शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाद्वारा भालुवाङ पुल्चोकको क्यारी सरसफाई



शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाद्वारा भालुवाङ पुल्चोकको क्यारी सरसफाई

भालुवाङ ७ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा शनिबार एकै किसिमका पोशाक लगाएका युवायुवतीहरू एका विहानै बजार क्षेत्रमा रहेको डिवाइडर ( क्यारी) सरसफाई गर्न थाले । हातमा पञ्जा, खुर्पा, हसिया लिएर क्यारी भित्रका झाडी सफा गर्ने, फोहोर वस्तु हटाउने काम गरे ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र भालुवाङ पुल्चोक बजारलाई सुन्दर, सफा र सम्वृद्व बजार बनाउने उद्देश्य बोकेर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था भालुवाङ र सोही संस्था मार्फत सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारी गरि ३२ जनाको टोलीले दिनभर लगाएर भालुवाङ पुल्चोक बजारको डिवाइडर ( क्यारी) सरसफाई गरेका छन् ।

भालुवाङमा हालै २८ आैँ शाखाको रूपमा स्थापना भएको सहकारी संस्था र १९ आैँ शाखाको रूपमा स्थापना भएको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सामाजिक उत्तरदायित्व अन्तरगत सरसफाई कार्यक्रम गरेको हो । बचत तथा ऋण लगानी सँगै समाजिक क्षेत्रमा समेत काम गर्दै आएको संस्थाले स्थानीय सरकारलाई समेत चुनाैती दिदै सरसफाई कार्यक्रम गरेको संस्थाका म्यानेजर दानबहादुर थापाले बताए ।

साविक राप्ती अञ्चलको प्रवेशद्वार र यही ठाउँ भएर दैनिक जसो भारतीय नागरिकहरू दर्शन गर्न स्वर्गद्वारी जाने गर्छन् तर बजार क्षेत्र हेर्ने हो भने आफैमा लाज लाग्ने गरेको भन्दै बजारलाई कसरी सफा सुन्दर बनाउन सकिन्छ भन्ने हिसावले सरसफाई कार्यक्रम गरिएको संस्थाका सुपरभाइजर विजयप्रसाद पोख्रेलले बताएका छन् ।

स्थानीय सरकार तथा वडा नम्बर १ मा रहेका संघ संस्थाले समेत बजार क्षेत्र सरसफाईमा ध्यान दिन छोडेपछि सहकारी संस्थाले नेतृत्व लिन सुरू गरेको छ । सवैको साथ र सहयोग पाए भालुवाङ बजार सफा स्वच्छ हुने संस्थाले विश्वास समेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे