देउखुरीको राप्तीमा आवश्यकता र मापदण्डका आधारमा राप्ती नदीमा कुलो खन्ने सहमति
भालुवाङ २३ जेष्ठ । राप्ती नदीमा कुलो खन्ने विषयमा आज मंगलबार राप्ती गाउँपालिकाको सभाहल मसुरियामा भएको वार्ता सहमति भएपछि टुड्गिएको छ । दाङ—देउखुृरीकोराप्ती गाउँपालिका वडा नम्बर १ को राप्ती नदिको १ नम्बर इन्टेक देखि वडा नम्बर ३ को ३ नम्बर इन्टेक सम्म कुलो खन्दा मापदण्ड र आवश्यकताका आधारमा खन्न दिने किसान र आन्दोलनरत पक्ष बीच सहमति भएको हो ।
लामो समय सम्म नदीमा कुलो खन्दा मापदण्ड बिपरित भएको भन्दै केही युवाहरुको समूहले सचेत नागरिक समूहको नाम दिंदै चरणबद्ध आन्दोलन गर्दै आएका थिए । उनीहरुले राप्ती नदीमा कुलो खन्ने नाममा ठुला—ठुला मेसिन प्रयोग गरी मापदण्ड बिपरित मनोमानी ढंङ्गले नदीजन्य पदार्थ उत्खनन् गरेको आरोप लगाउँदै आएका थिए ।
यसैबीच आज सचेत नागरिक समूहले कुनैपनि हालतमा मापदण्ड विपरित राप्ती नदी उत्खनन् बन्द गर्न माग गर्दै राप्ती गाउँपालिकाको गेट अगाडी प्लेट कार्ड सहित प्रदर्शनमा उत्रिएपछि पिडित किसानहरु समेत आफ्नो खेतबारीमा सिचाईका लागि कुलो खन्न पाउनु पर्छ भन्दै गाउँपालिकाको कार्यालय घेराउ गर्न पुगेका थिए । पालिकाको कार्यालय परिसरमा दुबै पक्ष आन्दोलनमा उत्रिएपछि गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले दुबै पक्षलाई वार्तामा बोलाई छलफलको माध्यमबाट सहमति गराएका थिए ।
छलफलमा मापदण्ड र आवश्यकताका अधारमा दुबै पक्षको उपस्थिति र गाउँपालिकाको निगरानीमा कुलो खन्ने सहमति भएको छ । साथै कुलो खन्दा मापदण्डलाई परिपालन गराउन सबैपक्ष जिम्मेवार बन्ने समेत सहमति भएको दुबै पक्षका अगुवाहरुले बताएका छन् । यता दुबै पक्षबीच सहमति भएपछि सचेत नागरिक समूहले शुरु गरेको चरणबद्ध आन्दोलनका कार्यक्रम समेत स्थगित भएको छ ।
रोपाइका लागि देउखुरीका अधिकांश किसानहरुले राप्ती नदीको पानी प्रयोग गर्दै आएका छन् । उनीहरुको खेत—खेतमा राप्ती नदीको पानी पुर्याउन प्रत्येक बर्ष किसानहरुले आफ्नो कुल्लो खन्ने गरेका छन् । कुलो खन्न बेल्चाबाट सम्भव नहुने भएपछि प्रगन्न तथा बड्कापथ सिंचाई व्यवस्थापन कार्यालय लमहीको सिफारिसमा राप्ती गाउँपालिकाले मझेरिया इन्टेक देखि चार किलोमिटर पूर्व १५ मिटर चौडाई र १.५ मिटर औषत गहिराई रहने गरी राप्ती नदीको उत्तरको तटबन्धनलाई कुनै असर नपर्ने गरी कुलो खन्ने अनुमति थियाे ।
त्यस्तै पालिकाले प्रगन्न तथा बड्कापथ सिंचाई व्यवस्थापन कार्यालयकाे अनुराेधमा कुलो खन्ने प्रयोजनका लागि तीन वटा स्कारभेटर मेसिन प्रयोग गर्न सहमति समेत प्रदान गरेको छ । यता कुलो खन्दा निस्किएको नदीजन्य पदार्थ भने गाउँपालिकाले ठेक्का प्रणाली मार्फत स्थानीय क्रसर उद्योगलाई दिएको छ । जसबाट गाउँपालिकालाई लाखौँ रकम आन्तरिक राजश्व स्वरुप संकलन हुने अपेक्षा समेत गरिएको छ ।