राप्ती गाउँपालिकामा हावाहुरीले करिव ८२ घरको छाना उडायो, १ करोड बढीको क्षति



राप्ती गाउँपालिकामा हावाहुरीले करिव ८२ घरको छाना उडायो, १ करोड बढीको क्षति

भालुवाङ ७ जेठ । दाङको देउखुरीमा हावाहुरी सँगै परेको पानीले करिव ८२ वटा घरको छाना उडाएको छ । भने १ करोड बढीको क्षति भएको छ ।

शुक्रबार राती आएको हावाहुरी र पानीले राप्ती गाउँपालिका वडा नम्बर ३ मा ३२ वटा घरको छानो उडाएको छ । भने करिव ४० लाख बढीको क्षति भएको राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् ।

हावाहुरी सँगै आएको पानीले वडा नम्बर ३ को मसुरीया, नयाँबस्ती, बागढड्डी लगायतका गाउँमा खर,टिन र टायलले छाएको बस्ने घर, गोठ र भान्सा घरको छाना उडाएको छ ।

त्यसै गरि राप्ती गाउँपालिका वडा नम्बर ४ मा करिव ५० वटा भन्दा बढी घरको छाना उडाउनुका साथै घरभित्र भएका अन्नपात, लत्ताकपडा भिजेर क्षेती भएको छ । भने ५५ लाख बढीको क्षति भएको वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चाैधरीले जानकारी दिएका छन् ।

वडा अध्यक्ष चाैधरीका अनुसार वडा नम्बर ४ को माैरीघाट, खिनैटा, मझनीगढ, पैसठ्ठी नम्बर, सुन्दरपुर, पिपरखुटी, नयाँगाउँमा हावाहुरीले क्षति पुर्‍याएको छ । तिव्र गतिमा चलेको हावाहुरीले राप्ती गाउँपालिका वडा नम्बर ४ पैसठ्ठी नम्बर माैरीघाट निवासी २९ वर्षिय प्रमिला चाैधरी घाइते भएकी छिन् ।

संदेश मण्डलीमा काम गरिरहेका बेला अचानक आएको हावाहुरीले चाैधरीको बायाँ खुट्टाको कुरकुच्चा उडेर आएको टिनले काटेको छ । गहिरो घाउ भएपछि चाैधरीलाई तत्काल लमही स्थित प्लोरेन्स अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

साथै घटनाको थप विवरणहरू आउने क्रम जारी रहेको छ । शनिबार विहानै देखि वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी र वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चाैधरीको टिमले आ- आफ्नो वडामा क्षतिको विवरण संकलन गरिरहेका छन् । भने प्रहरीले पनि क्षतिको विवरण संकलन सुरू गरेको प्रहरी चाैकी मसुरीयाका प्रहरी सहायक निरिक्षक शत्रुघन उपाध्यायले जानकारी दिएका छन् ।

यता शुक्रबार राती आएको हावाहुरीले पारेको क्षति बारे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले फिल्डमा गई अनुगमन गरेका छन् । क्षति भएका घर परिवारलाई पालिकाको तर्फबाट र नेपाल सरकारको तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे