राष्ट्रिय फुटबल टाेलीका पूर्वकप्तान विराजले च्यासल युथ क्लबकाे कप्तानी गर्ने



राष्ट्रिय फुटबल टाेलीका पूर्वकप्तान विराजले च्यासल युथ क्लबकाे कप्तानी गर्ने

काठमाण्डाै १२ असाेज । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।

च्यासलले आज मङ्गलवार पत्रकार सम्मेलन गर्दै टाेलीलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो । अघिल्लो सिजन मच्छिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो ।

अखिल नेपाल फुटबल सङ्घले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिग आउँदाे कात्तिक २९ बाट सुरु हुँदैछ । अनुभवी डिफेन्डर विराजले यसअघि न्युरोड टिम (एनआरटी), थ्री स्टार, सङ्कटा र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका छन् ।

यस्तै च्यासलले स्कटल्यान्डका ली मान्सनलाई आजैको पत्रकार सम्मेलनबाट प्राविधिक निर्देशक नियुक्त गरेको छ । पछिल्लो पटक लाओस एफसीको प्राविधिक निर्देशकका रूपमा काम लीलाई क्लबले शहीद स्मारक ए डिभिजन लिगका लागि नियुक्त गरेको हो ।

आजै च्यासल युथ क्लबलाई खेलकुद सामग्री उत्पादक कम्पनी युक्यानले प्रायोजन गर्न क्लबसँग सम्झौता गरेको छ । चिनियाँ ब्रान्ड युक्यानले आज च्यासललाई एक वर्षका लागि प्रायोजन गर्ने सम्झाैता गरेको हो ।

च्यासलका अध्यक्ष रमेश व्यञ्जनकार र युक्यानका निर्देशक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै युक्यानले च्यासललाई शहीद स्मारक ए डिभिजन लिगमा किट्स उपलब्ध गराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे