुप्रै समस्या रहेको गुनासो गरेकी छिन् । उनले सरकारले उद्यम विकासका लागि सरकारले प्रयाप्त बजेटको व्यवस्था नगर्दा उद्यम क्षेत्रको विकास हुन नसकेको बताएकी छिन् । महासंघ लुम्बिनीका कार्यवाहक अध्यक्ष जानकी हिताङको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सदस्य राजेश बढाई र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नर्मदा हरिजनले प्रस्तुत गरेका थिए । सदस्य सुष्मा बस्यालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालक महासंघका निवर्तमान केन्द्रीय सदस्य विरेन्द्र सुवेदीले गरेका थिए ।



