एमाले महाधिवेशन : ओलीले प्रस्तुत गर्ने नामावलीमा सहमति नभएमा चुनाव
काठमाण्डाै १२ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ । हिजो बेलुकी अबेरसम्म बसेको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएको छ ।
नेता विष्णु पौडेलको प्रस्तावमा सबैजसो प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरे पनि अध्यक्षका प्रत्यासी भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालले भने विरोध जनाएका छन् । दुई नेताको विरोध रहे पनि हिजोको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार ओलीलाई दिएको छ ।
यसअनुसार आज ओलीले नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्नुहुनेछ । ओलीको प्रस्ताव सर्वसम्मतिबाट अनुमोदन हुने नेता विष्णु रिजालले दाबी गरे । तर ओलीको प्रस्तावमा कसैले असन्तुष्टि जनाए त्यो पदमा चुनाव हुने उनको भनाइ छ । सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने आमकार्यकर्ताको भावनाअनुसार हिजोको बन्द सत्रले यसको अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको उनले बताए ।
नेता रिजालकाअनुसार भीम रावल र घनश्याम भुसालसँग सहमतिको प्रयास भइरहेको छ । अन्तिमसम्ममा उनीहरु पनि सहमतिमा आउने र सहमति हुन नसकेमा मात्रै चुनाव हुने उनले बताए। विधान संशोधन पारित भएसँगै एमालेको पदाधिकारी अब १९ सदस्यीय पुगेको छ ।
१९ जना पदाधिकारीमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ जना उपाध्यक्ष रहनेछन् । साथै १ जना महासचिव र ३ जना उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् । केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बन्नेछ । अस्ति शुक्रवार चितवनमा सुरु भएको एमालेको १० औँ महाधिवेशन आज सक्ने कार्यतालिका छ ।