अन्तत : संसदबाट एमसीसी सम्झौता पारित



अन्तत : संसदबाट एमसीसी सम्झौता पारित

काठमाडौं १५ फागुन। अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ । आज आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको हो ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संशोधनविना एमसीसी पारित गर्न नसकिने अडान राखेपछि सरकारले व्याख्यात्मक घोषणा बनाएर विषय प्रष्ट पार्दै सम्झौता अनुमोदन गरेको हो ।

याे सम्झाैता पारित गरियोस् भन्ने प्रस्ताव अर्थ मन्त्री जनार्दन शर्माले पेस गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकाेटाले ध्वनि मतका आधारमा एमसीसी सम्झाैता पारित भएको घाेषणा गरेका हुन्।

यसअघि याे प्रस्तावसम्बन्धी व्याख्यात्मक घोषणा प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरूले सम्झौतामाथिको आशङ्का व्याख्यात्मक घोषणामा समेटिएको उल्लेख गर्दै अब ढुक्कसँग पास गर्न उपयुक्त हुने धारणा राखेका थिए ।

यस्तै यसको विरोध गर्ने सांसदहरूले व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ने प्रावधान नभएको भन्दै आपत्ति जनाएका थिए । यसै बीच प्रतिनिधि सभाको अर्को बैठक यही फागुन १८ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे