गएराति केही ठाउँमा ठूलो वर्षा, आज पनि ठूलो वर्षाको सम्भावना



गएराति केही ठाउँमा ठूलो वर्षा, आज पनि ठूलो वर्षाको सम्भावना

काठमाण्डौ १८ असाेज । गएराति देशका केही ठाउँमा ठूलो वर्षा भएको छ । काठमाण्डौसहित वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् ।

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ भने केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

बिहान हल्का मात्रै वर्षा भए पनि दिउँसो हल्कादेखि मध्यम वर्षा हुने र राति वाग्मती प्रदेश, गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका  थोरै र प्रदेश १, मधेश प्रदेशका एक–दुई  ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उनले बताइन् ।

उहाँका अनुसार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अन्य प्रदेशको तुलनामा कम पानी पर्ने अनुमान छ । तर भोलिदेखि यी प्रदेशमा पनि धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आजदेखि पूर्णिमासम्म नै पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । भोलिदेखि दशैँको टीका र आर्शिवाद थाप्न आहोरदोहोर गर्ने क्रम बढ्छ । यात्रा गर्दा वर्षादी, छाता जस्ता ओतो बोक्न सुझाव दिइएको छ ।

यस्तै यता  आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ । तिनाउ नदी, बाणगंगा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह  पार गर्न सक्ने अनुमान रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।

भोलि १९ गतेदेखि २२ गते शनिवारसम्म पश्चिम सेती, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे