दाङ क्षेत्र नम्बर १ मा तीन सहकर्मी तीनतिर, चुनाबी माहोल आ—आफ्नो पक्षमा रहेको दाबी



दाङ क्षेत्र नम्बर १ मा तीन सहकर्मी तीनतिर, चुनाबी माहोल आ—आफ्नो पक्षमा रहेको दाबी

देउखुरी २७ असोज  । दाङ क्षेत्र नम्बर १ मा पूर्व एमाले र एमालेका उम्मेदवारहरु यस्तो मोडमा आएका छन्, जहाँ उनीहरुलाई आफ्नै पूर्व सहकर्मीसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्नेछ।

गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणी चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी चुनावी मैदानमा उत्रँदा उहाँहरु एकले अर्कोलाई हराउनु अवस्था आएकाे हाे।

मंसिर ४ गते हुने आम निर्वाचनमा भिड्न लागेका यी तीन उम्मेदवार नेकपा एमालेका पूर्व सहकर्मी हुनुहुन्छ। एमालेमा भएको पार्टी विभाजन र असन्तुष्टिका कारण यी तीन उम्मेदवार चुनावमा एकअर्कालाई हराउन मैदानमा उत्रिनुपर्ने अवस्था आएको छ।

पूर्व तीन सहकर्मीहरु र थारु समुदायबाटै प्रतिनिधित्व हुने गरी उहाँहरु चुनावी मैदानमा उत्रिएपछि क्षेत्र नम्बर १ को चुनावी रौनक पनि बढेको छ। तर चुनावमा सहकर्मीसँग भिड्नुपर्ने भएपछि यी उम्मेदवार खुसी छैनन्।

एमालेबाट उम्मेदवार बनेकी शान्ताले आफ्नै पूर्व सहकर्मीसँग प्रतिस्पर्धा गर्नुपर्दा दुःख लागेको बताएकी छिन्। ‘हिजो आफूसँगै काम गरेका नेता साथीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ’, उनले भनिन्, ‘त्यसमा आफूले पनि मेहनत गरेर बनेका आफूजस्तै साथीहरू अरू कसैको निर्देशनमा चलिरहेका छन् भन्दा दुःख लाग्छ।’

शान्ता र मेटमणी चौधरी एउटै पृष्ठभूमि अर्थात थारु समुदायबाट आएका नेता हुन्। उनीहरु पार्टीको मात्र होइन, थारु समुदायको आन्दोलनमा पनि सँगसँगै सहकार्य गरेका नेता हुन् । तर पार्टी फुटका कारण दुवैजना प्रतिस्पर्धीका रुपमा उभिन पुगेका छन्।

एमालेमै हुँदा शान्ता र गंगा एकअर्कालाई दिदीबहिनीकै व्यवहार देखाउने गर्थे। केही समयअघि गंगा चौधरीले नै सामाजिक सञ्जाल फेसबुकमा शान्तासँग अंगमाल गर्दै गरेको फोटो राखेकी थिइन् ।

जसमा उनले आफूहरु दुई बहिनीमध्ये जसलाई टिकट दिएपनि फरक नपर्ने भन्दै क्याप्सनसमेत लेखेकी थिइन् । तर उनै गंगााले आफूलाई टिकट नदिएर शान्तालाई दिएपछि विद्रोह गर्दै पार्टी परित्याग गरिन् र अर्को दलबाट उम्मेदवारी दर्ता गरिन् गंगाले शान्तासँग रोखेको त्यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

काे बन्ला त दाङ क्षेत्र नम्बर १ काे सा‌सद ?

पूर्व तीन सहकर्मी एकले अर्कोलाई हराउन चुनावी मैदानमा उत्रिएपछि अहिले क्षेत्र नम्बर १ बाट कसले बाजी मार्ला भन्ने अड्कलबाजी हुन थालेको छ। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका मेटमणीलाई माओवादी, कांग्रेस र जनमोर्चा लगायतका पाँच दलको साथ छ भने एमालेकी शान्ता एक्लै होमिएकी छिन्।

गंगा भर्खरै निर्वाचन आयोगमा दर्ता भएको हाम्रो नेपाली पार्टीबाट चुनावी मैदानमा छिन् । पार्टीगत रुपमा हेर्ने हो भने संगठन बलियो भएको एमालेकी शान्तालाई चुनाव जित्न कठिन नहुने देखिन्छ। नेकपा एस र नेपाली पार्टीको संगठन कमजोर छ। जसले गर्दा मेटमणि र गंगालाई चुनावी जित्न सहज देखिँदैन।

तर क्षेत्र नं १ मेटमणि चौधरीको निर्वाचन क्षेत्र हो। उनी यही क्षेत्रमा जन्मनुका साथै हुर्किएर अघिल्लो २०७४ को निर्वाचनमा एमालेबाट विजयी भएका थिए। आफ्नै निर्वाचन क्षेत्रमा भएकाले मेटमणि पनि कमजोर देखिदैनन् । साथै उनलाई गठबन्धन दलहरुको साथ छ। काँग्रेसको बलियो पकेट भएको क्षेत्र भएकाले पनि उनलाई चुनाव जित्न थप सहज हुने आँकलन गरिएको छ।

यस्तै शान्ता क्षेत्र नम्बर १ का लागि नयाँ पनि छिन्। उनको निर्वाचन क्षेत्र नम्बर २ हो। यही कारण गंगाले शान्तालाई टुरिष्ट उम्मेदवारलाई टिकट दिएको भन्दै आरोपसमेत लगाएकी थिइन् । हाल गंगाको पनि यो निर्वाचन क्षेत्र हो। शान्ताभन्दा गंगा बढी क्षेत्र नम्बर १ का मतदातासँग भिजेको जानकार दाबी गर्छन्।

उसो त दाङ र देउखुरीबीच विगतदेखि नै भुगोलको केही मतभेद रहँदै आएको छ। देउखुरी क्षेत्रले आफ्नै भूगोलको उम्मेदवार खोजेमा शान्तालाई अप्ठ्यारो पर्न सक्ने बताउँछन्, नागरिक समाज दाङ देउखुरीका अध्यक्ष निमबहादुर थापा। ‘देउखुरीमा भूगोलको सेन्टीमेन्ट छ’ थापा भने, ‘यसले शान्ताको केही मत काट्ने सक्ने देखिन्छ।’ मेटमणि सोही क्षेत्रका उम्मेदवार भएकाले पनि उनलाई भूगोलको सेन्टीमेन्ट रहने उनले बताए ।

तर मेटमणिलाई पनि चुनाव भनेजस्तो सजिलो छैन। उनको यस क्षेत्रमा संगठन कमजोर छ र जसका कारण नेकपा एसले स्थानीय तहको निर्वाचनमा भनेको जस्तो उपलब्धि हासिल गर्न सकेन। देउखुरी क्षेत्रमा नेकपा एसले १ जना वडाध्यक्ष र केही वडा सदस्यहरु जितेर १४५९ मत मात्र ल्याएको छ।

नागरिक समाज दाङ देउखुरीका संयोजक थापाले गठबन्धनमा इमान्दारिता भएमा मेटमणिलाई चुनाव जित्न सहज हुने बताउँछन् । तर गठबन्धनका दलहरुबीच अन्तरघात भएमा भने त्यो फाइदा शान्तालाई हुने थापा अर्थ्याए।

गंगा भने संगठन नै नभएको नयाँ दलबाट निर्वाचनमा उठेकाले निर्वाचन जित्ने सम्भावना निकै न्यून भएको थापाले बताए। तर गंगा पनि पूर्व एमाले र चौधरी समुदायको भएकाले मेटमणी र शान्ताको मत काट्न सक्ने थापाको आँकलन छ।

यस्तो छ निर्वाचन अंक गणित :

क्षेत्र नम्बर १ मा लमही नगरपालिका, गढवा, राजपुर र राप्ती गरी चार स्थानीय तह छन्। वैशाख ३० गतेको स्थानीय तहको चुनावअनुसार क्षेत्र नम्बर १ मा कांग्रेस र माओवादी बलियो देखिन्छ। यहाँ माओवादी र कांग्रेसले २–२ वटा पालिका जितेका छन्। एमालले कुनै पनि पालिका जितेको छैन।

स्थानीय तहको मतलाई आधार मान्ने हो भने पनि क्षेत्र नं। १ मा एमाले कमजोर देखिन्छ। ०७४ सालको चुनावमा पालिका जितेको एमालले पार्टी विभाजन भएका कारण अहिले शून्यमा झरेको छ। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनअनुसार चार वटा पालिकामा गरी गठबन्धनका दलका प्रमुख पदका उम्मेदवारले ५० हजार बढी मत ल्याएका थिए।

एमालेका प्रमुख पदका उम्मेदवारले २० हजार बढी मत ल्याएका थिए। यो हिसाबले गठबन्धनका दल र एमालेबीच करिब ३० हजार मतान्तर देखिन्छ। यो अंक गणितअनुसार मेटमणि सुरक्षित देखिन्छन्। तर गठबन्धनमा अन्तरघात भएमा यसको लाभ शान्तालाई हुने देखिन्छ ।

-मेचीकाली अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे