सौर्य विमान दुर्घटनाले ४ जना व्यवस्थापक सहित प्राविधिकहरू गुमायो : घाइते क्याप्टेन खतरामुक्त



सौर्य विमान दुर्घटनाले ४ जना व्यवस्थापक सहित प्राविधिकहरू गुमायो : घाइते क्याप्टेन खतरामुक्त

काठमाण्डाै ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

विमानमा रहेका १९ जना नै सौर्य एअरलाइन्ससँग सम्बन्धित रहेका छन् । शुरुमा सौर्य एअरलाइन्सले सवै जना कम्पनीमै आबद्ध व्यक्ति रहेका बताएको थियो । तर विमानमा रहेकी महिला र नाबालक सौर्य एअरलाइन्सका एक कर्मचारीका श्रीमती र छोरा रहेका खुलेको छ । १७ जना भने सौर्य एअरलाइन्सका चालकदल, व्यवस्थापक एवम् प्राविधिक रहेका छन् । विमानमा को–पाइलट सुशान्त कटुवाल, चिफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चिफ अफ क्यूए दिलीप बर्मा रहेका एअरलाइन्सले जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट आज बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको एन–एएमई विमान भुइँ छाडेलगत्तै दुर्घटनामा परेको हो । उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर बजारिएको प्राधिकरणले जनाएको छ । दुर्घटनामा परेको विमान ‘सी–चेक’ अर्थात् नियमित मर्मतका लागि पोखरा जान लागेको थियो । सौर्य एअरलाइन्सले पोखरा विमानस्थलमा रहेको ह्याङ्गर आजदेखि एक महिनाका लागि मागेर प्राविधिकसहित पोखरा लैजान लागेको पोखरा विमानस्थलको कार्यालयले जनाएको छ । पोखरामा तीन वटा विमान अटाउने ह्याङ्गर छ । जसमा यति एअरलायन्सले एउटा विमान यस्तै मर्मतका लागि राखेको छ । नेपालमा त्रिभुवन विमानस्थल, पोखरा विमानस्थल र नेपालगञ्जमा ह्याङ्गर छन् । ह्याङ्गरमा राखेर विमान मर्मत गरिन्छ ।

‘सी–चेक’ भन्नाले विमान बिग्रिएको वा उडाउनै नमिल्ने भन्ने नभई नियमित मर्मत–सम्भार हो । हरेक विमानकाे डेढदेखि दुई वर्षमा ‘सी–चेक’ गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जहाजका सिटलगायतका धेरैजसो ‘पार्ट’ खोलेर जोड्नुपर्ने भएकf]ले प्राविधिकको ठूलो समूह संलग्न हुन्छ । आजको दुर्घटनासँग यो मर्मतको सम्बन्ध नरहने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे