सगरापुर- पत्थरगढवा जोड्ने सानो नदीमा पक्की पुल निर्माण भएपछि स्थानीय खुसी



सगरापुर- पत्थरगढवा जोड्ने सानो नदीमा पक्की पुल निर्माण भएपछि स्थानीय खुसी

सिसहनियाँ २५ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ को सगरापुर- पत्थरगढवा जोड्ने सानो नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयहरू खुसी भएका छन् ।

उत्तर र दक्षिणमा सानो नदीले घेरेको टापु जस्तो देखिने पत्थरढवाबासी पुल बनेपछि खुसी भएका छन् । पुल निर्माणले सगरापुर, बगरापुर र पहरुवा गाउँका स्थानीयहरू समेत लाभान्वित भएका छन् ।

शंकरमाली निर्माण सेवा प्रालि काठमाडौंले २ करोड ५१ लाख ६९ हजार २ सय ४८ रूपैयाँ ५५ पैसाको लागतमा २० मिटर लम्बाई र ८ मिटर चाैडाईको पुल निर्माण गरेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् ।

यसै क्रममा आज एक कार्यक्रम बीच पुलको उद्घाटन समेत गरिएको छ । पुलको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र पुर्व संविधान सभा सदस्य सुशिला चाैधरीले शिला अनावरण तथा रिवन काटेर गरेका थिए ।

राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता र पुर्व संविधान सभा सदस्य सुशिला चाैधरीको विशिष्ट आतिथ्यतामा भएको पुल उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी,राप्ती गाउँपालिकाका प्रवक्ता  विद्याशरण चाैधरी, समाजसेवी तथा बुद्धिजीवी  कमल नारायण चाैधरी, निमार्ण व्यवसायी धर्मप्रसाद उप्रेती लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वडा सदस्य ताराकुमारी चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सरिता चाैधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे