देउखुरीमा बाढीको बितण्डा



देउखुरीमा बाढीको बितण्डा

देउखुरी २२ असार । शुक्रबार राती देखि परेको अबिरल बर्षापछि आएको बाढीले एक जनाको मृत्यु भएको छ, भने बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । यस्तै लगातार परेको भिषण बर्षापछि आएको बाढीले लुम्बिनी प्रदेशका मन्त्रालय देखि वडा कार्यालय, प्रहरी चौकी र दर्जनौ बस्ती डुबानमा परेका छन् ।

लगातार परेको अबिरल बर्षापछि राप्ती नदीमा आएको बाढीले एक जनालाई बगाएको छ । लमही नगरपालिका-७, हस्नापुर स्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा वेपत्ता भएका छन् ।

राजपुर गाउँपालिका-२ का किसान दुध विक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जना संगै रहेपनि एक जनालाई बाढीले बगाएको र दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए । सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएको सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्धार गरेको प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।

राजपुर गाउँपालिका—२ निवासी ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उनीहरु संगै साथमा रहेका १८ बर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता यादबको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दा समेत बेपत्ता यादव फेला परेका थिएनन् ।

यस्तै देउखुरीको गंगदी खोलामा आएको बाढीमा ट्याक्टर फसेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका-५, स्थित गंगदी खोलामा ट्याक्टर फस्दा त्यसमा सवार सोही ठाउँ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको वडा अध्यक्ष टंकबहादुर बिष्टले जानकारी दिए ।

ट्याक्टरमा चालक सहित तीन जना थिए । खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फसेपछि सवार छेदिराम चौधरीको खुट्टा फस्दा बाढीमा डुबेर मृत्यु भएको जनाइएको छ । दुई जना सकुशल रहेपनि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् । रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेको थियो । ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीलाई उद्धार गरिएको छ ।

यस्तै लमही नगरपालिका—८, निवासी बर्ष ६२ का मनिराम चौधरी पनि बाढीमा बगेको आशंका गरिएको छ । उनका छोरा किसन चौधरीका अनुसार मनिराम बिहानै देखि हराईरहनु भएको परिवार स्रोतले जनाएको छ ।  अबेर सम्म घर नफर्किएपछि किसनले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेर अनुसन्धान गर्दा एकजना ब्यक्ति बगिरहेको देखेको स्थानीयको भनाईलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए । प्रत्यक्षदर्शी बसन्ता बस्यालले एक जना बगेको देखेको बताए ।

तर बगिरहेको ब्यक्ति मनिराम हुन कि अरु कोही भन्ने एक्किन हुन सकेको छैन । अबेर सम्म घर नफर्किएपछि मनिराम नै हुन् की भन्ने प्रहरीको आशँका रहेको छ । उनको खोजी कार्य भईरहेको अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले बताए । यो समाचार तयार पार्दा सम्म बेपत्ता भएका मनिराम फेला परेका थिएन ।

लगातारको वर्षापछि आएको बाढीले देउखुरी जलमग्न, वडा कार्यालय र प्रहरी चाैकी सहित दर्जनौ बस्ती डुबानमा

लगातारको वर्षाले देउखुरी जलमग्न भएका छन् । गएराती देखि परेकाे अबिरल बर्षाका कारण दाङको देउखुरीमा दर्जनौ बस्तीहरू डुबानमा परेका छन् ।  अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा डुबानमा परेको हो । राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा, कालापानी, वडा नम्बर ६ को पत्थरगढवा, मझेरीया लगायतमा गाउँमा बाढी पसेको छ ।

त्यस्तै लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका विभिन्न बस्ती डुवानमा परेका छन् । राप्ती नदी, दोलाई खोला तथा विभिन्न खहरे खोलामा आएको बाढी गाउँमा पसेको हो । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम समेत गरिएको छ । सुरक्षा निकायहरुले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न सारेका हुन् ।

लगातार पानी परिरहेकाले स्थानीय खहरे खोलामा जलसतह बढेको छ । यस्तै इलाका प्रहरी कार्यालय, सिसहनियाँको भवन पनि डुबानमा परेको छ, भने राप्ती गाउँपालिका कै ६ नम्बर वडा कार्यालय समेत डुवानमा परेको छ । यस्तै दाङको घोराही उपमहानगरपालिका-५, धर्नामा बबई खोलामा आएको बाढीले क्षति पुर्याएको छ । शुक्रबार रातीदेखि परेको अविरल वर्षाका कारण गाउँ डुबानमा परेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे