सीता चौधरी : १३ वर्षको उमेरमा भूमिगत राजनीति देखि प्रदेश मन्त्री सम्म



सीता चौधरी : १३ वर्षको उमेरमा भूमिगत राजनीति देखि प्रदेश मन्त्री सम्म

दाङ ११ साउन । बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ खाएका छन् । एमालेकाेतर्फबाट भूमेश्वर ढकाल, दिनेश पन्थी, खेम सारु र सीता शर्मा चौधरीले मन्त्रीकाे सपथ खाएका छन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बाँहेक एमालेकाेतर्फबाट चार जना मन्त्री बनेका छन् । चारजना मध्ये दुई जना पूर्व माओवादी पृष्ठभूमिका नेता हुन् । गुल्मी जिल्लाका दिनेश पन्थी र दाङकी सीता चाैधरी पूर्व माओवादी पृष्ठभूमिका हुन् । उनीहरूले नेकपा विभाजनपछि माओवादी परित्याग गरेर एमालेतर्फ लागेका थिए ।मन्त्रीहरूले सपथ खाए पनि कुन मन्त्रीको के जिम्मेवारी हुने भनेर अझै निधो भइसकेको छैन । एकदुई दिनभित्र मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्ने सत्तारुढ दलहरूले बताउँदै आएका छन् ।

दाङ घोराही निवासी सीता चौधरी दाङको राजनीतिमा शालीन छवि बनाएकी नेताकोरुपमा स्थापित छिन् । उनलाई २०७४ सालको स्थानीय तहको निर्वाचनमा धेरैले चिनिसकेका थिए । उनी त्यतिबेला नेकपा (माओवादी) केन्द्रकोतर्फबाट उपमेयरको उम्मेदवार बनेकी थिइन् । सो निर्वाचनमा माओवादीतर्फबाट मेयर र उपमेयरका दुबै उम्मेदवार विजयी हुन सकेका थिएनन् । उपमेयर बनेर जनताको सेवा गर्ने सीताको अभिलाषा भने अहिले पूरा भएको छ । उनी प्रदेश सभा सांसद हुँदै मन्त्री बन्न सफल भएकी छन् ।

सीताको राजनीतिक यात्रा

२०४५ साल वैशाख १३ गते घोराही उपमहानगरपालिका वडा नं ३ बेलुवामा जन्मेकी सीता सानै उमेरदेखि विद्रोही स्वभावकी थिइन् । बुवा चन्द्रलाल चाैधरी र आमा फूलमानी चाैधरीको तेस्रो सन्तानको रुपमा सीताको जन्म भएको थियो । किसान वर्ग भए पनि उनको परिवार राजनीतिमा निकै सचेत थियो । २०१६ सालमा भएको बेल्वा बञ्जाडी किसान आन्दोलनमा सीताकी बूढी हजुरआमा लाहनी चौधरीले नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । सो आन्दोलनमा किसान नेता गुम्रा थारू सहिद भएका थिए ।

परिवार नै राजनीतिकरूपमा सचेत भएर होला सीतालाई सानै देखि विद्रोह भाव प्रकट भइरहन्थ्यो । उनी विद्यालय जाँदा होस् या गाउँमा अन्याय र अत्याचारको तुरुन्त प्रतिवाद गर्दथिइन् । सीताका दाइहरू राजनीतिमा होमिसकेका थिए । नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनयुद्धमा उनका दाजुहरु सहभागि भइसकेका थिए । पारिवारिक वातावरणले र सीताको विद्रोही स्वभावले गर्दा उनलाई राजनीतिमा होमिन प्रेरित गर्यो । सीता २०५८ सालमा भूमिगत भएर राजनीति गर्न थालिन । त्यतिबेला पार्टीले उनलाई घोराहीको मुख्य बजारमा काम गर्ने जिम्मेवारी दिएको थियो । ‘द्धन्द्धको समयमा घोराहीको मुख्य बजारमा जिम्मेवारी लिएर काम गर्नु निकै कठिन थियो,’ सीता भन्छिन्, ‘जतिबेला पनि ज्यान जाने खतरा हुन्थ्यो ।’ पार्टीमा रहेर काम गर्दा उनी जनतालाई सचेत बनाउन कलाकारको जिम्मेवारीमा गइन् । शुरुमा एरिया कलाकार, रक्तविज सांस्कृतिक परिवार दाङ, प्रतिरोध सांस्कृतिक परिवार क्षेत्रीय समिति, थारुवान सांस्कृतिक परिवारमा काम गर्दै उनी माओवादीको राष्ट्रिय कलाकार समूह सामना सांस्कृतिक परिवारमा जोडिइन् । उनी जनता जगाउँदै देशका अधिकाशं जिल्लामा पुगिन् । ‘तत्कालीन ७५ ओटा जिल्ला मध्ये हुम्ला, जुम्ला लगाएका केही जिल्लाबाँहेक सबै जिल्लामा सांस्कृतिक अभियान लिएर पुगेको छु,’ सीता भन्छिन्, ‘मलाई नेपालका सबैजसो जिल्लाको वातावरणमा अन्तरघुलित हुने अवसर मिलेको थियो ।’

राजनीतिमा लाग्दालाग्दै उनले २०६३ सालमा दाङका युवा नेता प्रमोद शर्मासँग जनवादी विहे गरिन् । ‘आन्दोलनकै क्रममा विवाह भयो,’ सीता भन्छिन्, ‘राजनीतक व्यक्ति भएकाले मैले राजनीतिक व्यक्तित्वसँग नै विहे गर्ने निधो गरे ।’ सीता राजनीतिमा निरन्तर लागिरहिन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी उपमेयरको रुपमा उम्मेदवार भइन् । त्यतिबेला उनी पराजित भइन् । न्यायपूर्ण समाज निर्माण गरेर कसैमाथि थिचोमिचो नहोस् भन्ने भावले राजनीतिमा लागेकी सीतालाई २०७४ सालको स्थानीय निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको पार्टी एकताले निकै खुशी थियो । ‘कम्युनिष्टहरु टुटफुट र विभाजन भएर होइन एकीकृत भएर लाग्नुपर्छ भन्ने मेरो पहिलेदेखिकै सोचाई हो,’ उनी भन्छिन्, ‘वाम धुव्रीकरणले मात्र जनताको वास्तविक समस्या समाधान गर्न सकिन्छ भन्ने मेरो मान्यता रहेको छ ।’

दुई तिहाई बहुमत प्राप्त गर्न सफल नेकपाको एकता टिक्न सकेन । पार्टी विभाजन भयो । पार्टी विभाजनले आँफूलाई निकै दुखित बनाएको सीता बताउँछिन् । ‘म मिलिसकेको पार्टी कुनै पनि हालतमा विभाजन हुनुहुन्न भन्ने पक्षमा थिए तर, पार्टी एकता टिक्न सकेन,’ उनी भन्छिन्, ‘त्यतिबेला कुन पार्टी जाने भनेर रोज्नै पर्ने बाध्यता थियो, पारिवारीक राजनीतिक सम्बन्धका कारणले मैले माओवादी पार्टी रोँजे ।’ तर, आँफूले निरन्तर पार्टी पुनः एक हुनुपर्छ भन्ने आवाज वुलन्द गरिरहेको सीता बताउँछिन् । आँफूहरुको आवाजको कुनै सुनुवाई नभएपछि २०७८ चैतमा माओवादीबाट विद्रोह गरेर एमालेमा समाहित भएको उनको भनाई छ । ‘मैले एमाले पार्टीलाई तत्कालिन एकीकृत नेकपाकैरुपमा बुझेको छु,’ सीता भन्छिन्, ‘यो धुव्रीकरण अँझै बढ्दै जाने छ, मुलुकमा एउटा बलियो कम्युनिष्ट पार्टीको आवश्यकता छ ।’ पार्टीले आँफूलाई विश्वास गरेर सांसद र मन्त्री बनाएको उल्लेख गर्दै त्यो विश्वासलाई आँफूले कहिल्यै विचलित हुन नदिने सीताको भनाई छ । मन्त्री जिम्मेवारीमा रहँदा होस् या जिम्मेवारीमा नहुँदा पनि आँफूले जनताको पक्षमा निरन्तर काम गर्ने उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे