शिक्षक गुरु मात्र नभई मित्र हो, शिक्षा संगै संस्कार सिकाउँदै ‘गुरुकुल’ (स्थलगत रिपाेर्ट)
घोराही २७ माघ । कुरा माघ २० गतेको हो । गुरुकुल एकेडेमी घोराहीको बार्षिक उत्सव थियो । धेरै अतिथीहरुलाई निमन्त्रणा थियो त्यो अतिथी मध्ये म पनि परेको थिए । गुरुकुलको मुख्यद्धार अगाडी अतिथी तथा विद्यार्थी र सवारीसाधनको भिड थियो । यही भिड छिचोल्दै भित्रप्रबेश गर्दै थिए । मुख्यद्धारमा विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसी ,विद्यालयका विभिन्न तहका संयोजकहरु हुनुहुन्थ्यो । उहाँहरुरु गेटमा उभिएको हेर्नलाई भन्दा पनि आगन्तुक पाहुनाहरुलाई स्वागत गर्नलाई तयारी अवस्थामा रहनुभएको थियो ।
त्यसैक्रममा विद्यालयको गाडी बच्चा लिएर विद्यालयमा आइपुग्यो र विद्यालय प्रवेश पश्चात गाडीबाट साना नानीबाबु ओर्लनुभयो र विद्यालयका शिक्षिकाहरुले गाला समातेर माया व्यक्त गर्दै स्वागत गर्नुभयो । त्यो क्षणले मलाई चसक्क छोयो । मैले पुलुक्क हेरें, गुरुकुल एकेडेमी लेखिएको हेर्दा टलक्क टल्किने हाइस थियो । यो सबै कृयाकलाप देखेपछि सानो कथा लेख्नमन लाग्यो । हो त्यही दिन मैले पनि धेरै कुरा नियाल्न थाले ।
कहिले कार्यक्रम स्थल कहिले भान्सा कहिले कक्षा कोठा त कहिले त्यहाँ आएका अभिभावकहरुलाई नजिकबाट नियाल्दै कथा संकलन गर्न थाले । विद्यालय पुग्दा गार्डले गर्ने ड्युटी चिनेका र नचिनेका ब्यक्तिहरुलाई समान हुन्छ किन की विद्यालय भनेको हजारौ विद्यार्थीको सुरक्षाको जिम्मेवारी बोकेको हुन्छ । त्यसैले मैले पनि गार्ड त्यही अनुरुप गरिरहनुभएको थियो । विद्यालयले भावी पुस्ताको जिम्मा लिएको हुन्छ । अब्बल नयाँ शक्ति उत्पादन गर्ने थलो विद्यालय हो ।
सीपयुक्त र क्षमतावान जनशक्ति तयार गर्ने विद्यालयले हो । तातेताते हिड्ने र तोतेबोली बोल्ने उमेरदेखि नै मन्टेश्वरीका नाममा विद्यालय पठाइन्छ । त्यहाँ को पस्यो, किन पस्यो भन्ने जानकारी राख्न जरुरी छ । त्यसैले विद्यार्थीको सुरक्षाका लागि एकै समयमा तीन जना गार्डले ड्युटी गर्ने गरेको जानकारी मलाई गुरुकुल एकेडेमीका अध्यक्ष ई अनन्तराज घिमिरेले जानकारी दिनुभयो । उक्त जानकारी पश्चात निकै खुसी लाग्यो किन की अन्य विद्यालयमा यस्तो कडा नियम कतै भेटाएको छैन । म धेरै विद्यालय, सभासम्मेलन, तालिम र गोष्ठी लगायत धेरै ठाँउमा गएको छु तर गुरुकुल एकेडेमी जस्तो राम्रो वातावरण कतै भेटाउन सकिन ।
म गुरुकुल एकेडेमीमा पुग्दा त्यहाँका शिक्षक तथा कर्मचारी कोही पनि खाली थिएनन्, सबै आफ्नै ड्युटीमा ब्यस्त थिए । उता रोस्टमबाट अनुशासन संयोजक दुर्गा न्यौपाने म्यामले कस्को ड्युटी के हो भनेर माइकबाट नाम बाचन गरीरहनुभएको थियो । विद्यालयका विद्यार्थीहरुको स्वास्थ्यमा निकै सतर्कता रहेको गुरुकुलमा स्वास्थ्य सेवाको ब्यबस्था पनि गरेको रहेछ । त्यसैले सबै विद्यार्थी तथा अतिथीहरुको स्वास्थ्य चेकजाँच गरिरहेको थियो ।
विद्यालयका मुख्य ब्यक्ति प्रधानाध्यापक लगायतको समुह अतिथि स्वागतमा ब्यस्त थियो भने भित्र कार्यक्रम तय गर्ने विवेक देवकोटा सरको समुह ब्यस्त थियो पछि थाहा पाए विवेक देवकोटा सर त्यस बार्षिक उत्सव कार्यक्रमको संयोजक हुनुदो रहेछ । हुन त त्यसै पनि विवेक देवकोटा काममा निकै मेहनतका साथ लाग्ने सर मध्ये उहाँ पनि एक हुनुहुन्छ ।
उता सानाबालबालिकाको हेरचाहमा मन्टेस्वरी संयोजक लोचना पौडेल म्यामको समुह ब्यस्त थियो । यो दृष्य हेर्दा म निकै आनन्दित भइरहेको थिए । सायद त्यो विद्यालयका अभिभावक पनि निकै खुसी र आनन्दित रहनुभएको थियो होला । त्यहाँ रहेका शिक्षकको फरक पोसाकमा पनि रहेको देखे र सबैको पोसाक किन फरक हो भनेर विद्यालयका अर्का शिक्षक तथा प्लस टुसंयोजक निमानन्द गैरेलाई प्रश्न तेर्साइहाले त्यसपछि बल्ल थाहा पाए गुरुकुल एकेडेमीले शैक्षिक सत्र २०८१ बाट लमही र तुलसीपुरमा पनि विद्यालय संचालनमा ल्याउन लागेको रहेछ हो तिनै विद्यालयका नवनियुक्त शिक्षक तथा शिक्षिकाहरु हुनु हुँदोरहेछ । जुन फरक पोसाकमा सजिनुभएको थियो । उहाँहरु पनि कार्यक्रमस्थलमा स्वागत कार्यमा ब्यस्त हुनुहुन्थ्यो ।
यता खेल प्रशिक्षक भुगोल पुनले मार्च पास तयारी गराउदै हुनुहुन्थ्यो भने विद्यालयका प्लस टुसंयोजक निमानन्द गैरेले प्रमुख अतिथि आइपुगेको जानकारी गराउँदै कार्यक्रम संचालन गर्न थाल्नुभयो । गुरुकुल एकेडेमीका अध्यक्ष तथा त्यस बार्षिक उत्सवको सभाअध्यक्ष ग्रहण गर्नुभएका ई. अनन्तराज घिमिरे कसलाई अतिथि आसन गराउने, बोल्ने पालो कसलाई दिने, मायाको चिनो दिएर बिदाइ कति बेला गर्ने भनेर कार्यक्रमको संयोजकलाई निर्देशन दिइरहनुभएको थियो ।
कार्यक्रमको अध्यक्ष बनेर धुम्म परेर बसेको देखिनँ । किन की कहिँकतै गलत हुन जान्छ की भन्ने डर उहाँमा थियो । यसले मलाई औधी आनन्द आयो । अगुवाले काम गर्नुपर्छ । त्यसपछि परिवर्तन हुन्छ भन्ने मान्यता मैले त्यस कार्यक्रममा भेटाए । मञ्चमा बच्चाहरुलाई लैजाने र ओराल्ने । सम्मान पत्र एवं मेडल तयारी गर्ने र अतिथिलाई उपलब्ध गराउने । खाजा बनाउने, पानी खुवाउने यावत काममा विद्यालयका सबै टिम खटेका थिए ।
म शिक्षक हुँ, मेरो काम यो मात्रै हो भनेर अखट्टो थापेको देखिएन । आइपरेको काम जे पनि, जसले पनि र जतिखेर पनि गर्ने सक्रियता देखेपछि मेरो मन असाध्यै रमायो । यदि विकास गर्नुछ भने जाँगरका साथ कुनै पदीय बार नहाली गर्नुपर्छ । यदि विद्यालयको चउरमावा झ्यालबाट बच्चाले कागज फाल्यो भने प्रधानाध्यापक वा प्रिन्सिपल आफैले टिप्नुस् भन्दै आएका छौं । केही विद्यालयका शिक्षकहरुले बच्चाको फोहोर छुन घिन मान्नु हुन्छ । हातमा धुलो मैलो लाग्ला भन्ने डर मान्नुहुन्छ ।
कसैले फोहोर टिपेको देख्यो भने लाज होला भन्ने सोच्नुहुन्छ । अझ कतिपयमा फोहोर उठाउने काम कार्यालय सहयोगीको हो भन्ने चलन छ । शिक्षकहरु घर व्यवहारका गफ छाँटेर बस्छन् विद्यालय फोहोरको डंगुर हुन्छ । आफू धेरै पढेर लोकसेवा आयोग पास गरेर आएको शिक्षक ठूलो मान्छे हो । अरुलाई काम गराउनुपर्छ भन्ने सोच्छ । त्यसै भएर हुनुपर्छ धेरै सामुदायिक विद्यालय घुम्दा फोहोरको रास भेटिन्छ । विद्यार्थीको संख्या हरेक वर्ष घट्दा शिक्षकभन्दा कम हुन्छन् ।
कुन चाँही सामुदायिक विद्यालयमा त झन विद्यार्थि भन्दा पढाउने शिक्षक धेरै भन्ने सुनेको थिए सायद यस्तै घमन्डको कारण हुनुपर्छ । मलाई त्यो मञ्चको दृश्यले मात्रै पुगेन । उठेर अवलोकन तिर लागें । स्वीमिङ पुल असाध्यै सुन्दर देखियो । निकै रिस उठेको बेला त्यही पुलको डिलमा उभिएर एकहोरो हेर्दा पनि दुःख बिर्सिन्छ होला । छेउमै बगैंचा रहेछ । गमलामा केही हजारी थिए । अरुबोट विरुवाहरु पनि रोपिएका छन् । क्रिकेट खेल्नको लागि बगैचा भित्र जाली लगाएर बनाइएको रहेछ ।
सम्पूर्ण शिक्षकहरुको फोटो सहित ठुला-ठुला बोर्ड देखे अनि त्यो भन्दा पनि २०७९ को एसईईमा ४ जिपिए संगै उत्कृष्ट अंक ल्याउने विद्यार्थिहरुको फोटो सहित ठुलो बोर्ड थियो त्यही बोर्ड धेरै अभिभावकको नजरमा थियो । किन भने भोलीका दिनमा आफ्नो बच्चाको फोटो पनि यसरी ठुलो बोर्डमा देख्न पाउने आशा राखेर हुनुपर्छ ।
अनि गेट नजिकै पानीका फोहोरा फाल्ने बनाइएको छ । त्यो के जाते फाउन्टेन पनि भन्छन् हो त्यहि बनाइएको रहेछ । असाध्यै सुन्दर ढंगले रंगरोगन गरिएको मुनाबाट पानी झर्ने बनाइएको रहेछ । त्यसको नजिकै हरियालीले गर्दा फोटो पनि लोभलाग्दो दृश्य सहितको आउँदोरहेछ । एसो सेल्फी हानुँ की जस्तो मनमा लागेको थियो, कता भुलेछु कुन्नी खिचेकै रहेनछु । पाँच वटा भवन रहेछन् । बीचमा पिच बाटोले छुट्याएको छ । जाँगरिलाको सुन्दर घर अगाडि जस्तै फूलको बगैंचा छ ।
हामीहरु धेरैका घर अगाडि नचाहिने झाडीले घिनलाग्दो बनाएको छ । त्यहाँ गेट नजिकै आफ्नो भूगोल जतिमा फूल रोपिएका रहेछन् । सबै बिल्डिङको दृश्य आँखामा खिच्ने मौका मिल्यो । पर्खाल पनि रङगरोगन गरेको सफाचट रहेछ । खेलकूदका अनेक सामग्री रहेछन् । मन्टेश्वरीका बच्चाहरुलाई खेल्न, रमाउन तथा दैनिकी रोचक बनाउन मद्दत गर्छन् ।
यत्ति कै मा मलाई शौचालय जान मन लाग्यो । फेरी अन्य ठाँउको शौचालयको हवीगत देखेकै हो । यहाँ पनि यस्तै होला भनेर जान मन लागेन फेरी नगएर पनि सकेनँ अनि गए। मैले सोचेको भन्दा फरक पाए । यस विद्यालयको शौचालय त्यहाँ सास फेर्दा कुनै किसिमको गन्ध नआएपछि आराम महसुस भयो । घरकै शौचालयमा समेत त्यति स्वच्छ सास फेर्न पाइँदैन । त्यति धेरै अभिभावक सहित ९ औं बार्षिक उत्सव मनाइरहेको विद्यालयको शौचालयमा भने कुनै खोट लगाउन सकिनँ । त्यो दिनमा समेत शौचालय सफा थिए । बच्चाहरूका लागि उपयुक्त वातावरण लाग्यो । एउटा सफा घरमा पाइने सुविधा त्यहाँ थियो । शौचालयबाट बाहिर निस्कने बेला बेसिन नजिकको साबुनदानीमा ठुला साबुन तथा डेटोल राखिएको थियो । शौचालयबाट निस्केपछि बच्चाले साबुन पानीले हात धोएन भने अरु सफाइ व्यर्थ हुन्छ ।
एउटा कक्षा कोठाको ढोका खुल्यो । राउन्ड टेबुल, भित्ताभरी शैक्षिक सामग्री, कक्षा कोठामा ठुला ठुला एलइडी थिए । सम्पन्न परिवारको वासस्थान भन्दा कम लागेन । घरमा जस्तै सरसफाइ पाउँछ । घरको भन्दा बढी खेलकूदका सामग्री र साथी छन् । त्यसैले घर भन्दा विद्यालय जान बच्चा रुचाउँछ । यहीकुरा अभिभावक रामप्रसाद पोख्रेलले भन्नुभयो । सबैभन्दा बढी अनुशासन चाहिन्छ । जति पाउनुपर्ने हो मेरो छोराले पाएको छ । म स्थापना कालदेखि पढाउँदै आएको छु । उहाँले २०७२ सालमा स्थापना भएको बताउनुभयो ।
कतिपय विद्यार्थीहरुले जिल्ला तथा आफ्नो नाम समेत पाएका हुदैनन् । दाङमा कतिवटा पालिका छन् भनेर सोध्यो भने पनि धेरै ठाउँमा जानेका थिएनन् । त्यस विद्यालयमा भने एलकेजीका बच्चा तोते बोलीमै फटाफट अङ्गेजीमा जवाफ दिए । म्यामले अंग्रेजीमा सोध्नुभयो । उनीहरुले सार्कका सबै देशका राजधानीको नाम भने । आफ्नो घर कुन प्रदेशमा छ भनेर जाने । घोराही, तुलसीपुर र लमहीका प्रमुख उपप्रमुखको नाम भने । यसैगरी राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री हुँदै धेरै जनाको नाम सामूहिक रुपमा एकै स्वरमा भन्न सके । तिनको त्यो क्षमताले मलाई साँचीकै यो विद्यालय शिक्षाको खानी हो जस्तो लाग्यो ।
धेरै विद्यालयमा शिक्षकहरुले पुस्तकमा लेखिएको मात्रै सिकाउने रहेछन् । दश वर्ष अघिका कुरा मात्रै रटाउने रहेछन् । अतिरिक्त क्रियाकलापन गराउने विद्यालयले आवश्यकताको ज्ञान दिदैन् । चाहिने कुरा सिकाउँदैन । त्यहाँ भने संघीयता पछिको परिवर्तित नक्सा र कार्यकारीहरुका बारेमा ज्ञान दिएइको रहेछ । भात पकाउन, घाँस काट्न ब्यापार गर्न लगायतका कुरा सिकाएको त हामीले गुरुकुल दाङ नामक फेसबुक पेजमा फोटो देखिरहेका हुन्छौँ । त्यहाँका कार्यकारी पदका अगुवाहरुको सक्रियता, काममा जुट्ने शैली मज्जाको थियो ।
त्यसकै फलस्वरुप छोटो समयमै गुरुकुल एकेडेमीले अनेक सफलता हासिल गरेको बुझियोे । त्यति ठुलो कार्यक्रममा पनि त्यहाँका विद्यार्थी यत्रतत्र अनुशासन बाहिर देखेनँ । त्यहाँका शिक्षकहरु सबैले विद्यार्थिहरुलाई निगरानीमै राखेर बसालेको देखे । माथि लेखेको कुराहरु अनुभव गर्दा लाग्छ गुरुकुल अन्य विद्यालय भन्दा धेरै फरक छ । त्यसैले सबैको रोजाइमा परेको छ ।
अनि अर्को कुरा तुलसीपुरमा संचालन हुन लागेको गुरुकुल एकेडेमीकोे प्रधानाध्यापक घोराहीकै गुरुकुलमा स्थापनाकाल देखि कार्यरत सहायक प्रधानाध्यापक रहेर कार्य संचालन गर्नुभएका मुकुन्द गिरी हुनुहुँदो रहेछ । त्यसैले तुलसीपुरमा पनि यस्तै तरीकाबाट पढाई हुने विश्वास छ भने लमहीमा पनि धेरै अनुभवी शिक्षक तथा शिक्षिकाहरु भएको कारण शिक्षा सँगै संस्कारको विकास गरिने विश्वास मैले लिएकाे छु ।