राजधानीको पूर्वाधार र पर्यटनको विकास



प्रदेशको राजधानी घुमफिर गर्न आउने पर्यटकहरुले कम्तीमा पनि आफ्नो घुमफिरको अवधि एक हप्ताको प्याकेज बनाउँदा राम्रो हुन्छ । भालुबाङ पुगेपछि पर्यटकहरुले घुमफिर गर्ने धेरै स्थलहरु रहेका छन् । आफ्नो चाहना अनुसार घुमफिर गर्दा मनोरञ्जन त छँदैछ घुमफिरको ज्ञानले जीवनमा धेरै परिवर्तन ल्याउँछ ।

मानिसले सधैंभरी खुशी खोजिरहेको हुन्छ । खुशी हुनकै लागि घुमफिर गर्न र रमाइलो गर्न खोज्छांै । पैसाले मात्र मानिसलाई खुशी दिदैन । त्यसैले त फुर्सदको बेला मानिसहरु घुमफिरमा निस्कन्छन् । घुमफिरले मानिसहरुलाई धेरै खुशी र सन्तुष्टि मिल्छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको काम अहिले दाङको देउखुरीबाट सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनमा आएपछि देउखुरीमा  काम काजले मात्र नभएर राजधानी घुमफिरको लागि पनि आजभोलि आन्तरिक पर्यटकहरुको चहल पहल बढेको छ ।

पर्यटन भनेकै नयाँ ठाउँमा घुमफिर गर्ने, प्रकृतिमा भएका बिभिन्न सम्पदाको अवलोकन गर्ने र विभिन्न जातिहरुको भाषा, संस्कृति अनेकौं सांस्कृति तथा धार्मिक सम्पदा र तीर्थस्थलहरु पर्दछन् । लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्थात राप्ती उपत्यका भौगोलिक, जैविक तथा सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यता भएको भूगोल हो । भालुबाङ क्षेत्रमा आन्तरिक पर्यटनको लागि पर्यटकीय सम्भावना बोकेका भर्जिन गन्तव्यहरु धेरै छन् । राजधानी राप्ती उपत्यकामा आएपछि पर्यटकहरुले महत्वपूर्ण स्थलहरुको संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन गर्न पाउँछन् । पर्यटनलाई खुला विश्वविद्यालय पनि भन्ने गरिन्छ । जुन कुराले पर्यटकहरुलाई सामाजिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको अध्यन गराउँछ । आजभोलि पर्यटनको क्षेत्र फराकिलो हँुदै गएको छ । आफ्नो गाउँ ठाउँ नजिक भएका डाँडाकाँडा, दह, ताल, पोखरी, र धार्मिक मठ मन्दिर त्यहीको बासिन्दाहरुलाई त्यति महत्व हुँदैन होला ! तर टाढाका मानिसहरुका लागि नयाँ बन्छ र त्यस ठाउँमा पुग्ने उत्सुकता हुन्छ ।

लुम्बिनी प्रदेशमा नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रुपन्देही, कपिलबस्तु, रोल्पा, अर्घाखाँची, गुल्मी, रुकुमपूर्व, पाल्पा, प्युठान, दाङ, बाँके, बर्दिया गरी १२ जिल्लाहरु पर्दछन् । पहाडमा ६ र तराईमा ६ जिल्ला रहेको लुम्बिनी प्रदेशमा उत्तरमा पूथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म र पूर्वी पाल्पाको रामपुरदेखि पश्चिम बर्दियाको राजापुर सम्मको भूगोल पर्दछ । आजभोलि सबै जिल्ला र गाउँका मानिसहरुलाई आफ्नो स्थायी राजधानी राप्ती उपत्यका हेर्न भालुबाङमा आउने क्रम बढ्दो छ । प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीको दुबैतिर फैलिएको छ । राप्ती नदी वारिपारी रहेको राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका साथै अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्रमा राजधानी भनिएकाले नयाँ शहरको पूर्वाधार कसरी बन्ला भन्ने कुरा सबैको चासो भएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने भालुबाङ बजार किनारमा बग्ने राप्ती नदी, महाभारत र चुरेश्रृंखलाले दिएको रमणीय वातावराण मात्र होइन रोल्पा, प्युठान र पश्चिमी अर्घाखाँची जिल्लाको ब्यापारिक केन्द्र पनि बनेको छ भालुबाङ ।

प्रदेशको राजधानी घुमफिर गर्न आउने पर्यटकहरुले कम्तीमा पनि आफ्नो घुमफिरको अवधि एक हप्ताको प्याकेज बनाउँदा राम्रो हुन्छ । भालुबाङ पुगेपछि पर्यटकहरुले घुमफिर गर्ने धेरै स्थलहरु रहेका छन् । आफ्नो चाहना अनुसार घुमफिर गर्दा मनोरञ्जन त छँदैछ घुमफिरको ज्ञानले जीवनमा धेरै परिवर्तन ल्याउँछ । भालुबाङ पुगेपछि चुरे श्रृंखलामा पर्ने देवीकोट पुग्नैपर्दछ । देवीकोट ऐतिहासिक स्थल मात्र होइन प्राकृतिक भ्यूटावर पनि हो । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमश्रृंखला, महाभारत श्रृंखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भूभाग र भारतको सीमा क्षेत्रको भूगोल समेत अवलोकन गर्न सकिन्छ । देवीकोटमा ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेबास भन्ने गाउँ छ यस घोरेबासमा भुरेटाकुरे राजाहरुको समयमा अड्डा अदालत र गोश्वारा कार्यालय समेत रहेको थियो । मन्दिरको उत्तरतर्फ छाउनटोला भन्ने गाउँ छ । जुन समयमा सेनाको छाउनी रहेको आँकलन छ र अहिले बोल्ने क्रममा छाउनीबाट छाउनटोला नामाकरण भएको छ । राजमार्ग मौरीघाटदेखि उत्तर ८ किलो मिटरको यात्रामा स्कार्पियो, बलेरो जस्ता साना सवारी साधन र मोटरसाइकलबाट जाँदा राम्रो हुन्छ ।

गोबडिया गाउँमा ऐतिहासिक सिद्ध बाघनाथ बाबा जंगलकुटी रहेको छ । करिव दुईसय वर्षको इतिहास रहेको जंगलकुटी प्रकृतिप्रेमी पर्यटकहरुको लागि अध्यन, अनुगमन र दृष्यावलोकन गर्न राम्रो गन्तब्य मानिन्छ । बुटवलको चारपाला कुटीबाट वि.स.१८७९ मा जंगलकुटीमा आएर बस्नुभएको सिद्ध बाघनाथ बाबा जंगलबीच रहेको भुवनेश्वरनाथ कुटीमा एक्लै बस्ने र गाउँघरमा डुल्दा बाघमा चढेर घुम्नुहुन्थो । बाघमा चढ्ने हुँदा बाबाको नाम पनि बाघनाथ राखिएको विश्वास गरिन्छ । कालाकाटेबाट १६ कि.मि.पश्चिम गढवा–कालाकाटे सडकमा पर्ने गोबरडिया गाउँदेखि ७ कि.मि.दक्षिण चुरे पहाडको काखमा जंगलकुटी रहेको छ । जंगलकुटी दक्षिण र पूर्वी भूभागका चुरे श्रृंखलाको पहाड प्राचीन सभ्यताको धरोहर भूमि मानिन्छ । यस क्षेत्रमा कपिल महर्षिको तपोभूमि मानिन्छ । जुन ठाउँ शिवगढी अहिले कपिलवस्तु जिल्लामा पर्दछ । राजमार्ग धानखोलाबाट ३ घण्टाको उकालो पैदल यात्रामा पुगिने शिवगढी मन्दिरमा प्रत्येक शिवरात्रिमा ठूलो मेला लाग्ने गर्दछ । कपिलवस्तु र दाङ जिल्लाको सिमावर्ती क्षेत्रहरुको सबै भन्दा अग्लो पहाडमा रहेको शिवगढीबाट हिमाल, तराई, चुरे पहाडका धेरै श्रृंखला, राप्ती उपत्यका र प्युठान, अर्घाखाँची जिल्लाको धेरै डाँडाकाँडा अवलोकन गर्न सकिन्छ ।

भालुबाङ वरपरकाका ग्रामीण बस्तीहरु राप्ती गाउँपालिका पर्ने चुरे श्रृंखलाका प्राकृतिक डाँडाकाँडाका रमण्ीाय मगरबस्ती देवीकोट, रुपाकोट, करङ्गेकोट, थकरीकोट भट्टीसोता जस्ता रमणीय कोट र ऐतिहासिक स्थलहरु रहेका छन् । ती ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरु संरक्षणको अभाव छ भन्दा पनि हुन्छ । अब पर्यटनको विकास गर्न सबै ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुको खोज र प्रचारप्रसार गर्नुपर्दछ । अर्कोतर्फ त्यस्ता पर्यटकीय भर्जिन गन्तव्यहरुमा आवश्यक पूर्वाधार र सूचना प्रविधिको विकास हुनुपर्दछ । अहिलेसम्म पर्यटकहरुलाई आकर्षण गर्ने प्राकृतिक सम्पदामा राज्यले खर्च गर्नु परेको छैन । तर अब प्रदेश सरकारले पर्यटनको विकास गर्न ती सम्पदाहरुलाई संरक्षण गर्दै जानुपर्दछ । यो बाहेक अब आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्न पार्क, फनपार्क जस्ता स्थलहरुको पनि विकास गर्दै जानु पर्दछ । पुर्वाधारको विकास गर्ने हो भने नयाँ गन्तव्यको पर्खाइमा बसेका आन्तरिक पर्यटक घुमफिर गर्न उत्साहित हुन्छन्् ।

देवीकोट र शिवगढीमा केबुलकार, जंगलकुटी, कुलपानी हरित पार्क, राप्ती नदीको अहिलेसम्मको दोस्रो लामो महदेवाको पुल वरपर, जखेरा र रिहारमा फनपार्क, चाइल्ड पार्क जस्ता पूर्वाधार निर्माण हुनु पर्दछ । यो बाहेक रेलवे स्टेशन, बसपार्क कहाँ–कहाँ बनाउने ? विश्व विद्यालय कहाँ बनाउने ? सुविधाजनक ठूला अस्पताल कहाँ बनाउने जस्ता योजना समेत हुनुपर्दछ । राजधानीको योजनामा राप्ती उपत्यका भित्र रहेका प्राकृतिक एवं धार्मिक सम्पदाहरुलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्दछ । राप्ती उपत्यकामा पर्ने जखेराताल, सुनछहरी, खौराबाबा, मयुर ताल, सोमैथान मन्दिर, कन्दरा मन्दिर, देवीकोट, कोइलाबासको रामजानकी मन्दिर, कोटै मन्दिर, बगारबाबा रिहारधाम, राप्ती नदीको भीमबाँध थारु संस्कृतिको डुमडुमा मन्दिर, बाघनाथ बाबा जंगलकुटीलगायतका स्थलहरु देउखुरीका धरोहर हुन् । रिहार धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । ऐतिहासिक र धार्मिक महत्वबाट पहिचान भएको जंगलकुटीको महत्व छुट्टै रहेको छ । यी सबै धार्मिक सम्पदालाई संरक्षण र पर्यटनसँग जोडेर विकास गर्नका लागि अब प्रदेश सरकारसँग योजनामा हुनुपर्दछ ।

प्रदेश सरकारको योजनामा भालुबाङको लापे, भालुबाङ र बडहरालाई रिङ रोडको विकास गर्नुपर्दछ । त्यसको लागि भालुबाङको माथिल्लो बजार र बडेरामा मोटरेबल पुल निर्माण हुनुपर्दछ । नयाँ शहरको लागि लाखौं जनसंख्यालाई पुग्ने खानेपानीको योजना पनि योजनामा हुनुपर्दछ । राजधानीको लागि नयाँ शहरको विकास गर्दा राप्ती उपत्यकामा खेतीयोग्य जमिनलाई चक्लाबन्दी गराउनुपर्दछ । अबको बस्ती विकास उपत्यकाको समतल क्षेत्रमा भन्दा चुरे पहाडको क्षेत्रमा विकास गर्दा राम्रो हुन्छ । देवीकोट, शीतलपुर, रातामाटा र सोरेटी जस्ता गाउँमा सडक खानेपानी र बिजुलीको पूर्वाधारको विकास गरी बस्तीको विकास भयो भने खेतीयोग्य जमिन जोगिन्छ । कालाकाटे–गढवा–राजपुर हँुदै बाँके जोड्ने हुलाकी राजमार्गको स्तरोन्नति एवं कालोपत्रे गर्नुपर्दछ । यसैगरी सिमामा २६ स्थानमा नाका बनेका छन् । कोइलाबास, बेला र राजपुरमा पर्ने भौवा, गजमरी, भैंसाही, सुनपथरी, भित्रीसुन पथरी, खिर्की, डगमरा, गनदैला, अडबरवा, खङग्रा, फोहरी, पटुली, सिरिया, गुरुङ, मनौरा, मुसिनाका, गौरिया जस्ता नामले नाकामा बस्ती बसेको छ । आफूखुशी जमिनको कुनै प्रमाण नलिएर यसरी बसोबास गर्ने मानिसहरुको संख्या प्रत्येक वर्ष बृद्धि हँुदै गएको छ । कोइलावासको भंसार प्रदेशस्तरीय हुनुपर्दछ । कोइलावासलाई अब नयाँ शहरको अवधारणामा विकास गर्नुपर्दछ । राप्ती उपत्यकाको विकासका लागि सीमा अर्थात नाका क्षेत्रहरुमा सडक निर्माण हुनुपर्दछ ।

प्रदेशको राजधानी कस्तो हुनुपर्दछ ? कसरी नयाँ शहर बनाउने ? यी कुरा अहिले प्रदेश राजधानीसँंग जोडिएका छन् । नयाँ, अत्याधुनिक, स्मार्ट र सुन्दर हरित शहरको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको छ । शहरमा अन्य क्षेत्रहरु जस्तै व्यापारिक भवन, आवासीय भवन, पार्क, चौडा सडकहरु, राप्ती नदीमा नमूना पुल र नदीको दुबै तर्फ हरित बेल्ट रहने योजना रहेको छ । नयाँ शहर बसाउँदा वातावरणलाई ध्यानमा राख्नपर्ने हुन्छ । वातावरणलाई ध्यानमा राख्दै हरियो शहरको रुपमा विकास गर्न पहाड र पानीलाई जोगाइ राखेर पर्यटनसँग जोड्नपर्दछ । राजधानीलाई नयाँ, ताजा, सिर्जनात्मक बनाउदा केही समय लाग्न सक्छ । नयाँ शहरको विकास गर्न भविष्यको सम्भावना हेरेर पूर्वाधार बनाउनु पर्दछ । पूर्वाधार निर्माण गर्दा सबै कुरा आधुनिक, सुन्दर र कलात्मक बनाउनुपर्दछ । तर यसको संरचना निर्माण गर्न खर्चिलो र समय लाग्ने हुन्छ । राम्रो काम गर्न समय र खर्च लाग्ने भए पनि केही बिग्रदैन । नयाँ शहरले दिने आर्थिक तथा सामाजिक लाभ यसमा लाग्ने खर्चभन्दा निकै धेरै हुन्छ । राजधानीको नयाँ शहर समान पहुँच हुनुपर्दछ । जस्तो नयाँ शहरले जातीय, धार्मिक, भाषिक र सांस्कृतिक समानताको प्रतिनिधित्व गर्ने खालको संरचना हुनुपर्दछ । कुनै एकल जाति, धर्म, सम्प्रदाय भएको शहर राजधानी बन्नुहँुदैन ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका अन्न भण्डार हो । राप्ती नदीले चिरेर गएको राप्ती उपत्यकाभित्र धानखोलादेखि शिवखोलासम्म राजमार्गको ७७ कि.मि.सडक पर्दछ । रोल्पा जिल्लाको महाभारत पर्वतबाट उद्गम भएको माडीखोला र प्युठान जिल्लाको गौमुखी भन्ने ठाउँबाट उद्गम भएको झिमरुक खोला ऐरावती भन्ने ठाउँमा मिसिएपछि राप्ती नदीको नामाकरण हुन्छ । राप्ती नदीको कुल लम्बाई बाँकेको भारतीय सिमासम्म २५७ कि.मि.रहेको छ । राप्ती उपत्यकाको लागि राप्ती नदी बरदान र बिनाशकारी दुबै बनेको छ । राप्ती नदीले प्रत्येक वर्ष धेरै धनजनको क्षति पु¥याउँदै आएको छ । अब बन्न लागेको नयाँ शहरको योजनामा केवल भालुबाङ वरपर मात्र होइन समग्र राप्ती उपत्यकाको विकासको लागि योजना तयार गर्नुपर्दछ । विकासका लागि प्रमुख कुरा भनेको जनताको जीवनस्तरमा सुधार, रोजगारीको सिर्जना, उद्योग तथा कलकारखानाको विकास, साधन र स्रोतको उपयोग तथा जीवन उपयोगी सीपमूलक शिक्षाको विकास हुनु पर्दछ । ग्रामीण क्षेत्रमा रहेका सीमान्तकृत, पिछडिएका वर्ग, महिला, आदिवासी, दलित, जनजाति, तथा गरिब वर्गको उत्थान हुने खालको विकास भयो भने बल्ल आधुनिक शहरको विकास हुन्छ ।

राजधानीको लागि नयाँ शहरको योजनामा राप्ती नदीको तटबन्धन हुनुपर्दछ । नदीलाई ट्रयाकमा लैजाने बित्तिकै राप्ती नदी वरपर हजारौं हेक्टर जमिन नयाँ शहर बन्नको लागि खाली हुन्छ । नदीलाई ट्रयाकमा ल्याउँदा नदीको दुबै किनारमा सडक हुन्छ । सडक किनारमा बाह्रै महिना हरियाली हुने वृक्षारोपण, भोलिको लागि हवाई मैदानदेखि खेलकुद, अस्पताल, ठूला फनपार्क र यस्तै नयाँ शहरमा निर्माण हुने सरकारी भवन अपांगमैत्री र आवश्यक पूर्वाधार निर्माण गर्न सकिन्छ । नदी तटबन्धन हुनासाथ राप्ती नदीमा बाह्रै महिना बोट सञ्चालनमा ल्याउन सकिन्छ । रिहारदेखि भालुबाङसम्म बोटिङमा रमाउने पर्यटकहरुबाट दिगो आर्थिक स्रोत बन्छ । विकास भनेको परिवर्तन हो । नयाँ शहरको संरचना बनाउँदा सडक फराकिला हुनुपर्दछ । अब बन्ने सडक ८ लेन, ६ लेन, ४ लेन र २ लेन को अवधारणा हुनुपर्दछ । सडक निर्माणको समयमा यी कुरा सोचिएन भने यसले भोलिका दिनमा विकासको लागि सडकनै बाधक बन्छ । यसरी बन्ने सडकमा पार्किङस्थल, शौचालय, खानेपानी जस्ता आधारभुत सरचना जोडिनुपर्दछ ।

-नयाँ युगबाेधबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे