लुम्बिनी प्रदेशमा माघ ३ गते सभामुख र उपसभामुखको निर्वाचन हुने



लुम्बिनी प्रदेशमा माघ ३ गते सभामुख र उपसभामुखको निर्वाचन हुने

भालुवाङ २८ पुस । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकै दिन गरिने भएको छ। माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन्। सुरुमा सभामुखको निर्णय हुनेछ भने त्यसपछि उपसभामुखको निर्णय हुनेछ।

लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ। यहाँ एमालेले मुख्यमन्त्री पाइसकेको छ भने अब सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राप्रपाले पाउने छ। यद्यपि, सभामुख र उपसभामुखमा कसलाई अघि सार्ने भन्नेबारेमा माओवादी तथा राप्रपामा छलफल जारी छ। प्रदेश सभा सचिवालयले माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनको लागि निर्वाचित कार्यतालिका सार्वजनिक गरिएको छ। जेष्ठ सदस्य डिल्लीराज भुसालले निर्वाचनको मिति र समय निर्धारण गरेकाले प्रदेश सभा नियमावलीको नियम ७ को उपनियम (१) बमोजिम निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ।

माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका छ। यस्तै सोही दिन ५ः३० बजे सभामुख र उपसभामुख पदमा प्रस्तावित उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका छ। माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको लागि लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको बैठकमा क्रमशः सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भनी सदस्यहरुले प्रस्ताव गर्ने, समर्थक सदस्यहरुले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावहरुमाथि संक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे