बटुवाहरुकाे सहजताका लागि सिसहनियाँ बजारमा स्वच्छ खानेपानीकाे धारा जडान



बटुवाहरुकाे सहजताका लागि सिसहनियाँ बजारमा स्वच्छ खानेपानीकाे धारा जडान

सिसहनियाँ १७ जेठ । राप्ती गाउँपालिका वडा नम्बर पाँच पुन खाेलाका सुकदेव उचही मगर प्रायः जसो घरायसी सामान किनमेल गर्न साेही वडाकै सिसहनियाँ बजार पुग्ने गर्छन्। घण्टाैकाे पैदल यात्रा गरि बजार सम्म पुग्दा बिच बाटाेमा कतै पिउने पानी व्यवस्था रहेको छैन । पहाड बाट बजार सम्म झर्दा पानी तिर्खाले घाँटी समेत सुक्ने गरेको उनले बताए ।

पानी पिउनकै लागि उनलाई अरुको घरमा या हाेटलहरुमा धाउनु पर्ने बाध्यता रहेकाे थियो । हाेटल र अरुको घरमा पानी माग्न जानू पर्दा आफैंलाई अफ्ठाराे लाग्थ्यो उनले भने “कुनै बेला त पानी किनेर समेत पिउने गरिन्थ्याे।” तर केही दिन यता भने उहाँको त्याे समस्या हटेर गएको छ। राप्ती गाउँपालिकाले यात्रु तथा बजारमा किनमेल गर्न आउने नागरिकहरुलाई सहज रुपमा निशुल्क स्वच्छ पानी पिउनकाे व्यवस्था गरे पछि साे समस्या समाधान भएको हाे। पालिकाले सिसहनियाँ बजार क्षेत्रमा स्वच्छ पिउने पानीकाे धारा जडान गरिदिए पछि उचही मात्रै हैन उनी जस्ता यस क्षेत्रमा आउने सयौं नागरिकहरुलाई स्वच्छ पानी पिउन सहज भएको छ।

हामीलाई जुनसुकै समयमा पनि पानी आवश्यक पर्छ, त्यसमा पनि गर्मी याममा त अझै बढी चाहिन्छ, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भने -“यात्रुहरु तथा बजारमा किनमेल गर्न आउने नागरिकहरुलाई स्वच्छ पिउने पानी निशुल्क रुपमा खुवाउने उदेश्यले बजार क्षेत्र तथा सार्वजनिक स्थलहरुमा पानीको धाराहरु जडान गर्न लागेका हाैं।” पहिलो चरणमा सिसहनियाँ बजार क्षेत्रमा धारा जडान गरेको बताउदै अध्यक्ष विष्टले आगामी दिनहरुमा अन्य बजार तथा सार्वजनिक ठाउँहरुमा पनि धारा जडान गरिने बताए । धारा जडान भएपछि यात्रु तथा बजारमा किनमेल गर्न आउने नागरिकहरुलाई निकै सहज भएको स्थानीय माेहन भण्डारीले बताए । धाराकाे मासिक शुल्क भने प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था सिसहनियाँ र सिसहनियाँ उद्योग वाणिज्य संघ सँग समन्वय गरि भुक्तानी गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे