राप्ती गाउँपालिकामा कार्यालय सहयोगी चन्द्रबहादुर गुरूङ बने वडा अध्यक्ष



राप्ती गाउँपालिकामा कार्यालय सहयोगी चन्द्रबहादुर गुरूङ बने वडा अध्यक्ष

सिसहनियाँ ६ जेठ । चन्द्रबहादुर गुरुङ झन्डै पाँच वर्ष दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ को कार्यालय सहयोगी पदमा कार्यरत भए ।

२०७४ को पालिका चुनावमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछि चन्द्रबहादुर गुरुङ कार्यालय सहयोगी पदमा नियुक्त भएर काम थालेका थिए । कार्यालय सहयोगीको पदबाट राजीनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिएका चन्द्रबहादुर कार्यालय सहयोगी भएर काम गरेको कार्यालयको वडा अध्यक्ष बनेका छन् ।

नेकपा एमालेले उनलाई वडा अध्यक्षको उम्मेदवार बनाएको थियो । जुन कार्यालयमा कार्यालय सहयोगी भएर काम गरेका व्यक्ति त्यही कार्यालयको अध्यक्ष भएर सेवा गर्ने अवसर प्राप्त भएको हो ।‘करिब पाँच वर्ष कार्यालय सहयोगी भएर नजिकबाट सेवा गर्ने मौका पाएँ । मलाई पार्टीले टिकट दियो । राजीनामा दिएर म चुनावमा होमिएँ । जनताको अभिमतले आज म वडा अध्यक्षमा निर्वाचित हुन पुगेको छु’ गुरुङले भने, ‘जुन पाँच वर्ष मैले कार्यालय सहयोगी भएर सेवा गरें, अब वडा अध्यक्ष भएर जनताको सेवामा समय बिताउने छु ।’

कार्यालय सहयोगी पदमा रहँदा सबै काम गर्नुपर्याे ।
सरसफाइदेखि झाडु, पोछासम्म । यति मात्र होइन, सिफारिसका काम समेत चन्द्रबहादुरले नजिकबाट सिक्नु भएको छ । ‘कार्यालय सहयोगी भएर सबै काम गरियो । त्यसमा पनि वडा सचिवसँग नजिक रहेर सिफारिसका काम जान्ने अवसर मिलेको थियो’ उनले भने, ‘अहिले म वडा अध्यक्षमा निर्वाचित भएर जनताको सेवा गर्ने अवसर पाएको छु । उत्साहित भएर जनसेवामा समय बिताउने छु ।’ वडा अध्यक्षमा उनी जस्तै अन्य व्यक्तिहरु पनि चुनावमा होमिएका थिए । तर, उनले सबैभन्दा धेरै मत प्राप्त गरे । त्यो जनमतले कार्यालय सहयोगीको कुर्सीदेखि वडा अध्यक्षको कुर्सीसम्म पुर्याएको छ ।

नेपाली कांग्रेसका प्रभाकरदेव चौधरीलाई १ सय ३४ मतले पछि पार्दै चन्द्रबहादुर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । चन्द्रबहादुरले ९ सय ५० मत प्राप्त गरे । नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार प्रभाकरदेव चौधरीले ८ सय १६, नेकपा माओवादीका रामचन्द्र चौधरीले २ सय ६, एकीकृत समाजवादीका विष्णु गुरुङले ९८, मङ्गोल नेशनल अर्गनाइजेसनका मोतिलाल चौधरीले ७०, राप्रपाका यदुवंशी चौधरीले ६१ मत प्राप्त गरेका थिए ।

चन्द्रबहादुर आफू मात्रै निर्वाचित भएनन् उनको एक जना सदस्य बाहेक सिङ्गो टिम नै निर्वाचित भयो । ‘महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक, आदिवासी जनजाति सबैलाई समान व्यवहार गर्नुपर्ने मुख्य सिकाइ रह्यो । अझ सबैको साझा भएर सेवा दिने प्रयत्न गर्नेछु’ उनले भने, ‘सबैलाई समान अवसर प्रदान गर्ने कुरामा मेरो ध्यान जाने छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे