कृषकलाई मलबीउको सहज व्यवस्था गर्न नागरिक समाज दाङको माग



कृषकलाई मलबीउको सहज व्यवस्था गर्न नागरिक समाज दाङको माग

दाङ ७ जेठ । नागरिक समाज दाङले कृषकलाई सहज रुपमा मल बीउ,किटनाषक औषधी,औजार लगायतका सामग्री सर्वसुलभ रुपमा व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको छ । समाजका संयोजक केबी मसालको अध्यक्षतामा आज शनिबार घोराहीमा बसेको बैठकले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न माग गरेको हो ।

जेठ १ गतेदेखि शनिबार र आईतबार हप्तामा २ दिन सार्वजनिक विदा दिने निर्णयले सार्वभौम सत्ता सम्पन्न जनतालाई स्थानीय,प्रदेश र संघीय सरकारले उपलब्ध गराउने सेवा सुविधा छिटो छरितो प्रवाह गर्न दुई दिने विदाका कारण सेवाको समयावधि लम्बिने भएकाले पूनर्विचार गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

त्यसैगरी स्थानीय,प्रदेश र संघीय सरकारबाट सेवाग्राहीलाई उपलब्ध गराउने सेवा सुविधा प्रभावकारी बनाउन प्रत्येक महिनामा एक कार्यालय स्थलगत अनुगमन गर्ने निर्णय कार्यान्वयन स्वरुप घोराही उपमहानगरपालिकामा जाने निर्णय भएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।

महिला हिंसाका घटना दिनानूदिन बढ्दै गएको प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण गराएको छ । जघन्य अपराधका घटना हुन नदिन र पीडकलाई कानून अनुसार हदैसम्मको सजायको व्यवस्था कडाईका साथ लागू गर्न स्थानीय सरकारमार्फत नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।

यस्तै, बैशाख ३० गते र जेठ ३ गते स्थानीय तह निर्वाचन दाङमा शान्तिपूर्णमा सम्पन्न गराउने कार्यमा खटिने निर्वाचन अधिकृत, राष्ट्रसेवक कर्मचारी,सुरक्षा निकाय, जनप्रतिनिधि, आम मतदातालगायत सबै निकाय, पदाधिकारीहरुलाई धन्यवाद दिँदै नवनिर्वाचित पालिकाका सबै जनप्रतिनिधिहरुको जनताको सेवामा मन, वचन र कर्मले दत्तचित्तका साथ काम गर्न शुभकामना व्यक्त गरेको समाजका सचिव श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे