राजधानी आएपछि विकास सँगै रोजगारी सृजना हुने स्थानीयको आशा



राजधानी आएपछि विकास सँगै रोजगारी सृजना हुने स्थानीयको आशा

भालुवाङ २२ मंसिर । दाङको राप्ती गाउँपालिका- ३ का स्थानीय ६४ वर्षीय मोहनराम चौधरी मंगलबार दिउँसो लुम्बिनी प्रदेशको स्थायी राजधानीको कार्यालय परिसर भित्र झारपात र घाँस काट्ने काम गरिरहेका थिए। उनीसहित उनको गाउँका धेरै मानिसले यहाँ एक सातादेखि सरसफाईको काम गर्दै आएका छन्।

 

प्रदेश राजधानी कार्यान्वयको अन्तिम चरणमा पुगेको देखेर चौधरी औधी खुसी छन्। राजधानीको केन्द्र आफ्नै ठाउँमा बनेपछि भविश्यमा छोरा–छोरी र नाति नतिनाले रोजगारी पाउलान् भन्ने उनलाई आशा छ।

वषौंदेखि राप्तीको बगरमा २५० घर परिवारले प्रति परिवार पाँच कठ्ठाको दरले आपसमा बाँडेर भोगचलन गर्दै आएका छन्। अब राजधानी आएपछि त्यो ठाउँमा सरकारले एयरपोर्ट बनाउने हल्लापछि उनलाई चिन्ता थपिएको छ।

 

‘एयरपोर्ट बन्ने कुराले कोही खुसी छन् र कोही दुःखी,’ चौधरीले भने, ‘जग्गा नभएकाले हाम्रो छाकबास नै खोसिने भयो भन्ने कुरा गर्छन् धेरै जग्गा भएकाहरुले एयरपोर्ट आयो भने हाम्रो जग्गा सरकारले किनेपछि पैंसा बैंकमा राखेर आनन्दले खान्छौं भन्नेहरू पनि छन्।’

स्थानीय ३५ वर्षीया रीता चौधरी पनि नव निर्मित प्रदेश सभा भवन परिषदमा घाँस काट्दै थिइन्। उनी पनि यहाँ ७ दिनदेखि निरन्तर सरसफाइको काममा खटिँदै आएकी छन्।

दैनिक कति ज्याला पाइन्छ भन्ने थाहा नभए पनि गाउँकै वडा सदस्य सन्तराम चौधरीको आग्रहमा आफूसहित गाउँका मानिसहरू सरसफाइमा खटिएको उनले बताइन्। राजधानी कार्यान्वयन अन्तिम चरणमा पुगेको देखेर उनी पनि उत्तिकै खुसी छन्।

‘अब घर नजिकमै स्तरीय सुविधा पाइन्छ भन्ने आशा छ,’ उनले थपिन्, ‘अब राम्रा बाटोहरू बन्लान्, राम्रा स्कूल निर्माण होलान् र रोजगारीका अवसर श्रृजना होलान् भन्ने विश्वास छ।’

प्रदेश राजधानीको मुख्यालयमै भेटिएका नागरिक समाज दाङका उपसंयोजक तथा लमही नगरपालिका ३ का स्थानीय निमबहादुर थापाले लामो प्रतिक्षापछि मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय आउनुलाई निकै सकारात्मक तथा स्वागतयोग्य काम भएको बताए।

 

विकासको दृष्टिकोणले पछाडि पारिएको दाङको देउखुरी क्षेत्र अब राजधानीको केन्द्र बनेपछि स्वभाविक रूपमा विकासले तीब्रता पाउने हुँदा स्थानीय खुसी भएको उनले बताए।

स्थायी राजधानी परिसरमै फेला परेका राप्ती गाउँपालिका-४ मौरीघाटका २९ वर्षीय शरद गिरी पनि मुख्यमन्त्री र मुख्यसचिवको कार्यालय बुटवलबाट दाङ ल्याइएकोमा खुसी थिए।

‘यो भर्जिन ल्याण्डमा अब शिक्षा, स्वास्थ्यदेखि सडक, अस्पताल सबैखाले सेवा सुविधा थपिन्छन् भन्ने आशा पलाएको छ,’ उनले भने, ‘यहाँ नयाँ शहर बसाल्ने कुरा चर्चामा छ त्यसले यो ठाउँको विकास पक्कै हुनेछ र त्यसले धेरै रोजगारीका अवसर श्रृजना गर्ने विश्वास छ।’

गढवा गाउँपालिका-५ का ४० वर्षीय ओमप्रकाश चौधरी पनि स्थायी राजधानी परिसरमा आएका थिए। घर नजिक राजधानी आएपछि उनी पनि खुसीले गदगद् छन्। ‘बुटवल धेरै टाढा थियो, आउन जान मुस्किल थियो,’ उनले अगाडि भने, ‘घर नजिकै सरकारी सेवा सुविधा आउनु हाम्रो लागि सौभाग्यको कुरा हो।’

 

भविष्यमा अब यस क्षेत्रमा यातायात सेवा सहज हुँदै जाने, बजारीकरण हुने, ब्यापार ब्यवसाय फष्टाउने विश्वास उनले ब्यक्त गरे। ‘भविश्यमा विकास हुँदै गए यहाँका सर्वसाधारणले बुटवल वा नेपालगंज धाउनुपर्ने छैन,’ उनले भने, ‘स्थानीयको यातायात खर्च बच्ने भयो, पैदल हिँडेर नजिकै सेवा पाउन सक्ने भए र काम नुहँदा उतै बास बस्नुपर्ने बाध्यता भविश्यमा रहनेछैन।’

स्थायी राजधानी प्रदेशद्धारको झन्डै ५ मिटर नजिक चिया पसलमा चिया पसलमा राप्ती गाउँपालिका – ७ मौरियाका ६७ वर्षीय प्रेमनाथ केसी केही मानिससँग गफिँदै थिए।

मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट दाङ सारिएको सुनेपछि उनी खुसी मनाउन त्यहाँ आएका रहेछन्। पूर्व शिक्षकसमेत रहेका केसीले समथर भूभाग भए पनि पछाडि पारिएको देउखुरी उपत्यकाको विकासले अब फड्को मार्ने विश्वास उनले ब्यक्त गरे।

राप्ती– ३ का रमेश अधिकारीको घर राजधानीको केन्द्रदेखि एक सय मिटरको दुरीमा छ । पूर्व शिक्षक उनी पनि चिया पसलमै थिए। ‘राजधानी आयो भन्ने सुनेपछि कता आयो र कस्तो आयो भनेर हेर्न आएको हुँ,’ उनले भने, ‘आज यहाँ धेरै मोटर गाडी ओहोर दोहोर गरिरहेका रहेछन् रमाइलो रहेछ र भित्र पनि धेरै मानिस देखिन्छन् चहल पहल बढेको देखेँ।’

राजधानी नजिक आएकोमा उनी पनि उत्तिकै खुसी थिए। तर, उनी घर नजिकको प्राविधिक शिक्षालय टाढा स्थान्तरण गरिएकोमा दुखि देखिए। ‘यहाँ स्थापित भइसकेको शिक्षालय अन्यत्र सार्नु हुँदैन थियो सस्तै ठाउँहरु थिए राजधानी पनि यहीँ आसपासमै राख्न मिल्थ्यो,’ उनले भने, ‘पश्चिमतर्फ स्कूल र पूर्व तर्फ राजधानी बनाउनका लागि प्रसस्तै जग्गा यहाँ हुँदाहुँदै स्कूल सार्नु राम्रो भएन।’

 

स्थानीय कृष्णप्रसाद पौडेल राजधानी घर नजिक आएकोमा खुसी छन्। २०७७ असोज २० गते प्रदेशसभाको बहुमतले स्थायी राजधानीको टुंगो लगाउनु पूर्वनै जग्गा किनबेच रोक्का गरेकोमा उनी बेखुसी देखिए।

जग्गाको किनबेच बन्द हुँदा बैंकमा धरौटी राखेर ऋण कर्जा निकाली कुनै पनि कारोआर गर्न नपाएकोमा चिन्तित थिए। दुःख बिरामी पर्दा जग्गा बेचेर गरिबले उपचार गर्ने हो तर त्यो बन्द हुँदा अफ्ठ्यारो परेको उनले उनले तर्क गरे।

राजपुर गाउँपालिका – २ की सीताकुमारी यादवले बिगत चार वर्षदेखि हाल प्रदेशको मुख्यालय आउन थालेको सडकमै किराना पसल गर्दै आएकी छन् । राजधानी आएपछि थप चहल पहल बढेको र त्यसले ब्यापार पनि बढ्ने हुँदा खुसी लागेको बताइन्।

प्यूठानको बागदुलाकी सीता बोहोरा भण्डारी श्रीमानसँगै राप्ती शिक्षालयमा बस्दै आए पनि अब दुई चार दिनमै ठाउँ छोडेर जानुपर्ने अवस्था आएकोले केही नरमाइलो लागेको बताइन्।

‘श्रीमान शिक्षक हुनुहुन्छ र अब जहाँ शिक्षालय सर्‍यो त्यहीँ जानुपर्ने अवस्था सृजना भयो,’ उनले भनिन्। राजधानी दाङमा आउनु प्यूठानबासीका लागि धेरै नै खुसीको कुरा भएको उनले बताइन्।

राप्ती गाउँपालिका-३ कै ६२ वर्षीय वसन्तकुमार बेलबासे पूर्वपश्चिम राजमार्गमा साइकल चलाउँदै बेलुकीपख तरकारी किन्न निस्किए।

 

‘यहाँका सबैले राजधानी आयो राम्रो भयो भन्छन्, तर घर नफालोस् भन्छन्,’ उनले अगाडि भने, ‘यहाँ सबैले राजधानीको नाममा कसैका घर नफालिउन् र प्रसस्तै खाली जग्गा छ त्यसमै राजधानीका लागि भवनहरु बनाउनुपर्छ।’

राजधानी बस्ने नाममा जग्गा अधिग्रहण गरि सर्वसाधारणलाई अन्यत्र लखेट्न नहुने उनले तर्क गरे। राजधानी आएपछि अब विकासले गति लिने आशा उनले गरे।

-सेताेपाटीबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे