सञ्चार विधेयक संशोधन हुन्छ : सांसद शर्मा



सञ्चार विधेयक संशोधन हुन्छ : सांसद शर्मा

सिसहनियाँ २३ असोज । लुम्बिनी प्रदेश सभा सदस्य दामा शर्माले प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक संशोधन हुने बताएकी छिन् । राप्ती प्रेस मञ्चले शनिवार राप्ती गाउँपालिका ५ सिसहनियाँमा आयोजना गरेको दशैमिलन, शुभकामना आदान—प्रदान परिचयात्मक तथा चियापान कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य शर्माले सो कुरा बताएकी हुन् ।

प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सभा सदस्य शर्माले सञ्चार विधेयक टेवल मात्र भएकोले डर मान्नु पर्ने अवस्था नरहेको बताइन् । त्यस्तै उनले स्थायी राजधानी व्यवस्थापनमा भएको ढिलासुस्तीका बारे पत्रकारले घच्घचाउनु पर्ने बताइन् । स्थायी राजधानीमा निमाणर् भइरहेको संसद हलमा आउँदो हिउँदे अधिवेशन गर्ने तयारीमा प्रदेश सरकार जुटेको उनले बताइन् ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष बसुन्धरा गौतमले जुन देशमा प्रेस स्वतन्त्रता हुन्छ । त्यो देशको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र बलियो हुन्छ । त्यसैले लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र बलियो बनाउन प्रेस बलियो बनाउन आवश्यक रहेको बताइन् । उनले राष्ट्र बलियो बनाउन प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता हुन अनिवार्य आवश्यकता रहेको बताइन् । देशलाई समृद्ध बनाउन तथा प्रजातन्त्र र लोकतन्त्र बलियो बनाउन प्रेस बलियो हुनुपर्नेमा जोड दिइन् ।

त्यस्तै पत्रकार महासंघका केन्द्रिय पार्षद महेश रिजालले महान शहिद कृष्णसेन इच्छुकको शालिक अनावरणमा राजनीतिकरण भएको आरोप लगाए । उनले हामीहरु सहिद कृष्णसेनका अनुयाइ भएको बताउँदै भालुवाङ पुल्चोकमा एक बर्ष पहिले बनाईएको कृष्णसेनको सालिकको अनावरण अहिले सम्म नगरेर शहिद माथि राजनिती गर्न खोजेको आरोप लगाए ।

राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् प्रदेशसभा सदस्य दामा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, नेकपा माओवादी केन्द्रका सुरेश चौधरी, जनता समाजवादी पार्र्टीका राप्ती गाउँपालिका अध्यक्ष रणबहादुर सुवेदी, राजमोका राप्ती गाउँपालिका सचिव माधवप्रसाद शर्मा, नागरिक समाज देउखुरीका संयोजक दामोदर भण्डारी, प्रगतीनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शान्तराज शर्मा, देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारी, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा प्रेस मञ्चकी कोषाध्यक्ष अंशु बोहराले दशैँ सम्बन्धी कविता बाचन गरेकी थिइन् भने मञ्चका सदस्यद्धय बिरेन्द्र गिरी र हुमा सुनारले दशैँ सम्बन्धी गीत समेत गाएका थिए । मञ्रचका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष बासुदेव न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे