विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयाेगकाे निर्देशन
देउखुरी ९ साउन । राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न निर्देशन दिएको छ । सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहमा फौजदारीलगायत अभियोग लागेका, राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका विवादित व्यक्तिहरूलाई नियुक्ति सिफारिश र नियुक्ति गर्ने क्रम रहेको देखिएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।
आयोगले विज्ञप्ति निकालेर नैतिक रूपमा विवादित व्यक्तिहरूलाई नियुक्ति तथा नियुक्ति सिफारिश गरेको जानकारी आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संवैधानिक परिषद्ले यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ भने ज्यान मार्ने अभियोग लागेका नेपाली कांग्रेसका नेता बादशाह कुर्मी आज मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् । आयोगले राज्यका निकायमा नियुक्त हुने व्यक्तिहरू सामाजिक रूपमा स्वच्छ छवि भएको, विवादरहित उच्च नैतिक चरित्र भएको र कानुनी रूपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्छ भन्ने लोकतन्त्रको आधारभूत मान्यता रहेको बताएको छ ।
यसैबीच निर्वाचन आयोगको आयुक्तका लागि सिफारिश भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ । प्रश्नोत्तरका क्रममा सांसदहरूले यौन शोषणको आरोप लागेकाले प्रधानमा उच्च नैतिक चरित्र नदेखिएको बताएका छन् । अब अर्को बैठक बसेर नियुक्त गर्ने/नगर्ने निर्णय हुने समितिका सभापति पशुपतिशम्शेर राणाले जानकारी दिएका छन्।
यस्ताे छ मानव अधिकार आयाेगकाे विज्ञप्ति–