धमाधम सिंगारिँदै राजधानी, ठाउँ-ठाउँमा स्वागत गेट र प्रतिक्षालय रंगरोगन (फाेटाेफिचर सहित)



धमाधम सिंगारिँदै राजधानी, ठाउँ-ठाउँमा स्वागत गेट र प्रतिक्षालय रंगरोगन (फाेटाेफिचर सहित)

भालुवाङ २५ मंसिर । मर्मत सम्भारको अभावमा थिए, राजमार्ग छेउछाउका प्रतीक्षालय । राजधानी स्थापना र कार्यान्वयन शुरु भएपछि ती प्रतीक्षालयले नयाँ जीवन पाए । अर्थात सरसफाइ गरेर रंगरोगन गर्न थालियो ।

पूर्वमा धानखोलादेखि पश्चिममा शिवखोलासम्म दर्जनौं बस विसौनी छन् । अहिले पूर्वमा धानखोलादेखि पश्चिममा सिसहनियाँ सम्मका प्रतीक्षालयमा पहेँलो रङ लगाउने काम भएको छ ।

उद्योग वाणिज्य संघको अगुवाइमा प्रतीक्षालय तथा सार्वजनिक संरचना रंगरोगन गर्ने काम भइरहेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए ।

राप्ती उद्योग वाणिज्य संघको क्षेत्रभित्र १४ वटा बस विसौनी र सिसहनियाँ उद्योग वाणिज्य संघको क्षेत्रमा आठवटा छन् । ‘राजधानीको स्वागत गर्न सरसफाइ र सजावटको काम भइरहेको छ’ अध्यक्ष खड्काले भने । ‘ उनले जनस्तरबाट राजधानीको स्वागतको तयारी अघि बढेको बताए ।’

भालुबाङ बजार, लालमटिया, मसुरिया, मौरीघाट, सिसहनियाँलगायतका स्थानमा रहेका बस बिसौनी तथा प्रतीक्षालयमा नयाँ रंग लगाइएको छ । राजमार्ग किनारमा बढेका झाडीसमेत सफाइ गर्न थालिएको छ ।

बजार क्षेत्र तथा मूल सडकहरुमा पर्ने चोकहरुमा स्वागतद्वार निर्माण, प्रतीक्षालय रंगरोगन र सरसफाइ गर्ने काम धमाधम भइरहेको हो । राजधानीको मुख्य द्वारको रुपमा रहेको भालुबाङ बजार स्थित भालुबाङको क्यारी रंगरोहन तथा सरसफाइ गरिएको छ ।

राजधानी परिसरभित्र सरफाइको काम सकिएको र बाँकी बाहिरी क्षेत्रमा पनि काम चलिरहेको सरसफाइ तथा सौन्दर्यकरण उपसमितिका संयोजक श्यामेश चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे