दशैंलाई लक्षित गरी भालुवाङ बजार सरसफाई, नयाँ बसपार्कबाट बस सेवा सुरु



दशैंलाई लक्षित गरी भालुवाङ बजार सरसफाई, नयाँ बसपार्कबाट बस सेवा सुरु

भालुवाङ २४ असोज । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ बजार आइतवार सरसफाई गरिएको छ । बडा दशैको अवसरमा राप्ती उद्योग वाणिज्य संघ भालुवाङले होटल व्यवसायी, व्यापारी, स्थानीय प्रहरी, ट्राफिक प्रहरी, आशाका किरण, यातायात व्यवसायी, स्वास्थ्यकर्मी, नागरिक समाज, पत्रकार र स्थानीय सर्वसाधारणको सहभागितामा पुल्चोक बजार क्षेत्र सरसफाई गरेको छ ।

भालुवाङ, प्युठान सडक खण्ड र मुख्य राजमार्ग तथा बजारका विभिन्न क्षेत्रमा सरसफाई गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । बजार क्षेत्रमा बढ्दो फोहरले बजार क्षेत्र दुर्गन्धित हुन थाले पछि बजार सरसफाई गरिएको हो । यसै क्रममा आइतवार भालुवाङको नयाँ बस पार्कबाट बस सेवा सुरु गरिएको छ ।

पुरानो भालुवाङ बजार र पुल्चोक बजारको बिचमा हनुमानगढी मन्दिर नजिकै बनेको भालुवाङ प्युठान सडक खण्डलाई लक्षित गरी बनाइएको बसपार्कबाट आइतवार देखि बस सेवा सुरु गरिएको हो ।
उक्त स्थानमा विगत लामो समय देखि शहरी विकास कार्यालय दाङ र भालुवाङ नगर विकास समितिको करोडौ आर्थिक तथा प्राविधिक अनुदान लगाई उक्त बसपार्क बनाइएको हो । राज्यको करोडौ लगानीमा निमार्ण भएको बसपार्क सञ्चालनमा ल्याउन भालुवाङ नगरविकास समिति, राप्ती गाउँपालिका, स्थानीय प्रशासन असफल भएपछि यातायात सेवा अस्तव्यस्त भएको थियो ।

पुर्व पश्चिम राजमार्गको किनारा पुल्चोकमा ४ वटा बसपार्क, भालुवाङ प्युठान, रोल्पा सडक खण्डको पुल्चोकमा ३ वटा बसपार्क, पुरानो बजार क्षेत्रमा ४ वटा बसपार्क गरी झण्डै १० वटा बसपार्क विगत लामो समय देखि भालुवाङमा सञ्चालन हुँदै आएका थिए । जसका कारण यातायातका साधानहरु अस्तव्यस्त र देशका विभिन्न भागमा आवतजावत गर्ने यात्रुहरुलाई ठुलो कठिनाइ भएको थियो ।

भालुवाङ, रोल्पा, प्युठानको प्रवेशद्धारमा रहेका गाडीलाई धपाएर नयाँ बसपार्कमा पु¥याएपछि त्यहाँ गाडी र यात्रुको भिड लागेको छ । भने स्थानीयहरु व्यापारी प्रयोजनका लागि घर टहरा बनाउन ठाउँ रोक्न तछाडमछाड गरेका छन् ।

यसै बिच त्रिशिद्धश्वरी राप्ती यातायात बस व्यवसायी प्रालि पुल्चोक भालुवाङका प्रतिनिधि दानबहादुर नेपालीले हामीलाई यहाँबाट बस सेवा सुचारु गर्ने हो भने काउन्टर, शौचालयका साथै स्वच्छ पिउने पानीको प्रवन्ध मिलाइनुपर्ने र सुरक्षाको पुर्ण ग्यारेन्टी हुनुपर्ने माग गर्नु भएको छ ।

उता भालुवाङ प्युठान सडक खण्ड मिचेर ठेला व्यवसायी गर्ने व्यापारीहरुलाई एक हप्ता भित्र नयाँ बसपार्कमा ठेला व्यवस्थापन गर्न इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख भुवन भट्टले निर्देशन समेत दिएका छन् । सडक मिचेर गाडी पार्किङ गर्दा चाडपर्वका समयमा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै गाडी र ठेला व्यवसायीहरुलाई नयाँ बसपार्कमा व्यवस्थापन गर्न थालेको प्रहरी प्रमुख भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे