घोराही कारगारका नाइके भागेको सिसिटिभी फुटेजमा देखियो



घोराही कारगारका नाइके भागेको सिसिटिभी फुटेजमा देखियो

दाङ १० पुस । प्रहरीले अस्पतालबाट भागेका भनिएका घोराही कारागारका नाइके जयराम परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको तथ्य फेला परेको छ । घोराही स्थित प्याडाइज रेष्टुराँमा नास्ता खाने क्रममा परियार भागेको सिसिटिभी फुटेजमा देखिएको छ । प्रहरीले परियार भागेको दृश्य कैद भएको फुटेज पनि शुक्रबारनै लगिसकेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फुटेज हेर्दा चरम लापरबाही देखिएको बताए। सरासर अस्पताल नलगेर किन रेष्टुराँमा नास्ता खान लगिनुले चरम लापरबाही र मिलेमतो स्पष्ट रुपमा देखिन आएको एसपी काफ्लेले टिप्पणी गरे । ‘हामी अनुसन्धान पूरा गरेपछि तथ्य कुरा सार्वजनिक गर्छौं,’ एसपी काफ्लेले भने, ‘दोषी जोकोही भए पनि हामी कसैलाई छोड्दैनौ ं।’

कर्तव्य ज्यानमुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका घोराही कारागारका नाइकेलाई उपचारका लागि भनेर अस्पताल लैजाँदा हतकडी पनि लगाइएको थिएन । परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै लु३४प ४१० नम्बरको मोटरसाइकलमा राखेर उपचार गराउन भनेर बिहीबार बिहान ११ बजेतिर अस्पताल हिँडाएका थिए ।
तर, अस्पताल नपुग्दै उनीहरू रेष्टुँरामा नास्ता खान पसेको र त्यही मौका छोपी परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको जानकारी दिइएको छ । यसअघि प्रहरीले अस्पतालबाट परियार भागेको जानकारी दिएको थियो । स्रोतका अनुसार कारागारका नाइकेलाई हतकडी लगाउने चलन छैन ।

कुनै पनि बिरामी नरहेका परियारलाई किन अस्पताल उपचारका लागि लगिएको हो भन्ने कुरा नै रहस्यमय रहेको एसपी काफ्लेले बताए । जिल्ला कारागार घोराहीका जेलेर युवराज परियारले भने रिपोर्टिङका आधारमा छाला सम्बन्धी उपचार गराउनका लागि नाइके परियारलाई उपचारका लागि पठाउनु परेको बताउँदै आएका छन् ।

कारागारका नाइके परियार भागेपछि कारागार प्रशासन र प्रहरीका बीचमा आरोप-प्रत्यारोप चल्न थालेको छ। एकले अर्कोलाई कमजोरी तथा लापरबाही गरेको हुँदा परियार भाग्न सफल भएको दोषारोपण गर्न थालेका छन् । यसैबीच, प्रहरीले प्रहरी जवान चौधरीसहित थप तीन जना सर्वसाधारणलाई परियारलाई भगाउन भूमिका खेलेको भन्दै नियन्त्रणमा लिएको छ । एसपी काफ्लेले अन्यको पनि त्यसमा मिलेमतो देखिएको र उनीहरूको पहिचान खुले पनि फरार रहेकाले खोजी जारी रहेको जानकारी दिए।

प्रहरीले शुक्रबार मात्रै परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल लमही बजारभन्दा केहीमाथि जंगलमा फेला परेको जानकारी दिएको छ । प्रहरीले फरार परियारको खोजी तीब्र पारिएको तथा भारत प्रवेश गर्ने नाकाहरू पनि सिल गरिसकेको बताएको छ ।

अस्पतालबाट प्रहरीकै मोटरसाइकल लगेर फरार भएका घोराही कारागारका नाइके २८ बर्षीय जयराम परियारको खोजी कार्यका लागि दुई दर्जन बढी प्रहरुी परिचालन गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लले फरार परियारलाई खोज्न प्रहरीले जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालको कमाण्डमा झन्डै दुई दर्जन जति प्रहरी खटाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे