प्यूठानको दर्भानमा व्यवसायिक अम्बा र ड्रागनफ्रुट खेतीमा रमाउँदै गुरुङ्ग तीन भाई



प्यूठानको दर्भानमा व्यवसायिक अम्बा र ड्रागनफ्रुट खेतीमा रमाउँदै गुरुङ्ग तीन भाई

भालुवाङ १२ जेष्ठ । प्यूठानको सरुमारानी गाउँपालिका—१, दर्भानका अग्रज बामपन्थी नेता केशरबहादुर गुरुङ (केवी), गमानसिंह गुरुङ र दण्डबहादुर गुरुङलाई आजभोली फलफूल खेतीले भ्याइनभ्याई छ । उनीहरु तीन भाई व्यवसायिक रुपमा फलफूल खेतीमा लागेपछि आजभोली कामले भ्याइनभ्याई भएको हो ।

गुरुङ्ग तीन भाईले सरुमारानी गाउँपालिकाको वार्ड नम्बर १, बाङ्गेसालमा १२ रोपनी र दर्भानमा ८ रोपनी गरी २० रोपनी जग्गामा करिव १ हजार ५ सय अम्बाको खेती तथा वार्ड नम्बर १ को दर्भान र गनाहखोलामा १० रोपनी जग्गामा करिव १ हजार ६ सय ड्रागन फ्रुटको खेती गरिएकोे सञ्चालक केशरबहादुर गुरुङ (केवी)ले जानकारी दिए । तामिलनाडुबाट खरिद गरिएको ताइवान पिङ्क, एल ४९ र थाई ७ गरी ३ प्रजातिको अम्बाको बिरुवा लगाइएको छ ।

उनीहरुले प्यूठानमा केही बर्षयता व्यवसायिक रुपमा अम्बा र ड्रागन फ्रुट खेती गर्दै आएका छन् । जिल्लाको सरुमारानी गाउँपालिका वार्ड नम्बर १ र २ मा व्यवसायिक रुपमा अम्बा र ड्रागन फ्रुट खेती गर्दै आएका छन् । एकै घरका तीन भाई मिलेर हाम्रो बहुउद्देश्यीय कृषि फार्म, हरिसिंह गुरुङ स्मृती बहुउद्देश्य कृषि फर्म र एभरग्रिन नर्सरी फर्म दर्ता गरी उनीहरुले व्यवसायिक रुपमा अम्बा र ड्रागन फ्रुट खेती शुरु गरेका छन् । दर्भानका अग्रज बामपन्थी नेता केशरबहादुर गुरुङ (केवी), गमानसिंह गुरुङ र दण्डबहादुर गुरुङ तीन भाई मिलेर व्यवसायिक खेती गर्दै आएका छन् ।

ताइवान पिङ्क प्रजातीका अम्बा लगाउने बित्तिकै फल दिन सुरु गरेपनि एक डेढ वर्ष देखि लगातार दश वर्ष सम्म राम्रो उत्पादन दिन र बाह्रैमास फल्ने गरेको सञ्चालक गमानसिंह गुरुङ्गको भनाई छ । “यो अम्बा अरु अम्बा भन्दा मिठो, बाहिरको कभर बाक्लो र भित्रको गुदो कम हुने भएकोले पनि यस अम्बाको माग अत्याधिक रहेको छ,” सञ्चालक गमानसिंहले भने । “यस अम्बा दुई प्रकारका रहेका छन् एकथरिमा भित्र रातो र आर्को थरिमा भित्र सेतो रहेको छ,” सञ्चालक गमानसिंहले भने । यो अम्बाको प्रयोगबाट पाचन प्रकृया सजिलो बनाउने, दिसापिसाब राम्रो संग खुलाउने र बच्चा देखि बृद्धा सम्म जसले पनि खान सकिने उनले बताए ।

 

अहिले अम्बा मात्रै दैनिक ५० केजी देखि एक क्वइन्टल सम्म उत्पादन हुने गरेको छ । वार्षिक ५० क्वीइन्टल उत्पादन हुने र करिव ७ लाख ५० हजार आम्दानी हुने गरेको उनले बताए । थोकमा प्रति केजी २ सय र फुटकरमा २ सय ५० रुपैयाँका दरले प्यूठान जिल्ला सँगै छिमेकी जिल्ला दाङ, रोल्पा, अर्घाखाँची र बुटवलबाट ग्राहकहरु फर्म मै आएर अम्बा किन्ने गरेको गमानसिंहले बताए । अन्य खेतीको तुलनामा अम्बा खेती गर्न सजिलो हुने र वर्षमा एक पटक मात्र मलजल गरे अम्बाखेती राम्रो हुने उनको भनाई छ ।

त्यस्तै ड्रागन फ्रुटको आजभोली राम्रो बजार रहेको छ । सय १ सय ५० प्रजातीको ड्रागन फ्रुट भएपनि नेपालमा भने रातो, पहेलो र सेतो गरी ३ प्रकारको ड्रागन फ्रुटको खेती हुँदै आएको छ । उत्पादन, खपत र स्वाद तथा स्वास्थ्यको हिसावले पनि रातो ड्रागन फ्रुट उपयुक्त रहेको आर्का सञ्चालक केशरबहादुर गुरुङ (केवी)ले बताए ।

नेपालमा रातो प्रजातीको ड्रागन फ्रुटको माग अत्याधिक रहेकोले हामीहरुले पनि रातो प्रजाती कै ड्रागन फ्रुट खेती गरेको केशरबहादुरले भने । रातो राम्रो, गुलियो मिठो भन्ने नेपाली उखान झैँ नेपालमा रातो प्रजातिको ड्रागनफ्रुट प्रयोग गर्ने बढी रहेको उनले बताए । १ वटा पोल बाट करिव १५/२० केजी उत्पादन हुने ड्रागन फ्रुटबाट एक सिजनमा ३/४ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए ।

२०७७ साल देखि प्रत्येक बर्ष साउनदेखि कात्तिकको अवधिमा ड्रागन फ्रुट उत्पादन हुने गरेको सञ्चालक केशरबहादुरको भनाई छ । पहिलो वर्ष केही कम मात्रामा फल दिए पनि वर्षमा ६ पटक राम्रो फल दिने उनले बताए । फार्ममा रातो, सेतो र पहेलो गरी ३ थरीको ड्रागन फ्रुट उत्पादन भएको छ । पहिले पहिले ७/८ सयमा बिक्री हुँदै आएकोमा अहिले उत्पादन बढी हुँदा बजार मुल्य घट्दै गएको सञ्चालक केशरबहादुरले बताए ।

“ड्रागन फ्रुट नेपालको ५ प्रतिशत माग मात्र सम्बोधन गरेको छ, अहिले पनि नेपाली बजारमा बिदेशी ड्रागन फ्रुट आउने गरेको छ । जसले गर्दा व्यवसायिक रुपमा ड्रागन फ्रुट खेती आवश्यक रहेको हामीले महसुुस गरेका छौँ,” सञ्चालक केशरबहादुरले भने । उनले “ड्रागन फ्रुटबाट उच्च क्वालिटिको आइसक्रिम, वाइन, जाम, जेली र ब्युटि अन्र्र्तगत लिबिस्टिक जस्ता महत्वपूणर् खाद्यबस्तु तथा श्रृगारका सामाग्रीहरु समेत उत्पादन गर्न सकिन्छ, केशरबहादुरले भने ।

“ड्रागन फ्रुट खेती गर्ने किसानहरु पछुताउनु पर्ने अवस्था छैन, यसको बजार माग अत्याधिक छ । बिक्रीका लागि बजारको कुनै समस्या छैन । हामीले जति उत्पादन बृद्धि गछौँ, त्यति नै बिदेशबाट आयत हुने ड्रागन फ्रुटलाई प्रतिस्थापन गर्न सक्छौँ, त्यसैले अरु बाली भन्दा निकै कमजोखिम समेत रहेकोले जति सकिन्छ सबैले व्यवसायिक रुपमा “ड्रागन फ्रुटको खेती गरौँ,” उनले भने ।

आफ्नो जग्गा छ, भने समान्य किसानले कम लगानीमा समेत सहजै “ड्रागन फ्रुट खेती गर्न सकिन्छ, यस खेतीका लागि बढी खर्च लाग्ने भनेको पोल निर्माण हो । पोल, बिरुवा, मल, ज्याला सहित एउटा पोल बराबर करिब ३ हजार देखि ४ हजार सम्म लाग्छ । एक रोपनीमा सरदर बढीमा डेढ लाखको लगानीमा ५० पोल “ड्रागन फ्रुट खेती गर्न सकिन्छ,”सञ्चालक केशरबहादुरले भने । उनले दिन प्रतिदिन नेपाल कृषि क्षेत्रमा परनिर्भरतामा धकेलिएको प्रति गुरुङले चिन्ता व्यक्त गर्दै प्यूठानले खाद्यान्न, तरकारी तथा फलफुल सवै विदेशबाट मगाएर खानुपर्ने बाध्यता रहेको गुरुङले बताए ।

यता गुरुङ तीन भाईले सञ्चालन गरेको फर्ममा विभिन्न प्रजातीका बिरुवाहरु समेत उत्पादन गरिएको छ । उहाँहरुले सञ्चालन गरेको फर्मबाट फल मात्र नभई बिरुवा समेत उपलब्ध रहेको छ । अहिले उहाँहरुको नर्सरीमा अम्बा, ड्रागन फ्रुट, एवोगाडो, मेको डमेनट, लहरे आँप, बौद्धिचित्त, महगनी, मेवा, सितलचिनी, कफी, भुइकटहर, लिची र आँपको बिरुवा पनि उत्पादन गर्दै आएको र माग समेत बढ्दै गएको सञ्चालक आर्का सञ्चालक दण्डबहादुर गुरुङले बताए ।

उनले अम्बाको बिरुवाहरु मात्र ८ हजार, ड्रागन फ्रुट ३ हजार बिरुवा बिक्रीका लागि तयारी अवस्थामा रहेको बताए । अम्बा र “ड्रागन फ्रुटको बिरुवा थोकमा १ सय ५० र फुटकरमा २ सयका दरले बिक्री गर्दै आइरहेको उनले बताए । अरु बिरुवा भन्दा अम्बाको बिरुवा उत्पादन गर्न निकै समस्या रहेको छ, सयमा दश प्रतिशत मात्र बिरुवा उम्रिने गर्छ । उम्रेको करिब एक बर्ष पछि बल्ल बिरुवा बिक्रीका लागि तयारी हुने गर्दछ, सञ्चालक दण्डबहादुरले भने ।

नेपाल कृषिप्रधान देश भएपनि पछिल्लो युवापिढीले कृषि पेसा तर्फ ध्यान नदिंदा नेपाली बजारमा विदेशी फलफूल, खाद्यन्न र तरकारीले एक छत्र बजार कब्जा गरेको छ । स्वदेशमा बसेर केही हुँदैन भन्नेहरुका लागि यी तीन गुरुङ सञ्चालकले गरेको कृषि कर्मबाट पनि प्रष्ट हुन्छ । त्यसैले स्वदेशमै बसेर कृषि कर्म गरे अवश्य पनि आर्थिक क्रान्ति गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे