लमहीका होटलमा एउटै वस्तुको तीन थरी मुल्य, सरोकार निकाय अनभिज्ञ



लमहीका होटलमा एउटै वस्तुको तीन थरी मुल्य, सरोकार निकाय अनभिज्ञ

लमही १४ साउन । लमही होटल व्यवसायी समितिले जिल्लामै सबैभन्दा महंगो खानाको मुल्य निर्धारण गरेपछि अहिले यो विषय निकै चर्चामा छ । यहाँका होटल व्यवसायी पदाधिकारीहरुको एकल बैठकले साउन ५ गते निर्णय गर्दै नयाँ मुल्य सूची सार्वजनिक गरेपछि धेरैले आश्चर्य मानेका छन् ।

नयाँ मुल्य सूची अनुसार खानाको मुल्यमा उल्लेख्य वृद्धि गरिएको छ । अरु खानेकुराको मुल्य पनि सोही हाराहारीमा मुल्य वृद्धि गरिएको छ । यसअघि मासुखानाको मुल्य ४ सय रुपैयाँ तोकिएकोमा अहिले बढाएर ५ सय निर्धारण गरिएको छ । त्यसमा पनि एकै ठाउँमा एकै प्रकारका बस्तुको मुल्य ३ प्रकारले वर्गीकरण गरि लागू गरिएको छ ।

आफैले होटलको स्तर निर्धारण गरी होटल अनुसार मुल्य सूची लागू गर्न निर्देशन दिईएको छ । मुल्य सूची अनुसार व्यवसाय नगरे कडा कारवाही हुने चेतवानी पनि मुल्य सूचीसँगै सम्बन्धित होटल व्यवसायीलाई गराइएको छ । लमही होटल व्यवसायी समिति अध्यक्ष नारायणप्रसाद भुसालले आफुहरु मात्रै बसेर खानाको परिकार अनुसार मुल्य वृद्धि गरिएको बताए ।

अहिलेको बढ्दो महंगीका कारण खानाको मुल्य बढाउनु परेको बताए पनि उनले कुन आधारमा मुल्य कति प्रतिशत मुल्य बढाईएको हो भन्ने बारेमा ठोस जवाफ दिएनन् । होटलको ३ प्रकारले आफै वर्गीकरण गरेका लमहीको होटल व्यवसायी समितिले आफु खुशी मुल्य निर्धारण गरेको पाइएको छ । कच्चा पदार्थको लागत सबै प्रकारका होटलमा पाक्ने खानाको एउटै हुने भएकाले लागत अनुसार बस्तुको मुल्य फरक–फरक राखिनु वैज्ञानिक नभएको ग्राहकहरुको भनाई छ ।

‘पहिलो कुरा खानेकुरामै यति धेरै मुल्य वृद्धि गरिएको रहेछ, मुल्य बढाउने अवस्था हो भने कति प्रतिशतसम्म बढाउनुपर्ने हो, छलफल त हुनु पर्ने हो, आफु खुशी मुल्य बढाउन नहुने हो,’ लमहीमा खाना खाएका सुर्खेतका एक युवाले भने। होटल व्यवसायी समिति लमहीका अध्यक्ष भुसालले पनि आफु–आफु बीचमा छलफल गरेर मुल्य निर्धारण गरी लागु गरेको बताए ।

यस बारेमा स्थानीय सरकार, होटल व्यवसायी समितिको अभिभावक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ तथा स्थानीय प्रशासनलाई समेत कुनै जानकारी छैन । ‘हामीले लमहीमा रहेका एसीवाला होटलमा महंगोवाला मुल्य तोकेका छौँ, लजिङ सुविधा भएका होटलमा मध्यम खालको मुल्य तोकेका छौँ, अरु साना होटल व्यवसायीहरुको हकमा सबैभन्दा सस्तो खालको मुल्य सूची निर्धारण गरी साउन ५ गतेबाटै कार्यान्वयनमा ल्याएका छौँ,’ अध्यक्ष भुसालले भने ‘यस बारेमा अरु निकायलाई जानकारी गराउने आवश्यकता पनि ठानेनौँ, किनभने काम कार्यान्वयन गर्ने निकाय हामी हो, हामी आफैले मुल्य तोक्योँ, लागु पनि आफैले गरेका छौँ ।’ उनका अनुसार तेलको गत्ताको १४ सयबाट बढेर ३२ सय पुगेको, ग्यास सिलिण्डरको १३ सयबाट बढेर १८ सय पचास पुगेको, चामल, दाल तरकारीको मुल्य बढेपछि बाध्य भएर मुल्य बढाइएको हो ।

तर, सार्वजनिक चासोको कुरालाई लमहीका होटल व्यवसायीले सामान्य कुरा जस्तै ठानेर निर्णय कार्यान्वयन गर्दा यसको सही सन्देश नजाने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन बताउछन् । उनले पनि आफुलाई लमहीका होटल व्यवसायीले नयाँ मुल्य सूची बनाएर लागु गरेको बारेमा कुनै जानकारी नआएको स्पष्ट पारे । ‘कुनै पनि निकायले आफुले काम गर्दा सार्वजनिक चासोको विषयमा हामीलाई जानकारी गराउनु पर्ने हो तर लमहीबाट कुनै जानकारी आएको छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी पुनले भने, ‘पहिलो कुरा त मुल्य बढाउनुपर्ने थियो भने जिल्लाभरका होटल व्यवसायीले सरसल्लाह गर्नुपर्ने हो, बढाएको भए सबै ठाउँमा जानकारी गराउनुपर्ने हो केही पनि भएको छैन ।

