एमाले दाङका स्वयंसेवी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमका विभिन्न टोलमा अस्थायी टहरा निर्माण गर्दै



एमाले दाङका स्वयंसेवी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमका विभिन्न टोलमा अस्थायी टहरा निर्माण गर्दै

दाङ ८ मंसिर । नेकपा एमाले दाङले भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका विभिन्न टोलमा अस्थायी टहरा निर्माण थालेको छ ।

भूकम्पका कारण ठूलो जनधनको क्षति भएको रुकुमपश्चिमको आठवीसकोट नगरपालिकामा स्वयंसेवक पुगेका हुन् । भुकम्पपीडितहरुलाई राहत वितरण गरेको एमाले दाङले स्वयंसेवक पठाएर अस्थायी टहरा निर्माण पनि थालेको छ । एमाले दाङका सचिव मनोहर बुढाथोकीको नेतृत्वमा रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१४ ज्यामिरेकोट टाकुरा पुगेको स्वयंसेवक टोलीले बिहीबारदेखि निर्माणको काम थालेको हो ।

स्वयंसेवक टोलीले भूकम्पले जनविकास मावि टाकुराको क्षतिग्रस्त सामग्री उठाउने र अस्थायी टहरा निर्माण गरी तत्कालै बालबालिकालाई पठनपाठनका लागि वातावरण बनाउनेगरी काम थालेको टोली नेता बुढाथोकीले जानकारी दिए । उनका अनुसार पार्टी नेतृत्वमा युवा संघ दाङ, अखिल नेपाल महिला संघ दाङ, अखिल नेपाल विद्यार्थी युनियन दाङ, मगर संघ, थारु संघ लगायतका पार्टी जनसंगठनका प्रमुख तथा प्रतिनिधिहरु पुनर्निर्माणमा सहभागी भएका छन् । सबैभन्दा पहिले विद्यालयमा अस्थायी टहरा निर्माण सक्ने र त्यसपछि स्थानीय भूकम्प पीडितहरुको अस्थायी घर निर्माण गरिनेछ । झण्डै एक हप्तासम्म पहिलो टोलीले श्रमदान गर्ने र त्यसपछि फेरि दाङबाट अर्को टोली पुगेर निर्माणमा लाग्ने एमाले दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे