राप्ती गाउँपालिकाले दाङ जिल्लामै पहिलो पटक ल्यायो कृषि एम्बुलेन्स
भालुवाङ १५ वैशाख । दाङको राप्ती गाउँपालिकाले जिल्लामै पहिलो पटक कृषि एम्बुलेन्स भित्राएको छ । किसानहरुले उत्पादन गरेको तरकारीलाई सहज तरिकाले खरिद गर्न राप्ती तरकारी संकलन तथा बिक्री केन्द्र समेत स्थापना गरि पालिकाले जिल्लामा पहिलो पटक कृषि एम्बुलेन्स भित्राएको हो ।
कृषिको माध्यमबाट गाउँपालिकालाई आर्थिक क्षेत्रमा मजबुद बनाउन तथा कृषकहरुले उत्पादन गरेको तरकारी सहज तरिकाले किसानलाई घाटा नहुने गरि राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी नयाँबजारमा तरकारी संकलन केन्द्र स्थापना गर्नुका साथै कृषि एम्बुलेन्स भित्राएको हो । तरकारी संकलन तथा बिक्री केन्द्रले कृषकहरु समेत खुसी भएका छन् । विहानै २÷३ बजे उठेर बजार–बजारमा तरकारी घुमाउनु पर्ने र लगानी अनुसारको आम्दानी नहुने समस्या हुँदै आएकोमा तरकारी संकलन केन्द्र स्थापना र कृषि एम्बुलेन्सले किसानहरुलाई राहत मिलेको उनीहरुको भनाई छ ।
बजार पेटीमा राखेर तरकारी बिक्री गर्दै आएका किसानहरुको तरकारी पालिकाले खरिद गरि नजिकको बजारमा र आवश्यताका आधारमा बाहिर जिल्ला पठाउने कार्यले साना तथा ठुला किसानलाई फाइदा हुनुका साथै बजार मुल्य समेत स्थीर रहने राप्ती गाउँपालिका पशु सेवा शाखा प्रमुख जिवराज पौडेलले जानकारी दिएका छन् । त्यस्तै उनले तरकारी संकलन तथा बिक्री केन्द्रको माध्यमले उत्पादनमा आधारित कृषि अनुदानमा समेत जोड्न सक्ने प्रमुख पौडेलले बताए ।
राप्ती गाउँपालिकामा तरकारी संकलन तथा बिक्री केन्द्र नहुँदा किसानहरुलाई बजारीकरणमा समस्या हुने गरेको जनगुनासोका आधारमा पालिकाले तरकारी संकलन तथा बिक्री केन्द्र स्थापना गर्नुका साथै कृषि एम्बुलेन्स खरिद गरेको कृषि विका शाखाकी प्रमुख सिमा भट्टले बताइन् । राप्ती गाउँपालिकाले जग्गादाता बिर्खबहादुर महरा सँग १५ वर्षका लागि लिजमा लिएको जग्गामा तरकारी संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ ।
८ लाख ५५ हजार ६ सय ७९ रूपैयाँ र स्वान संस्थाबाट २ लाख ६० हजार गरि कुल ११ लाख १५ हजार ६ सय ७९ रुपैयाँको लागतमा तरकारी संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । भने लुम्बिनी प्रदेशको १५ लाख र राप्ती गाउँपालिकाको ८ लाख ३० हजार गरि कुल २३ लाख ३० हजार रुपैयाँको लगानीमा कृषि एम्बुलेन्स खरिद गरिएको छ । १२ हजार देखि १५ हजार केजी सम्म दैनिक तरकारी संकलन गर्न सकिने क्षमता रहेको बताइएको छ । कृषकहरुलाई कृषिबाट आत्मनिर्भर बनाउन किसान दाजुभाई तथा दिदीबहिनीहरुलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यवसायीक बन्न आग्रह गरेका छन् ।
साँचिकै राप्ती गाउँपालिकाले जस्तै देशभरिका सवै पालिकाहरुले र प्रदेश तथा संघिय सरकारले समेत कृषि क्षेत्रको विकास र किसानहरुलाई प्रोत्साहन गर्न तरकारी बिक्री तथा संकलन केन्द्र, कृषि एम्बुलेन्स र समय समय सुपथ मुल्यमा मल बिउ र परामर्श दिन सक्ने हो भने अवश्य पनि कृषि क्षेत्रबाटै देशको अर्थतन्त्रमा सुधार आउने र देश आर्थिक रुपले बजबुद हुने देखिन्छ ।
पुर्व भाैतिक मन्त्री थारूद्वारा तरकारी संकलन तथा बिक्री केन्द्रको उद्घाटन
लुम्बिनी प्रदेशका पुर्व भाैतिक विकास मन्त्री इन्द्रजित थारूले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी नयाँबजारमा राप्ती तरकारी संकलन तथा बिक्री केन्द्रको उद्घाटन गरेका छन् । तरकारी संकलनको उद्घाटन गर्दै मन्त्री थारूले कृषिका लागि पहिलो काम सिचाई महत्त्वपूर्ण भएकोले त्यस तर्फ प्रदेश सरकारले ध्यान दिएको बताएका छन् ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, स्वान संस्थाका कार्यक्रम संयोजक रेमन्त चाैधरी, स्वच्छ व्यवसायी समुह नेपालका परियोजना व्यवस्थापक बासुदेव घिमिरे, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको स्वागत मन्तव्य तथा पशु शाखा प्रमुख जिवराज पाैडेलको विषय वस्तु प्रवेशबाट सुरू भएको कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख सिमा भट्टले गरेकी थिइन् ।