आजदेखि यात्रुसहित जयनगर–कुर्था रेल्वे खण्डमा रेल सेवा सुरु हुँदै
काठमाण्डाै २० चैत । जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले हिजो संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका हुन् ।
आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उहाँका अनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ । जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले जानकारी दिए ।
जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनको भनाइ छ । जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ । खुला सीमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए । सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ ।
नेपालको जनकपुरधामबाट यात्रा गर्दा जयनगरसम्म सामान्य सीटको ७० रुपैयाँ टिकट तोकिएको छ । एसी भएको सिटको भने तीन सय ७० रुपैयाँ टिकट लाग्नेछ । भारतबाट आउँदा भने सामान्य टिकटको ९० रुपैयाँ र एसी भएको सीटको चार सय ५० रुपैयाँ पर्नेछ । रेलमा एक पटकमा एक हजार पाँच सय यात्रु अटाउने क्षमता छ ।