यसरी काम गर्दा कानून विपरित हुन्छ ।’ उनले अहिलेको अवस्थामा महंगी बढेको सबैलाई जगजाहेर भएपनि यसको बस्तुस्थिती हेरेर काम गर्नुपर्नेमा त्यसो नभएको बताए । सरकारले तोकेको मापदण्डमा रही मुल्य तोक्ने अधिकार भएपनि होटलको स्तर आफै निर्धारण गरेर एउटै ठाउँमा एकै प्रकारका खानेकुराको ३ थरी मुल्य तोक्दा आग्रह वा उपभोक्तामा कस्तो असर पर्ला भन्ने बारेमा सोँच्नु पर्ने उनको भनाई छ । ‘स्थानीय उपभोक्ताले बजारमा गएर खाजा–नास्ता खान नसक्ने अवस्था बनाए की भन्ने लागेको छ, उनले भने, यो बारेमा सबैको चासो भएको छ, हामीले के कारणले यस्तो भएको हो बुझ्छौँ र त्यहाँको बस्तुस्थितीका बारेमा प्रकृया अघि बढाउँछौँ ।’ उता, लमही मै रहेको होटल व्यवसायीहरुको अभिभावक संस्था देउखुरी उद्योग वाणिज्य संघलाई पनि होटल व्यवसायीले गरेको कामका बारेमा कुनै जानकारी छैन ।

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले होटल व्यवसायी समितिले गरेको निर्णयका बारेमा कुनै जानकारी नभएको स्पष्ट पारेका छन् । ‘यो आफै–आफैले मुल्य तोकेर आफै राखेकी भन्ने लागेको थियो फेरी लमहीमै तीन थरिका मुल्य सूचीसहितको सूचना आएको देखेँ म आफै अनभिज्ञ भएको छु,’ उद्योग वाणिज्य संघका अध्यक्ष खनालले भने, ‘यो कस्तो खालको निर्णय हो, हामी कसैलाई थाहा छैन, निर्णय गरेका हुन् भने कम्तिमा हामीलाई त थाहा हुनुपर्ने हो ।’ उनले लमही होटल व्यवसायी समितिले गरेको यो निर्णय ‘हचुवा’का भरमा भएको बताए ।

सरोकारवालालाई राखेर छलफलका माध्यमबाट निर्णय गरेको भए सबैले थाहा पाउने र निर्णय कार्यान्वयन गर्न सहज हुने भएपनि यस्तो नगर्दा आफुहरु पनि यो निर्णयले समस्यामा परेको उनको भनाई छ । जिल्लाका अरु ठाउँमा अझै मुल्य बढी सकेको छैन । तर, लमहीका होटलहरुमा यसरी मुल्य बढाइएपछि जिल्ला बाहिरका यात्रु, ग्राहकहरुमा राम्रो सन्देश नजाने उनी बताउँ छन् । उनले भने, ‘साँच्चै मुल्य बढाउनुपर्ने अवस्था आएकै थियो भने भालुवाङ, चन्द्रौटा, घोराही, तुलसीपुर क्षेत्रका होटल व्यवसायीहरुको अवस्था बुझेर छलफल गरेर अघि बढेको भए हुने तर यसो नगरी आफैले मनलाग्दी काम गर्दा हामीलाई पनि अप्ठ्यारो अवस्था आयो, यो गलत भयो ।’ हिजोका दिनमा होटल व्यवसायीहरुलाई अप्ठ्यारो पर्दा उद्योग वाणिज्य संघले सहयोग गर्दै आएको बताउँदै भोलिका दिनमा पनि आफुहरु साथमै रहेको भएपनि यस बारेमा जानकारी नगराइएकोमा आश्चर्य चकित भएको बताए ।

‘लमहीमा सबै ठाउँमा मानिस आउँछन्, यहाँको बारेमा बुझ्छन् अनि जान्छन्, यसरी आफु खुशी काम गर्न थाल्ने हो भने भोलिका दिनमा कस–कसलाई जवाफ दिँदै जानु पर्ने हो,’ अध्यक्ष खनालले भने, ‘लमही बजारको बारेमा गलत सन्देश नजाओस् भन्नेमा सबै सजग हुनैपर्छ, हामीले यसबारेमा जानकारी लिन्छौँ ।’ यस्तै, स्थानीय सरकारका रुपमा रहेको लमही नगरपालिकाले पनि लमहीका होटल व्यवसायीले गरेको निर्णयका बारेमा कुनै जानकारी नभएको स्पष्ट पारेको छ ।

लमही नगर प्रमुख जोगराज चौधरीले होटल व्यवासीहरुले गरेको निर्णय बारेमा पालिकामा कुनै जानकारी नआएको हुँदा आफु अनभिज्ञ रहेको बताउनुभयो । स्थानीय सरकारमा उपभोक्ता हीत संरक्षण शाखा रहने प्रावधान छ । उक्त शाखाले स्थानीय स्तरमा बिक्रि वितरण हुने खाद्यबस्तुको अवस्था र बजारको बारेमा अनुगमन र नियन्त्रण गर्ने गर्दछ तर स्थानीय सरकार पनि यो बारेमा बेखबर बनाईनु भनेको सर्वथा लापरवाही भएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खनालले बताउनुभयो । लमही बजार चौबिसै घण्टा जागा रहने बजार हो । पूर्वपश्चिम राजमार्गसँगै रहेको बजार पहिल्यैदेखि नै दिनरात चलायमान हुने ठाउँ हो । यहाँ लामो दुरीका सवारी साधनको आउजाउ हुने हुँदा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका यात्रुहरु यो ठाउँको बारेमा अक्सर परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे