कोरोना विरुद्धकाे खोप लगाउने १ करोड ४० लाख नाघे, थप ८ सय ६७ जनामा संक्रमण पुष्टि



कोरोना विरुद्धकाे खोप लगाउने १ करोड ४० लाख नाघे, थप ८ सय ६७ जनामा संक्रमण पुष्टि

काठमाण्डाै १६ असाेज । नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ८३ हजार तीन सय ७३ मात्रा खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख ४२ हजार आठ सय ८८ जना पुगेको हो । उनीहरुमध्ये ६३ लाख ४८ हजार दुई सय ७९ जनाले पूर्ण मात्रा र ७६ लाख ९४ हजार ६ सय नौ जनाले एक मात्रा खोप लगाएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा आठ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार दुई सय १९ जनाको नमुना परीक्षण गर्दा आठ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९६ हजार ६ सय १८ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१ हजार नौ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थप एक हजार एक सय २३ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या सात लाख ६७ हजार आठ सय १९ जना पुगेको छ । थप नौ जना सहित कोरोना भाइरसको सङ्क्रमणको कारण अहिलेसम्म ११ हजार एक सय ५७ जनाले ज्यान गुमाएका छन् । अहिले १७ हजार ६ सय ४२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ५० जनाको आईसीयू र एक सय १२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे