मनोनयन दर्ता, व्यवस्थित र शान्तिपूर्ण ढङ्गले गर्न/गराउन आयोगको अपिल



मनोनयन दर्ता, व्यवस्थित र शान्तिपूर्ण ढङ्गले गर्न/गराउन आयोगको अपिल

काठमाण्डाै ११ वैशाख । पालिका चुनाव लागि आज र भोली हुने मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तथा सम्बद्ध सबैमा अपिल गरेको छ ।

कानुन बमोजिमको योग्यता पुगेका सबै नागरिकको उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकार माथि कहीँकतैबाट कुनै अवरोध आउन नदिन पनि आयोगले आग्रह गरेको छ ।

आयोगले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘निर्धारित दुई दिनमध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा त्यही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।’

आयोगले आज र भोलि बिहान १० बजे देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । यसअघि  चुनावमा उम्मेदवारको मनोनयन दर्ताका लागि एक दिन तोके पनि मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतलाई चाप धान्न कठिन भएकाले यसपालि दुई दिन समय निर्धारण गरेको आयोगको भनाइ छ ।

कतिपय ठाउँमा राजनीतिक दलका उम्मेदवारलाई गोलाप्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएकाले यो विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।

यस्तै, आयोगले चुनावको  सबै तयारी व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको जनाएको छ । देशका ७५३ वटै पालिकाहरुमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइ कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने काम निरन्तर भइरहेको आयोगले जनाएको हो ।

आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, भोलि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पर्सि १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।

त्यसैगरी, १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । आउँदो ३० गते पालिका चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे