छोराको ज्यान बचाई दिन बुवा गिरीराज विश्वकर्माको आग्रह
देउखुरी १७ जेठ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी ५० बर्षिय लमल विश्वकर्मा थलिएको दुई बर्ष नाघ्यो । शुरुमा जिउ नराम्रो संग चिलाउथ्यो । उपचार गर्न धेरै ठाउँ पुग्नु भयो । तर, निको भएन । शरिरबाट पानी निकालेपछि चिलाउन छाड्यो ।
प्याङ्क्राइच मा मासु पलाएको पत्ता लाग्यो । जसले क्यान्सरको रुप लियो । रोग पत्ता लगाउन र उपचारको लागि यो परिवारले अहिलेसम्म २८ लाख खर्चगरिसकेको छ ।‘भएको सम्पत्ति सबै सकियो । अहिले अस्पताल सम्म जानको लागि गाडी भाडा छैन’भक्कानिदै लमलले भन्नुभयो–‘रोगले सक्यो । म उठ्न बस्न सक्दैन । कमाउने मान्छे छैन ।’
लमलका ८१ बर्षिय बुवा गिरीराज विश्वकर्माले आरन पेशा गर्नुहुन्छ । त्यहीँ बाट आएको दुई चार रुपैयाँको आम्दानीले साँझ बिहानको छाक टरेको छ । त्यसमा पनि भनेको जस्तो आम्दानी छैन ।‘छोरो बिरामी भएर घरमा थलिएको छ । अब उपचार गर्न लैजाने पैसा छैन’विकले भने–‘हामी गरिब दुःखिलाइ रोग लाग्दै नलागोस, लागिहाल्यो भने उपचार नपाइ मरिदो रहेछ ।’ काठमाडौं, चितवन, नेपालगन्जका अस्पताल धाउँदा धाउँदा थाकिसकेका छन लमलका परिवारजन ।‘भिक मागेर उपचार गर्नुपर्ने दिन आयो’उनले पीडा साट्दै भने–‘अझै गरिब दुःखिको दिन आएको रहेनछ । गणतन्त्र आयो तर, हाम्रो सुःखका दिन आएन ।’
थप उपचार गर्न अस्पताल लैजाने गाडिभाँडा समेत नभएको अवस्था छ । जसले गर्दा लमल उपचार नगराइ घरमा बस्न बाध्य हुनुहुन्छ ।‘घरमा भएको सम्पत्ति सकियो । माग्ने ठाउँमा मागेर सकियो । तर, निको भएन । अब उपचारको लागि खर्च जुटाउन सडकमा आउनु पर्ने अवस्था आयो’लमलकी श्रीमती रामकली कामीले भनिन्–‘उनलाई निको पार्न सकिन्छ कि भन्ने आश छ । पैसा नभएर बचाउन सकिएन भन्ने पीडा सधैं हुने अवस्था छ ।’
स्थानियले उपचारको लागि सक्दो सहयोग पनि गरे । तर, त्यो रकम उपचारमा सकियो । अब पुनःसहयोगको आशा राखिएको स्थानीय सन्तोष अधिकारीले बताए ।‘हामीले अहिले पनि सहयोग गरिरहेका छौं । उपचारको लागि खर्च धेरै चाहिने भएकाले अस्पताल लग्न सकिएको छैन’उनले भने–‘देश विदेशमा रहेकाहरुले अब लमल दाइको जीवन रक्षाको लागि सहयोग गर्न अपिल गर्दछौं । मान्छे गरिब भए, उपचार नपाएर मर्ने नहोस ।’ लमल विश्वकर्माको जिवनरक्षाको लागि सबै संग अपिल गरिएको छ । सहयोगको लागि बैंक खाता खोलिएको छ । सिभिल बैकमा लमल बहादुर कामिको नाममा खोलिएको ०८५१०६४८८०३०१७ खातामा सहयोग रकम दाखिला गर्न अपिल गरिएको छ ।
स्थानीय, प्रदेश र संघ सरकारले गरिब, विपन्न नागरिकको उपचारको लागी प्रभावकारी कार्यक्रम बनाउन सकेका छैनन् । उपल्लो तहका नेता तथा मन्त्रीहरुको उपचारको लागी राज्यकोषको रकम खर्च गर्ने गरिएको भएपनि एउटा नागरिक विरामी पर्दा उपचार गर्ने व्यवस्था छैन । दिर्घरोग लागेकाहरुको लागी एक लाख रुपैयाँ सम्मको छुट सिफारिस दिने बाहेक अन्य प्रभावकारी सहयोग गरिएको छैन् ।