लुम्बिनीमा फागुन १३ गते देखि दादुरा रुबेला खोप अभियान सञ्चालन हुँदै



लुम्बिनीमा फागुन १३ गते देखि दादुरा रुबेला खोप अभियान सञ्चालन हुँदै

भालुवाङ २४ माघ । लुम्बिनी प्रदेशमा यही फागुन १३ गते देखि २५ गते सम्म दादुरा रुबेला खोप अभियान सञ्चालन हुन लागेको छ ।

नेपाल सरकारले फागुन १३ देखि चैत्र २७ गते भित्र देशव्यापी रुपमा दादुरा रुबेला खोप अभियान संचालन गरिसक्ने निर्देशन गरे बमोजिम लुम्बिनी प्रदेशमा पनि खोप अभियान सञ्चालन गर्न लागिएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा बुधबार भालुवाङमा दादुरा रुबेला खोप अभियान २०८०/०८१ अन्तरगत प्रदेशस्तरीय समन्वय समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका खोप फोकल पर्सन कुमार थापाले सो विषयमा जानकारी गराएका हुन् । पछिल्लो समय दादुरा रुबेलाका बिरामीको संख्या बढेको हुँदा सो अभियान सञ्चालन गर्नु परेको थापाले बताए ।

प्रदेशस्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्धन पन्थीको अध्यक्षयता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा बैठक तथा अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको हो । तराईका २१ जिल्लामा ९ महिना दखि १५ वर्ष उमेर समुहका र काठमाडौं उपत्यकाका ३ जिल्लामा ९ महिना देखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुमा दादुरा रुबेला खोप अभियान संचालन हुन लागेको छ । यस अभियान अन्तरगत लुम्बिनी प्रदेशमा मात्र ११ लाख ६० हजार ६ सय ६६ जना बालिबालिकाहरुमा खोप लगाउने लक्ष्य रहेको लुम्बिनी प्रदेश स्वास्थ्य सचिव डा. जनार्धन पन्थीले बताएका छन् ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरीले यस अभियान सफल बनाउन सबैको साथ सहयोग रहेको बताएका छन् । डा. गिरीले भने यो अभियान नियमित हो, यस भन्दा पहिला नियमित दादुरा रुबेलाको खोप लगाईसकेका बालबालिकाहरुलाई पनि यस अभियानमा खोप लगाउन अनुरोध गरेका छन् । लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषणा भएपनि २०७९ मंसिर ३ देखि २०८० पुस १५ गते सम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेको थियो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय २१ जना दादुरा रुबेलाबाट बालबालिका संकमित भएका थिए । त्यसैगरी बर्दियामा ७२, दाङमा ३९, अर्घाखाँचीमा ११ जनामा बिरामी परेका थिए ।

नियमित दादुरा रुबेला खोपको कभरेज सबै स्थानिय तहमा एकरुपता रहेको छैन । जसका कारण पनि दादुरा रुबेला खोप अभियान २०७६/०७७ सम्पन्न पछि गरिएको सर्भेक्षणबाट दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र रहेको पाइएको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरुमा दादुरा रुबेलाको महामारी देखिएको छ । कोभिड–१९ ले गर्दा नेपालमा दादुरा रुबेलाको खोप लगाउन छुटेका बालबालिकाहरुको संख्यामा बृद्धि भई २०७९/०८० मा दादुराको महामारी देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे