ठेकेदारको लापर्वाहीले अलपत्र परे घोराहीका विकासे आयोजना



ठेकेदारको लापर्वाहीले अलपत्र परे घोराहीका विकासे आयोजना

दाङ ३ साउन । समयमै काम गरेको भए दाङको घोराही उपमहानगरपालिकाको मुख्य बजारस्थित सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैंकदेखि सहिद गेटसम्म नालासहित सडक पिच गर्ने काम असारअघि सकिने थियो । तर नालासहित सडक कालोपत्रे गर्ने जिम्मा पाएको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले चरम लापरबाही गर्दा नयाँ आर्थिक वर्ष लागिसक्दासमेत काम अलपत्र रहेको छ ।

यस आयोजनाको काम गएको असार मसान्तभित्र सक्ने गरी १ करोड १५ लाख ३४ हजार ९ सय २४ रुपैयाँमा २०७७ माघ ८ गते सम्झौता भएको थियो । सम्झौता अनुसार ठेकदार कम्पनीले काम नगर्दा अहिले सवारी अवागमनमा समस्या भएको छ भने पैदल हिड्नसमेत नागरिकलाई समस्या भएको छ ।

काममा ढिलाई गरेको भन्दै छिटो सक्न ठेकेदारलाई घोराही उपमहानगरपालिकाले पटक–पटक ताकेता गरे पनि ठेकेदारले भने ताकेताको कुनै वास्ता गरेका छैनन् ।

त्यसैगरी घोराही उपमहानगरपालिका–४ मा १५ शैयाको हस्पिटल भवन निर्माण गर्न २०७८ असार २८ गते राजेन्द्र निर्माण सेवाले सम्झौता गर्‍यो र तर उक्त भवन निर्माणको काम अझै काम सुरु हुन सकेको छैन । संघीय सरकारको १० करोड ६६ लाख ४ हजार ९ सय १ रुपैयाँमा २०७९ असार मसान्तभित्र हस्पिटल बनाउने सम्झौता भएको छ । त्यही अनुसार उक्त अस्पतालको लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्याससमेत गर्नुभएको थियो । तर उक्त अस्पतालको शिलन्यासबाहेक अरु काम नै हुन सकेको छैन् ।

अर्को उदाहरण हो, घोराही चोकदेखि गुलरिया पार्कसम्म सडक पिच गर्न पुष्पाञ्जलि÷पिएस जेभीले २०७८ फागुन ४ गते २ करोड ३१ लाख ५५ हजार ३ सय ६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार काम गरेको भए अहिले उक्त सडक पिच भएको हुनुपर्ने भए पनि ठेकेदारको चरम लापरबाहीका कारण अहिलेसम्म ग्राभेल गर्ने काम मात्रै भएको छ ।

यी उदाहरणमात्रै हुन् । ठेकेदारको चरण लापरबाहीका कारण घोराहीमा एक दर्जन विकास निर्माणका आयोजनाहरु अघि बढ्न सकेका छैनन् । सहरी विकास तथा पूर्वाधार निर्माण शिर्षकमा पालिकाले छुट्याएको बजेटबाट बजार क्षेत्रमा नाला, सडक कालोपत्रेदेखि ग्रामीण क्षेत्रका सडक कालोपत्रे गर्नका लागि सम्झौता अनुसार समयमा काम नगर्दा अलपत्र छन् ।

त्यीमध्येका योजनाहरु हुन, वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले ठेक्का लिएको घोराही–८ सौरी थारुगाउँ बाटो पिच निरन्तरता तथा वडा नंं १० को पुरानो वडा कार्यालय हुँदै नारायणपुर थारुगाउँ हुँदै बनगाउँ जोड्ने बाटो निरन्तरता, मानबहादुर मिलदेखि शंकर गौतमको घरसम्मको अधुरो सडक पिच र दक्षिण पानीटंकी चोकसम्म सडक पिच गर्ने काम हुन । जुन अलपत्र छन् ।

यस्तै घोराही चोकदेखि गुलरिया पार्कसम्म सडक पिच गर्ने गरी सम्झौता गरेको पुष्पाञ्जलि÷पिएस जेभी, खिरटियादेखि ६ नं। वडा कार्यालयसम्म सडक पिच गर्न सम्झौता गरेको बराहक्षेत्र हरितारा कन्स्ट्रक्सन जेभी, घोराही–१७ लख्वारे कुलोदेखि धर्नासम्म सडक बिस्तार तथा थारु कल्याणकारिणी भवनदेखि गैरागाउँ चोकसम्म पिच गर्नका लागि सोहन आभा जेभी, वडा नं। ९ को खैराकोठरी सडक पिच गर्न रोयल बिल्डर्स प्रालि, घोराही १० मा स्वास्थ्य संस्था भवन निर्माणका लागि रोयल बिल्डर्स प्रालि, घोराही–७ कनरियादेखि वडा नं। ५ को दलजीतपुरसम्म, घोराही–१७ को भैसाही चोकदेखि गैरागाउँ हुँदै सर्रा जोड्ने सडक र कटुवा खोला शंखेपीपलदेखि वडा नं।१८ को वडा कार्यालय हुँदै अम्बिकेश्वरी मन्दिर जाने सडक निर्माणसँगै पिच गर्नका लागि आरडी-हाम्रो जेभीले सम्झौता अनुसार निर्माणको काम नगर्दा काम अघि बढ्न सकेका छैनन् ।

No description available.

सम्पर्कमा नै आउँदैनन् ठेकदार
घोराही उपमहानगरपालिकाले समयमै काम गराउनका लागि पटक–पटक ताकेता गरेपनि ठेकेदार सम्पर्कमा नआएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताउनुभयो । ‘तोकिएको समयभित्रै काम सक्ने गरी सम्झौता भएको हो । तर विभिन्न बहाना बनाएर काममा ढिलाई गर्ने प्रवृत्ति देखिएपछि केही निर्माण व्यवसायी बोलाएर पत्र काटेर सचेत बनाउने काम गरेका थियौँ’, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले भन्नुभयो– ‘तर निर्माण व्यवसायीले काम गर्छु भन्ने तर जिम्मेवारी अनुसार काम नगर्दा समस्या भएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत केसीले ठेक्का लगाइएका ९ वटा योजनाहरु असारमा सक्नुपर्ने भए पनि अहिलेसम्म कतिपयको कामै सुरु हुन नसकेको बताउनुभयो। ‘कतिपय योजनाहरु गएको असारमा सक्नुपर्ने थियो । तर निर्माण व्यवसायीको लापरबाहीले काम हुन सकेन्,’ उहाँले भन्नुभयो– ‘ठेकेदारले काममा बेइमानी गर्ने र आयोजना अलपत्र पार्दा नागरिकले सास्ती बेहोर्नुपरेको छ ।’

उहाँले ठेकदारले काम नगर्दा अर्कोतिर पालिकाको अपेक्षाअनुसार प्रगति समेत देखिन नसकेको बताउनुभयो । सडक निर्माणका लागि नाला अलपत्र बनाउनेदेखि सडकभरी गिट्टी फिजाउँदा आवागमनमा समेत असर पुगेको स्थानीयको गुनासो छ ।

साभार : मेचीकाली अनलाइन

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे