लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै



लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

भालुवाङ २६ जेठ । लुम्बिनी प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश प्रमुख अमिक शेरचनले आज नीति तथा कार्यक्रम ‍प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

बिहान ११ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । ‘हरेक घर-घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित घोषणा गर्दै विगतमा केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने केही नयाँ कार्यक्रम थप्ने तयारी गरेको छ । सरकारले नारालाई पुष्टि गर्न स्थानीय उत्पादनमा जोड दिँदै स्थानीय बजारीकरणमा पनि बाटो खोज्ने नीति ल्याउँदै छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद् बैठकबाट पारित गरिएको जानकारी दिए । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पारित गरिसकेको छ । सरकारले चलाएका बहुवर्षीय आयोजनालाई निरन्तरता हुने अति आवश्यक नयाँ हिसाबले बनाउनुपर्ने, मर्मत सम्भारमा हाल्नुपर्नेलाई पनि समेट्ने छ ।

पर्यटनको क्षेत्रमा लुम्बिनीलाई केन्द्र बनाएर अन्य क्षेत्रलाई जोड्ने गरी कार्यक्रम ल्याउने योजना रहेको खुलाउनु भयो । घरेलु रक्सीदेखि हस्तकलाका सामग्रीको ब्राण्डिङ गर्ने र त्यसबाट नागरिकको जीवनस्तर बढाउने उद्देश्य पनि राखिएको छ । यस्तै, रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ठूला र धेरै बजेट खर्च हुने आयोजनालाई यसपालि अघि नसार्ने तर प्रत्यक्ष लाभप्राप्त हुने योजनालाई अघि सारिने भएको छ ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले बजेटको सीमालाई ख्याल गर्दै अगाडि बढ्ने बताए । प्रदेश गौरवका आयोजना निरन्तरता दिँदै नयाँ योजना अगाडि बढाउने बताए । रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने जानकारी दिए ।पर्यटनको लागि ग्रेटर लुम्बिनी, स्वर्गद्वारी, रुरुधाम र दाङको रतनमार्ग आदि स्थानमा पर्यटन केन्द्रित हुनेछ । साथै, प्रदेशको सरकारको क्षेत्रधिकार भित्र पर्ने शिक्षाको विकासको लागि विशेष काम गर्ने नीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे