मौसम सफा, अधिकतम तापक्रम लगातार बढ्दै, हावा चल्न थालेपछि वायु प्रदूषण पनि कम



मौसम सफा, अधिकतम तापक्रम लगातार बढ्दै, हावा चल्न थालेपछि वायु प्रदूषण पनि कम

काठमाण्डाै २५ पुस । देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन ।

वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताए । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा वायुमण्डलमा थुप्रिएको प्रदूषण पनि हट्न थालेको उनले जानकारी दिए ।

हावा चल्न थालेपछि प्रदूषण पनि कम हुन थालेको हो । दिउँसाे पारिलो घाम लाग्न थालेसँगै काठमाण्डौको अधिकतम तापक्रम क्रमिक रुपमा बढ्न थालेको छ । अस्ति २० डिग्री सेल्सियस रहेको काठमाण्डौको तापक्रम हिजो २१ डिग्री सेल्सियसमा पुगेको थियो । आज पनि पारिलो घाम लाग्ने भएकाले तापक्रम बढ्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै, तराईका जिल्लामा पनि मौसममा सुधार आएको छ । केही दिन अघि शीतलहर चलेको तराई मधेसका जिल्लामा अब घाम लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । बिहान हुस्सु कुहिरो लागे पनि दिउँसो हटेर घाम लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे