स्वस्थकर जीवन जिउने पहिलो अस्पताल भान्सा हो : अध्यक्ष विष्ट



स्वस्थकर जीवन जिउने पहिलो अस्पताल भान्सा हो : अध्यक्ष विष्ट

भालुवाङ १९ वैशाख । दाङमा स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको छ । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङले जिल्लाका बिभिन्न स्थानमा भान्सा मार्फत स्वस्थकर जीवन जिउन सहयोग गर्ने उद्धेश्य अनुरुप गृहिणीहरूलाई लक्षित गरी भान्सा सुधार कार्यक्रम सञ्चालन गरिरहेको छ ।दाङको राप्ती गाउँपालिकामा पनि बुधवार राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम अन्तरगत महिला स्वास्थ्य स्वमसेविकाहरुलाई भान्सा सुधारका विषय जानकारी गराएको छ । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हरेकको घरमा आजभोली जस्तो भान्सा हुनुपर्ने हो त्यो कसैको घरमा हुन नसकेको बताएका छन् । भान्सालाई भोजनालय, औषधालय, निरोगालय, सुखालय बनाउनुपर्नेमा आज भोलीका भान्साहरु रोगालय, हत्यालय खालका भान्साहरु बनिरहेकोले दिन प्रतिदिन नसर्ने रोगहरु बढी रहेकोले हरेक नागरिकलाई स्वस्थ बनाउने काम पहिलो अस्पतालको रुपमा भान्सा अर्थात पहिलो चिकित्सक गृहणी भएकोले खानपान र जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको अध्यक्ष विष्टले बताउका छन् ।

कार्यक्रममा राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङका प्रमुख डा. मदन कुमार बिसीले खाना पकाउनु पूर्व देखि उपभोग सम्म आयुर्वेदमा लिपिबद्ध पोषण प्रबर्द्धन कार्यहरूलाई पोषण संवेदनशील भई भान्सा सुधार मार्फत स्वस्थकर जीवन जिउनका लागि समुदायको पोषण सुधार हुने गरी परिणाम प्राप्त गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको बताए । राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले नेपालमा कुल मृत्यको ७१ प्रतिशत नसर्ने रोगका कारण मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको छ । त्यसको मुख्य कारण भान्सा अर्थात खानपान, आहारविहार, जिवनशैली नै रहेको बताए । यो अभियान राप्तमिा पनि सुरु गरिएको र महिला स्वास्थ्य स्वमसेविकाहरु मार्फत हरेकको घरघरमा संदेश पुग्ने लक्ष्य रहेको शाखा प्रमुख राउतले बताए ।कार्यक्रम सहभागी अन्य वक्ताहरुले विश्वमा नै अस्वस्थकर खानपिन र बढ्दो आधुनिकीकरण सँगै नसर्ने रोगको धेरै प्रकोप बढिरहेको हुनाले नसर्ने रोगको न्युनिकरण र खानामा पोषणको त्यती ध्यान नदिदा पोषणको कमीले गर्दा पनि विभिन्न किसिमको सङ्क्रमणजन्य रोगहरु लाग्ने भएको हुनाले विश्व परिवेशमा नसर्ने रोगको जोखिम बढ्दै गईरहेको हुँदा स्वास्थ्यकै आधार भनेकै स्वस्थकर जीवनशैली प्रवद्र्धनमा गृहिणीहरुका लागि भान्सा सुधार आवश्यक रहेकोले अव हरेकको भान्सा र जीवनशेलीमा परिवर्तन ल्याउन सरकारले अभियाननै चलाउन आवश्यक बताएका छन् ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङका प्रमुख डा. मदन कुमार बिसीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३५ जना महिला स्वास्थ्य स्वमसेविकाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक तथा वैद्य निरिक्षक विष्णुप्रसाद पन्थीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वरिष्ठ कविराज निरीक्षक डा. कैलाश न्यौपानेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे