रेशम चौधरी लगायत टिकापुर घटनाका राजबन्दीहरुलाई तत्काल रिहा गर : डा. भट्टराई



रेशम चौधरी लगायत टिकापुर घटनाका राजबन्दीहरुलाई तत्काल रिहा गर : डा. भट्टराई

भालुवाङ ११ मंसिर । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिकापुर घटनामा जेल परेका रेशम चौधरी लगायतका थारु राजबन्दी नेताहरुलाई स—सम्मान तत्काल रिहा गर्न माग गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल दाङले आज देउखुरीको राप्ती गाउँपालिका—५ प्रगतिनगर सिसहनियाँ बजारमा आयोजना गरेको संगठन सुद्धढिकरण तथा जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बिगतमा नेपाली काँग्रेस, एमाले र माओवादीले गरेको आन्दोलन तथा बिद्रोहमा हजारौँ मान्छे मारिदा जसरी ती मुद्धा फिर्ता लिइयो त्यसरी नै थारु बिद्रोह अन्र्तगत टिकापुर घटनाका बन्दीहरुलाई पनि राजबन्दी सरह स—सम्मान तत्काल रिहा गर्न सरकार संग माग गरे ।

उनले टिकापुर घटना अत्यन्तै दुखद भएको बताउँदै उक्त घटना थारु बिद्रोहको रुपमा लिई राजनितिक आन्दोलनका रुपमा लिन आग्रह गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका पूर्व प्रधानमन्त्री भट्टराईले लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा ल्याउनु देउखुरीबासी प्रति न्याय भएको बताए ।  तर उनले राजधानी बसाल्ने नाममा सुकुमबासी, भुमिहिन नागरिकहरुलाई उठीबास लगाउने कार्य भन्ने अत्यन्तै गलत भएको बताए । उनले बस्तीमा नभई खाली जग्गा खोजेर योजनाबद्ध तरिकाले राजधानी बसाल्न प्रदेश सरकारलाई आग्रह समेत गरे ।

हामीले गर्ने भनेको विकास हो, सुकुमबासी बस्ती उठाएर गर्ने विकास नभई बिनास भएको समेत टिप्पणी गरे । उनले देशका विभिन्न ठाउँको नक्सा कोरेर सुन्दर शहर बसालेको स्ममरण गराउँदै यस प्रदेशको सुन्दर राजधानी बनाउन आवश्यक परे आफू नक्का कोर्न समेत तयार रहेको बताए ।

पार्टीका जिल्ला अध्यक्ष होमप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका बरिष्ठ नेता तथा पूर्व मन्त्री असोक राईले जनताहरुले दलहरु बीच बिभाजन नभई एकता भएको हेर्न चाहेको बताए । साथै उनले काँग्रेस, एमाले र माआोवादी जस्ता पुराना शक्तिहरुबाट देशको विकास सम्भव नभएकोे जिकिर गदै नेता राईले बैकल्पिक शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टीबाट मात्र यो देश विकास सम्भव रहेको ठोकुवा गरे ।

पार्टीका दाङ जिल्ला उपाध्यक्ष जगतराम यादवको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष असोककुमार यादव, केन्द्रिय सदस्यहरु यज्ञ पोख्रेल, हरिप्रसाद रिजाल, प्रकाश चौधरी, हिक्मत विक, पार्टीका संघीय परिषद् सदस्य टोपबहादुर कार्की र समाजवादी विद्यार्थी संघकी केन्द्रिय उपाध्यक्ष रिता यादव लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव लक्ष्मी चौधरीले गरेकी थिइन् । उक्त कार्यक्रमको रेडियो राप्ती ९८.४ मेगाहर्जले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे